
आउँदै गरेको भाइटीकालाई लक्षित गर्दै पोखरामा साताैँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्पमेला हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) जिल्ला समिति कास्कीको आयोजना, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, पोखरा महानगरपालिकालगायतको सहयोगमा १७ देखि २० कात्तिकसम्म पुष्प प्रदर्शनी तथा मेला हुने भएको हो ।
पोखरा रंगशालाको २ नम्बर गेटभित्र हुने चारदिने प्रदर्शनी एवं मेलामा व्यावसायिक २०, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २४ वटा स्टलहरू रहने आयोजक फ्यान कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए । स्टलहरूमा गोदावरी फूलका विभिन्न प्रजातिसँगै तिहारेफूल (सयपत्री) मुख्य आकर्षणका रूपमा रहनेछन् ।
परम्परागत फूलका अलावा अन्य मौसमी फूलहरू, मेरी गोल्ड, पेन्जी, भर्विना, डालिया, स्नोड्रागनलगायत कटफ्लावर, सुनगाभा, परम्परागत बिरुवा, सिजनल फूल, विभिन्न वनस्पति, बोन्साईलगायत विभिन्न तीन सय प्रजातिका फूलका बिरुवाहरू प्रदर्शनी एवं बिक्रीका लागि राखिनेछ । प्रवेश निःशुल्क रहेको प्रदर्शनी एवं मेलाको २० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।
वार्षिक चार करोडको फूलको कारोबार
पोखरामा वार्षिक रूपमा चार करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको छ । कारोबार हुने करिब ४० प्रतिशतभन्दा बढी फूल पोखरामा बाहिरबाट आउने गरेको छ । पोखरामा हाल पुष्प व्यवसायका लागि खोलिएका करिब तीन दर्जन नर्सरीहरू भए पनि फूलको खेती गर्ने किसानहरू कम भएका र पुष्प व्यवसायका लागि जनचेतना अभावका कारण वार्षिक रूपमा करोडौँ रुपैयाँ बाहिरिने गरेको व्यवसायीको भनाइ छ ।
पोखरामा भारत, जापान, सिंगापुर, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, अस्ट्रेलिया, भारत, बेलायतलगायतका मुलुकबाट फूलको बिउ तथा केही मात्रामा बिरुवा आउने गरेको छ । एउटै फूलको १५ रुपैयाँदेखि ढेड लाख रुपैयाँसम्म पर्नेछ । पोखरामा विशेष गरी गोदावरीसँगै मौसमी फूलको बढी कारोबार हुने गरेको छ । प्रायः गोदावरी सबै बाहिरबाट ल्याउने गरिएको छ । पोखरा पर्यटकीय राजधानी भएका कारण यहाँका अधिकांश पुष्प व्यवसायीहरू होटेलहरूमा निर्भर छन् । बिक्रीको ५० प्रतिशतको हाराहारीमा यहाँका होटेलहरूमा फूल खपत हुने गरेको छ भने अन्य कार्यालय प्रयोजन र व्यक्तिहरूले आफ्नो घर सजावटका लागि लाने गरेका छन् ।