१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
हेलम्बुमा निर्माणाधिन चिरी गुम्बा
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १२:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकका सात पौराणिक गुम्बाको पुनर्निर्माण सुस्त

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

०७२ सालको महाभूकम्पले पूर्ण रूपमा भत्किएको सिन्धुपाल्चोकका सात पौराणिक गुम्बाको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ।

भारत सरकारको सहयोगमा पाँच गुम्बा निर्माणाधीन अवस्थामा छन् भने दुई गुम्बाको काम प्राकृतिक प्रकोपले सिर्जित समस्याका कारण हालसम्म सुरु नै हुन सकेका छैनन्।

हेलम्बु गाउँपालिकामा निर्माणाधीन चार पौराणिक गुम्बामध्ये चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ गुम्बाको काम ५० प्रतिशत सम्पन्न भएको छ। चिरी गुम्बा निर्माण समितिका सहसचिव छिरिङ लामाका अनुसार गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङका काम बाँकी छन्।

गुम्बा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेको थियो। गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको थियो। तर, नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र  तार्के घ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भएको छ।

हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा पाँच सय वर्षसम्मका पुराना हुन्। यी गुम्बा पुरातत्व विभागले दिएको डिजाइनमा बनिरहेका छन्। निर्माणमा एक नम्बर अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग गरिएको छ।

हेलम्बु– १ मा रहेको ऐतिहासिक मेलम्ची घ्याङ गुम्बाको काम भने सुरु नै भएको छैन। ठेक्काको सूचना जारी भएको केही समयपछि १ असार २०७८ मा मेलम्ची खोलामा बाढी आयो। नाकोतेबाट मेलम्ची-घ्याङ जाने मोटरेबल पुल बगायो। त्यसयता गाउँमा सवारीसाधन पुगेको छैन।

‘निर्माण सामग्री लान नपाएकाले काम सुरु भएको छैन,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने। अरू तीनवटा गुम्बाको काम ढिला भए पनि निरन्तर भइरहेको उनले बताए। मेलम्ची खोलाको बाढीले बाटोघाटो बगाउँदा सबै गुम्बालाई असर गरेको उनले प्रस्ट्याए। मेलम्ची- घ्याङ गुम्बा पुनर्निर्माणका लागि नौ करोड रकमको सम्झौता भएको छ।

त्यसैगरी, भोटेकोसी गाउँपालिका वडा नं. १ लिस्तीमा रहेको ६ सय वर्ष पुरानो पाउ गुम्बा पुनर्निर्माणको काम पनि सुरु भएको छैन। यो गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले १९ करोड दिएको छ। गुम्बा पुनर्निर्माणको ठेक्का खुल्न बाँकी रहेको गुम्बाका प्रतिनिधि दोर्जे लामाले जानकारी दिए।

यता ६ करोडमा निर्माणाधीन इन्द्रावती गाउँपालिकास्थित नवलपुर घ्याङ गुम्बा र पाँच करोड ५० लाखमा मेलम्ची नगरपालिकामा निर्मित सुलिकोट घ्याङ गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भारत सरकारको सहयोगमा पुनर्निर्माण भइरहेका सातवटै गुम्बाको पहलकदमी लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गरेका हुन्।