
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दबाबमा रहेको अर्थतन्त्रबाट मुक्त गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन्। उनले बृहत् समीक्षात्मक कार्यक्रम गरेर विशेष कार्ययोजना लिएर आउने तयारीमा रहेको पनि बताए।
बिहीबार बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को कार्यक्रममा सम्बोधन गर्दै अर्थतन्त्रको दबाबबाट मुक्त हुन सम्पूर्ण तागतका साथ लागेको बताए।
‘अर्थतन्त्रमा देखा परेको दबाबको समाधान गर्नका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा हामीले बृहत् समीक्षात्मक कार्यक्रममार्फत आउँदो दिनमा अर्थतन्त्र तथा उद्योग व्यवसायमा परेको दबाब कम गर्न विशेष कार्ययोजना लिएर आउँदै छौँ,’ उनले भने।
पछिल्ला दिनमा रेमिटेन्ससँगै विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटनको संख्यामा वृद्धि भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राजस्व संकलनमा वृद्धिको ‘ट्रेन्ड’ देखिएको बताए। घरजग्गाको कारोबार विस्तारै फस्टाउँदै गएको पनि उनको भनाइ थियो। सरकारको लगातारको प्रयत्नले बैंकको ब्याजदर पनि घट्दै गएको भन्दै उनले एक अंकमा ल्याउने, नभए १० भन्दा बढ्न नदिने कोसिसमा रहेको प्रस्ट्याए।
राजनीतिक चुनौती र समस्याको समाधान गर्नका लागि संघीय लोकतान्त्रिक गणतन्त्र, विस्तृत शान्ति सम्झौता र संविधानसभाका पक्षधर प्रमुख नेताहरूलाई एकैठाउँमा राखेर संविधान, गणतन्त्र र लोकतन्त्रमाथि प्रश्न उठाउने हक कसैलाई नभएको प्रस्ट पार्न एक–दुई दिनभित्रै एकै ठाउँबाट अपिल गर्ने तयारी भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।