मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
धादिङको ज्वालामुखी गाउँपालिका-५ कुमालटारीको बालादेवी माध्यामिक विद्यालयका विद्याथीहरू आफैँले बनाएको बगैँचा स्याहार्दै। तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका 
२०८० कार्तिक २० सोमबार १२:१९:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

पढ्दै-कमाउँदै, रमाउँदै विद्यार्थी

विद्यालयका लागि आम्दानीको श्रोत बन्दै फूलखेती 

Read Time : > 1 मिनेट
२०८० कार्तिक २० सोमबार १२:१९:००

धादिङको ज्वालामुखी गाउँपालिका– ५ कुमालटारीमा रहेको बालादेवी माध्यमिक विद्यालय वरपर फुलेको सयपत्री र मखमलीले ढकमक्क ढाकेको छ। विद्यालयका शिक्षक–विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत गरेको फूलखेती व्यावहारिक ज्ञानसँगै आम्दानीको स्राेत बनेको हो। 

अघिल्ला वर्षहरूमा बनमारा र कुरोले भरिने चौरहरू यतिवेला मगमग बास्ना आउने फूलहरूले ढाकिएका छन्। शिक्षक–विद्यार्थीहरू भन्छन्, ‘फुलखेती हाम्रो आम्दानीको स्राेत मात्रै होइन, व्यावहारिक ज्ञान प्राप्तिको अवसर पनि हो।’

विद्यालयआसपासका जमिनमा फूलखेती गर्दा व्यावहारिक ज्ञान पाएको कक्षा नौकी छात्रा कृतिका भुजल बताउँछिन्। विद्यालयमा सिकेको सीप व्यवहारमा ल्याउन सके घरपरिवारमा पनि आम्दानीको स्राेत बन्न सक्छ। उनले भनिन्, ‘हाम्रो देश त कृषिप्रधान देश हो। किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक ज्ञान पाए कृषिमा आधारित जीविका चलाउने हामीजस्तालाई राहत पुग्ने रहेछ।’ 

विद्यालयआसपासमा फुलेको फूलले बजार पाए अझै कृषिजन्य उत्पादन गर्न हौसला मिल्ने विद्यालयमा अध्ययनरत छात्र सुजन कुमालले बताए। 

‘सिरुघारीमा हिँड्न र खेल्न अप्ठ्यारो हुने ठाउँ अहिले फूलले ढकमक्क ढाकिएको छ। विद्यालय आउँदा पनि छुट्टै रमाइलो र आनन्द लाग्छ। फुर्सदको समय मिलाएर फूलखेतीको स्याहारसुसार गरिरहेका छौँ। यो व्यावहारिक ज्ञान जीवन्त हुने हुँदा हामीलाई प्रत्यक्ष फाइदा पुगेको छ। किताबी ज्ञानमा रट्नुभन्दा व्यावहारिक ज्ञानमा खट्दा धेरै र सजिलै सिकिने रहेछ,’ उनले भने। 

यो वर्षदेखि स्थानीय तहको सहयोगमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत फूलखेती गरिएको विद्यालयका प्रधानाध्यापक शिवलाल श्रेष्ठले बताए। तिहारलाई लक्षित गरी फूलखेती गरिएको हो। 

उनले भने, ‘१५ हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमली फूल रोपेका छौँ। यसले विद्यालयलाई आम्दानीसँगै विद्यार्थीलाई व्यावहारिक शिक्षा पनि प्रदान गरेको छ। विद्यालय सुधार योजना बनाउँदा नै फूलखेती र तरकारीखेती गर्ने कुरा समावेश गरेका थियौँ। त्यसैअनुसार वडा कार्यालयले दुई लाख रुपैयाँ बजेट पनि छुट्याइदिएको छ। त्यसले अझ हौसला बढायो। फूलखेतीले यो वर्ष तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौँ।’

कक्षा आठदेखि दश कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरू पढ्दै कमाउँदै कार्यक्रममा सहभागी हुने गरेका छन्। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक शिक्षा लिएर आफ्नो घरगाउँमा पनि सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीकै सहभागितामा फूलखेती गरिएको श्रेष्ठको भनाइ छ।
 
बालादेवी माध्यमिक विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी रहेको ज्वालामुखी गाउँपालिका– ५ का वडा अध्यक्ष टंकप्रसाद काप्री बताउँछन्। 

‘यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमका लागि दुई लाख बजेट छुट्याएका छौँ। बजेटभन्दा पनि विद्यालयले व्यावहारिक शिक्षामा दिएको जोड प्रशंसायोग्य छ,’ उनले भने, ‘विद्यार्थीले विद्यालयमा लिएको किताबी ज्ञान र व्यावहारिक सीपलाई गाउँघरमा लागू गर्न सके आत्मनिर्भर बन्न सहयोग मिल्ने देखिन्छ। त्यसैले पनि अन्य विद्यालयमा यस्तै कार्यक्रम लागू गर्ने सोचमा छौँ।’ 
बाँझिँदै गरेको जमिनलाई आम्दानीसँग जोड्न र शिक्षित युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न यस कार्यक्रमले सहयोग मिल्ने अध्यक्ष काप्रीले बताए। देशमा शिक्षित, तर बेरोजगार युवा धेरै नै छन्।

‘यस कार्यक्रमले विद्यार्थीमा देखिएको सिर्जनशील र सिकेको सीप अनि ज्ञान व्यवहारमा ल्याउने प्रयासले आयआर्जनमा लाग्न अरूलाई समेत उत्प्रेरित गरेको छ। त्यसैले पनि अन्य विद्यालयमा पनि यो कार्यक्रम लैजान आवश्यक ठानेका छौँ,’ उनले भने।