Skip This
तीन प्रश्नसहित रास्वपा घरदैलोमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Saturday, 27 July, 2024
अनिल यादव काठमाडाैं
२o८o मङ्सिर ३ आइतबार o८:२७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तीन प्रश्नसहित रास्वपा घरदैलोमा

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार o८:२७:oo

चुनावका वेला मात्रै मतदाताको दैलोमा पुग्ने परिपाटीलाई चिर्न राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारबाट देशभर घरदैलो अभियान सुरु गरेको छ । संघीय चुनावको एक वर्ष र उपनिर्वाचनको ६ महिना पुगेको अवसरमा रास्वपाले ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’ नारासहित तीनदिने घरदैलो अभियान सुरु गरेको हो ।

रास्वपाका प्रवक्ता एवं महामन्त्री मुकुल ढकालका अनुसार निर्वाचितदेखि पराजित भएका निर्वाचन क्षेत्रमा समेत घरदैलो अभियान भइरहेको छ । प्रत्यक्ष निर्वाचित सांसद आफू निर्वाचित भएको निर्वाचन क्षेत्रमा पुगेका छन् भने समानुपातिक सांसद आफ्नो गृह निर्वाचन क्षेत्रमा पुगेका छन् । ‘देशैभर १६५ निर्वाचन क्षेत्रमै घरदैलो अभियान सुरु भएको छ,’ ढकालले भने, ‘जितेको मात्रै होइन, हामी हारेका निर्वाचन क्षेत्रमा पनि नेता–कार्यकर्ता मतदाताको घरदैलोमा पुगिरहेका छौँ । चुनावको वेला भोट माग्न मात्रै होइन, अरू पनि जनताको सल्लाह–सुझाव लिनुपर्छ भनेर हामीले यो तीन दिने अभियान राखेका हौं ।’

घरदैलोका लागि रास्वपाका सबै सांसदहरूले रिपोर्ट कार्ड नै बनाएका छन् । रिपोर्ट कार्डमा संसद्को दोस्रो अधिवेशनमा आफूले निर्वाह गरेको भूमिकाबारे उल्लेख गरिएको छ । मतदाताका लागि सांसदहरूले तयार पारेको रिपोर्ट कार्डमा सदनमा आफ्नो उपस्थित प्रतिशतदेखि भूगोलमा देखाएको उपस्थिति र क्रियाशीलता, आफूले सदनमा उठाएको मुख्य विषय, प्राप्त तलबसहितको सुविधालगायतका विषयहरू समेटेका छन् ।

रास्वपाका सांसद तथा नेताहरूले तीनमध्ये पहिलो प्रश्नमा मतदातालाई आफ्नो कमीकमजोरी र गल्ती स्पष्ट खुलाइदिन आग्रह गरेका छन् । दोस्रो प्रश्नमा बुँदागत रूपमा गर्नुपर्ने सुझाव मागिएको छ । तेस्रोमा प्राथमिकताका आधारमा आफ्नो क्षेत्रमा देखिएका तीन मुख्य समस्या उल्लेख गर्न आग्रह गरिएको छ । पछि संकलन गर्ने गरी मतदातालाई तीन प्रश्नसहितको फाराम बुझाइरहेको गृहजिल्ला झापा पुगेकी सांसद निशा डाँगीले जानकारी दिइन् । ‘हामी आफ्नो कुरा सुनाउन होइन, जनताको कुरा सुन्नलाई घरदैलो गरिरहेका छौँ,’ रास्वपाकी सचेतकसमेत रहेकी डाँगीले भनिन्, ‘मौखिकदेखि लिखित सबैखाले सुझाव हामी लिइरहेका छौँ । नयाँ र आशाका रूपमा हेरिएका दलका सांसदहरू पनि पुरानै पाराका रहेछन् भन्ने नलागोस् भनेर निर्वाचनका वेला हामीले गरेको प्रतिबद्धता पूरा गर्न यो घरदैलो अभियान गरिरहेका हौँ ।’

रास्वपाले मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनका वेला चुनावबाहेकको समयमा पनि जनताको घरदैलो गइरहने वाचा गरेको थियो । सोही वाचा पूरा गर्दै अहिले रास्वपा घरदैलो अभियानमा जुटेको हो । ‘एक वर्षको यथार्थ कार्य मूल्यांकनसहित मतदाताले हाम्रो कमीकमजोरी औँल्याउने र आगामी वर्षका लागि मार्गनिर्देशन गर्ने अभियानको लक्ष्य हो, सोहीअनुसार मतदाताको प्रतिक्रिया र सुझाव आइरहेको छ,’ डाँगीले भनिन् ।