१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ३ आइतबार १o:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१७ विमानस्थलमा हुँदैन एउटै उडान  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १o:oo:oo

सरकारले धरानमा नयाँ विमानस्थल बनाउने तयारी गरिरहेको छ, तर निर्माण भइसकेका १७ विमानस्थलमा भने कुनै उडान हुँदैनन् । नियमित उडान हुन नसकेपछि कतिपय विमानस्थल गौचरनमा परिणत भइसकेका छन् । 

अहिले देशमा तीनवटा अन्तर्राष्ट्रियसहित ५४ विमानस्थल निर्माण भएका छन् । अर्घाखाँचीमा पनि अर्को विमानस्थल थपिँदै छ । तर, ३७ विमानस्थलमा मात्रै नियमित उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । नियमित सञ्चालनमा रहेका भनिएका दुर्गम भेगका कतिपय विमानस्थलमा सातामा एक–दुई मात्रै उडान हुने गरेका छन् । विनाअध्ययन निर्माण गरिएका विमानस्थलमा प्राविधिक जटिलता, सञ्चालन खर्च पनि नउठ्नु, जहाजको अभाव, मौसमलगायत विविध कारण उडान हुन सकेको छैन ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको जोडबल र पर्यटनमन्त्री सुदन किराँतीको निर्देशनमा क्यानले धरान विमानस्थल निर्माणका लागि अध्ययन समिति गठन गरेको छ । क्यानका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा गठित समितिलाई विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्यभार सुम्पिएको छ । जबकि, धरानबाट करिब ४० किलोमिटर दूरीमा विराटनगर विमानस्थल सञ्चालनमा छ ।

सञ्चालनमा नरहेका विमानस्थल
निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नरहेका विमानस्थलहरू डेढ दर्जन छन् । जसमध्ये सुदूरपश्चिम प्रदेशमा दार्चुला, महेन्द्रनगर (कञ्चनपुर) र टीकापुर एयरपोर्ट (कैलाली) सञ्चालनमा छैनन् । कर्णाली प्रदेशमा निर्माण गरिएका कालिकोट, मसिनेचौर एयरपोर्ट (डोल्पा), रुकुम चौरजहारी एयरपोर्ट (रुकुम पश्चिम) र टीकापुर एयरपोर्ट (कैलाली) पनि सञ्चालनमा नरहेको क्यानले जनाएको छ । लुम्बिनी प्रदेशमा रोल्पा एयरपोर्ट पनि सञ्चालनमा छैन । हालै सञ्चालनमा आएको गुल्मी एयरपोर्टमा सातामा दुई उडान गर्ने भनिए पनि नियमित उडान हुन सकेको छैन ।

गण्डकी प्रदेशमा बाग्लुङको ढोरपाटन र बलेवा एयरपोर्ट, मनाङ एयरपोर्ट, गोर्खा पालुङटार एयरपोर्ट अहिले सञ्चालनमा छैनन् । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानो एयरपोर्टमा अल्ट्रालाइट र हेलिकोप्टर उडान हुँदै आइरहेको छ । बागमती प्रदेशमा रहेका लाङटाङ एयरपोर्ट (रसुवा), मेघौली एयरपोर्ट (चितवन) र जिरी एयरपोर्ट (दोलखा) सञ्चालनमा छैनन् । एक समय मेघौली र जिरी एयरपोर्टमा पर्यटकलक्षित उडान हुँदै आएका थिए । कोशी प्रदेशमा स्याङबोचे एयरपोर्ट (सोलुखुम्बु), कागेलडाँडा एयरपोर्ट (सोलुखुम्बु), खिजी चण्डेश्वरी एयरपोर्ट (ओखलढुंगा) सञ्चालनमा छैनन् । कुनै समय सोलुखुम्बुको स्याङबोचे एयरपोर्टमा पनि उडान हुने गर्थ्यो । 

सञ्चालनमा रहेका विमानस्थल
अहिले काठमाडौं, भैरहवा र पोखरामा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । बाराको निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थालिएको छ ।  

सञ्चालनमा रहेका ३७ विमानस्थलमा सिमिकोट, बैतडी, बझाङ, बाजुरा, साँफेबगर, डोटी, धनगढी, रारा, जुम्ला, डोल्पा, सल्ले (रुकुम), सुर्खेत, नेपालगन्ज, दाङ, भैरहवा, रेसुंगा (गुल्मी), पोखरा, जोमसोम, भरतपुर (चितवन), सिमरा (बारा), काठमाडौं, जनकपुर, राजविराज, रामेछाप, लुक्ला, फाप्लु, रुम्झाटार (ओखलढुंगा), भोजपुर, खोटाङका थामखर्क, खानीडाँडा, लामीडाँडा, तुम्लिङटार (संखुवासभा), ताप्लेजुङ, फाल्गुनन्द (इलाम), विराटनगर र चन्द्रगढी (झापा) विमानस्थल सञ्चालनमा छन् ।

सञ्चालनमा रहेका भनिएका बैतडी, बझाङ, बाजुरा, साँफेबगर, डोटी, सल्ले, गुल्मी, धामखर्क, खानीडाँडा, लामीडाँडा, रुम्झाटार, फाल्गुनन्दलगायत विमानस्थलमा अहिले फाट्टफुट्ट मात्रै उडान हुँदै आइरहेका छन् । खासगरी, स्टल उडान गर्ने जहाजको कमी, पर्याप्त यात्रु नहुनु, प्राविधिक समस्या एवं खराब मौसमलगायत कारणले दुर्गम भेगका यी विमानस्थलमा वर्षभरि नियमित उडान हुन नसकेको वायुसेवा कम्पनीको भनाइ छ ।