अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ। सो भेटले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित भ्रमणपूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित गरेको टिप्पणी भएको छ।
विश्वका दुई महाशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकांक्षाबीच यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीन दुबैले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढंगले व्यवस्थापन गर्न र सञ्चारको ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिएका छन्। उनले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट दुई देशबीचको उच्चस्तरीय सम्पर्कको शृंखलामा सबैभन्दा पछिल्लो खुट्किलो हो। पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ।
राष्ट्रपति बाइडेन र मन्त्री वाङबीच ह्वाइट हाउसको रुजबेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए। प्रवक्ता जोन किर्बीले बताएअनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन्।
यद्यपि, बेइजिङले अर्को महिना हुने वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजानेबारे भने स्पष्ट पारेको छैनन्।
यसअघि चीनका राष्ट्रपति सी जिनपिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वासिंटनसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए। उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पुर्याउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताएका सिन्ह्वाले जनाएको छ।
राष्ट्रपति सीले चीन ‘पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित–जित सहयोग’को तीन सिद्धान्तहरूमा आधारित रहेर अमेरिकासँग काम गर्न इच्छुक रहेको बताएका छन्। उनले भने, ‘पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगका तीन सिद्धान्तहरूमा आधारित पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउन, भिन्नतालाई सही ढंगले व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न संयुक्त प्रयास गर्न चीन अमेरिकी पक्षसँग मिलेर काम गर्न इच्छुक छ।’
अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक गाला डिनरमा दिइएको बधाई सन्देशमा राष्ट्रपति सीले दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका लागि समितिको लामो समयदेखिको समर्पणको प्रशंसा गरेकाे पनि सिन्ह्वाले उल्लेख गरेको छ।
दुई देशबीचको तनाव उच्च रहेको अवस्थामा मन्त्री वाङ वासिंटन पुगेका हुन्। यस भ्रमणका क्रममा उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण तथा पूर्वी र दक्षिण चीन समुन्द्रमा चीनको थप दृढतापूर्ण कारबाहीलगायतका विषयमा पनि कुराकानी केन्द्रित भएको बताइएको छ।