१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक १० शुक्रबार १६:१५:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारणलाइनको तार तान्ने काम धमाधम, ठाउँठाउँमा अवरोध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक १० शुक्रबार १६:१५:००

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारणलाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ । 

प्रसारणलाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हेटौँडा–ढल्केबर खण्डतर्फ चार किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ । 

तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रित गरिएको छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारणलाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये सात सय ५७ वटा टावरको जग हालिएको छ । 

सात सय ५० वटा टावर खडा गरिएको छ । स्थानीयले प्रसारणलाइनको रुट सार्न माग गर्दै जारी राखेको अवरोधका कारण बाँकी ३५ वटा टावरको काम नै सुरु हुन सकेको छैन । 

प्रसारणलाइनको मार्गधिकारमा पर्ने स्थानीयले ठाउँठाउँमा अवरोध गर्दा तार तान्ने कामसमेत प्रभावित छ । ढल्केबर–इनरुवा खण्डमा अहिले तार तान्ने काम भइरहेको छ । यसका लागि पाँचवटा टोली परिचालन गरिएको छ । उक्त काम आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

यस वर्षको हिउँदका केही महिना मोरङ–सुनसरी औद्योगिक करिडोरलगायत समग्र पूर्वको विद्युत् माग धान्नका लागि भारतबाट थप विद्युत् आयात र वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारणलाइन जतिसक्दो छिट्टो सम्पन्न गर्नुपर्ने दबाबमा नेपाल विद्युत्र प्राधिकरण रहेको छ । 

कुलमानले गरे अनुगमन


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले बिहीबार सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा भइरहेको तार तान्ने कामको अनुगमन गरेको छ । 

टोलीमा अवरोधका कारण प्रसारणलाइन निर्माण गर्न नसकिएमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा आउन सक्ने सम्भावित विद्युत् आपूर्तिको समस्या अवगत गराउन र भइरहेका कामबारे जानकारी दिन उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत सहभागी गराइएको थियो । 

कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारणलाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउन सक्ने बताए ।

‘प्रसारणलाइन निर्माणमा ठाउँठाउँमा अवरोध छ, अहिले पाँच टोलीले तार तान्ने काम गरिरहेका छन्, थप टोली थपेर कामलाई तीव्रता दिन स्थानीयको अवरोधले समस्या छ, खुलाउनका लागि भइरहेका प्रयास असफल बनिरहेका छन्,’ घिसिङले भने, ‘४०० केभी लाइन अति नै जरुरी छ, ४००–२२० केभी क्षमताका तीनवटै सबस्टेसन तयार छन्, यो लाइन बनाउन सकेनौँ भने पूर्व क्षेत्रको विद्युत् माग धान्न थप आपूर्ति कठिन छ भने देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गर्न सक्दैनौँ । जसले गर्दा विद्युत् खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ ।’ 

उनले यस्तो अवस्था आउन नदिन स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, स्थानीय बासिन्दासहित सबैको सहयोग आवश्यक रहेको बताए । 

ठाउँठाउँमा अवरोध
हेटौँडा उपमहानगरपालिकाका वडाहरू १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटौँडा–११ स्थित थानाभर्‍याङमा दुईवटा र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ । 

थानाभर्‍याङमास सबस्टेसनमा लाइन छिराउन दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् । 

स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । प्रसारणलाइन मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर र सुनसरी गरी १० जिल्लामा पर्दछ । 

प्रसारणलाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले निर्माण प्रभावित भइरहेको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने ०६९ को माघमा ठेक्का सम्झौता भएको थियो । 

हेटौँडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारणलाइन विद्यमान १३२ केभी प्रसारणलाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारणलाइनको मार्गधिकार क्षेत्र प्रसारणलाइनको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २३–२३ मिटर हुनेछ । आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरू काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ । मार्गधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचनाहरू प्रभावित हुनेछन् । 

१७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो । विश्व बैंकको ऋण बन्द भएपछि बाँकी काम नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।