१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक १६ बिहीबार o८:४८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पाकिस्तानले लाखौँ अफगान आप्रवासीलाई देशनिकाला गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार o८:४८:oo

पाकिस्तानले अक्टोबरको प्रारम्भमा एक महिनाभित्र सबै ‘अवैध’ आप्रवासीलाई देश छाड्ने चेतावनी दिएको थियो ।पाकिस्तानका अन्तरिम(चुनावी सरकारका) गृहमन्त्री सरफराज बुग्तीले अवैध आप्रवासीका कारण देशमा असुरक्षा बढेकाले सरकार यस्तो कदम चाल्न बाध्य भएको बताएका थिए ।

यस चेतावनीमा तोकिएको सयमसीमा अक्टोबर ३१ मा सकिएको छ । सो दिनसम्म दसौँ हजार अफगानी देश फर्किएका पाकिस्तानी मिडियाले बताएका छन् । मिडियाका अनुसार सरकारले चेतावनी दिएपछिको झन्डै एक महिनामा (अक्टोबर ३१ सम्म) करिब एक लाख अफगान खैबर पख्तुनख्वा राज्यको तारखाम नाका र बलोचिस्तानस्थित चमन नाकाबाट देश फर्किसकेका छन् । 

एक महिनामा देश छाड्ने सरकारी चेतावनी मुख्यतः अफगान शरणार्थीप्रति लक्ष्यित भएकाले देश छाड्ने पनि अफगानी भएको विश्लेषण गरिँदै छ । तथापि मन्त्री बुग्तीले आप्रवासीप्रतिको कडाइ अफगानीहरूप्रति मात्र लक्ष्यित भएको आरोपलाई खण्ड गरे । 

पाकिस्तानमा ठूलो संख्यामा अफगान आप्रवासी बसोवास गर्छन् । पाकिस्तानमा अफगान आप्रवासी र शरणार्थीको कुल संख्या ४० लाख रहेको र तीमध्ये १७ लाख अप्रमाणित रहेको गृह मन्त्रालयले बताएको छ । 

बिहीबारदेखि देशभित्र कागजातविना भेटिने आप्रवासीलाई पक्राउ र निष्कासन सुरु गर्ने पाकिस्तानी गृहमन्त्रीले बताए । मन्त्री बुग्तीले मंगलबार एक भिडियो विज्ञप्ति जारी गर्दै ‘स्वेच्छिक फिर्ताका लागि दुई दिन बाँकी रहेको’ जानकारी दिएका थिए । यो अभियान ‘लामो र निरन्तर चल्नेछ’ बुग्तीले जानकारी दिए । ‘हामीले शरणार्थीलाई देशनिकाला गर्न लागेको होइन ।

गैरकानुनी रूपमा पाकिस्तान बसिरहेकाहरूलाई मात्र निकालिनेछ,’ गृहमन्त्री बुग्तीले भने । देशमा बढिरहेको आतंकवादी आक्रमण, तस्करी र अन्य अपराधमा आप्रवासीको हात देखिएकाले कठोर कदम चाल्न बाध्य भएको सरकारले स्पष्टीकरण दिएको छ । गैरकानुनी गतिविधिमा मुख्यतः अफगानी नागरिकको संलग्नता पाइएको अधिकारीहरू बताउँछन् ।

‘यो वर्ष जनवरीयता २४ आत्मघाती बम आक्रमण भए र तीमध्ये १४ वटा अफगान नागरिकले गराएका थिए,’ अक्टोबर ३ मा अवैध आप्रवासीलाई निकाल्ने योजना घोषणा गर्दा मन्त्री बुग्तीले बताएका थिए । आत्मघाती विस्फोटलगायत सानातिना आक्रमण गरेर यो वर्ष पाकिस्तानमा ३०० आक्रमणका घटना भइसकेका छन् । ती घटना मुख्यतः अफगानिस्तानसँग सिमाना जोडिएका उत्तरपश्चिम राज्य खैबर पख्तुनख्वा र दक्षिणपश्चिम राज्य बलोचिस्तानमा घटेको पाइएको छ ।