१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २६ आइतबार
  • Sunday, 11 May, 2025
तिवारी यादव वीरगन्ज
२o८o कार्तिक २६ आइतबार o६:३१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसलाई वीरगन्ज गोल्डकपको उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २६ आइतबार o६:३१:oo

विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार आदर्शनगर रंगशालामा विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा २–० ले पराजित गर्दै पुलिस च्याम्पियन भएको हो । पुलिसको जितमा गोलकिपर शत्रुघन चौधरी नायक बने ।

उनले आर्मीका खेलाडीको दुई पेनाल्टी बचाएका थिए । प्रतिस्पर्धात्मक भिडन्तको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजा पेनाल्टी सुटआउटमा निस्किएको हो । आर्मीका चार खेलाडीको प्रहार कुनै पनि सदुपयोग भएन । पुलिसका कप्तान रामचन्द्र वाजी र बुद्ध लामाले गोल गर्दा उज्ज्वल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथूले बचाएका थिए । आर्मीका तर्फबाट कप्तान नवयुग श्रेष्ठ, विमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीले पेनाल्टी प्रहार गरेका थिए ।

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन 

नवयुगको प्रहार बाहिरियो भने विमलको प्रहार पोलमा लाग्यो । सन्तोष र जितेन्द्रको प्रहार पुलिस गोलकिपर शत्रुघनले रोकेका थिए । उपाधि विजेता पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ । यो राशि मधेश प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च हो । वीरगन्ज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटी क्लब वीरगन्जको आयोजनामा १८ कात्तिकबाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता थियो । उपाधि विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पुरस्कृत गरे । 

विधागततर्फ पुलिसको वर्चस्व 
उपाधि विजेता पुलिस क्लबका खेलाडीले विधागततर्फको उपाधिमा वर्चस्व कायम राखेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पुलिसका मिडफिल्डर प्रताप गुरुङ घोषित भए । उनले ५० हजार प्राप्त गरे । प्लेयर अफ दी म्याच र सर्वाेत्कृट गोलकिपर पुलिसकै गोलरक्षक शत्रुघन भए । उनले म्यान अफ दी म्याचको १० हजार र उत्कृष्ट गोलकिपरबापत २० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर उज्ज्वल राई, रक्षकमा आर्मीका विमल र उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिसका चेतन घिमिरे घोषित भएका छन् । दुवैले समान २० हजार प्राप्त गरे ।