१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
photo : wikipedia.org
२o८१ जेठ ३ बिहीबार १३:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ढोरपाटन सिकार आरक्षमा चुनौती बन्दै जग्गा अतिक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:४३:oo

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा ०७३ साल अघिसम्म चोरी सिकारी प्रमुख चुनौतीका रूपमा थियो । तत्कालीन अवस्थामा आरक्षमा योजनाबद्ध रूपमै चोरी सिकारी हुन्थ्यो । 

०७३ मा आरक्षको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएपछि चोरी सिकारी नियन्त्रणमा आयो । तर, आरक्षले वर्षौँदेखि अतिक्रमित जग्गा भने फिर्ता ल्याउन सकेको छैन । 

नेपाली सेना नहुँदा आरक्षअघिबाटै हुने चोरी सिकारी नियन्त्रणमा आए पनि वर्षौँदेखि भइरहेको जग्गा अतिक्रमण भने नरोकिएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङको भनाइ छ ।

जग्गा अतिक्रमण रोकिए पनि अतिक्रमित जग्गामा फिर्ता ल्याउन भने सकिएको छैन । बरु अतिक्रमित जग्गामा घर तथा टहरा बनाउने क्रम अहिले पनि जारी छ । 

ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षको एक सय ८५ हेक्टर जमिन अतिक्रमण भएको छ । उक्त जग्गामा हाल तीन सय ११ घरधुरी बसोवास गरिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलको भनाइ छ । 

‘आरक्षको क्षेत्रभित्र पर्ने जग्गामा खेतीपाती गर्ने, बसोवास गर्ने र तारबारको काम भइरहेको छ, थप जग्गा अतिक्रमण भएको भने होइन, यो जग्गा आरक्ष स्थापना गर्नुभन्दा पहिलादेखि नै स्थानीयहरू बसोवास गर्दै आएका थिए,’ कँडेलले भने, ‘अहिलेको चुनौती भनेको अतिक्रमण जग्गाभित्र वन तथा खर्क क्षेत्र, बसोवास र खेतीपातीका लागि प्रयोग भइरहेको जग्गा खाली गरेर आरक्षको भित्र ल्याउनु हो, यस कार्यक्रममा सरकार र सबै सरोकारवाला निकायहरूको ध्यान जान जरुरी छ ।’ 

त्यहाँ बसोवास गरिरहेका परिवारलाई स्थानान्तरण गराउन सरकारले नै पहल गर्न अवाश्यक भएको भन्दै उनले कानुनको अभावका कारण जग्गा खाली बनाउन नसकेको बताए । 

कार्यालयले वेलावेलामा स्थानीयलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ । बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्ला गरी कुल एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सिकार आरक्षमा अतिक्रमण जग्गा भोगचलनको दर भने बढ्दै गएको हो । 

सरकारले ०३९ सालमा ढोरपाटन सिकार आरक्षको स्थापना गरेको थियो । त्यसअघि नै उक्त क्षेत्रमा बसोवास गर्दै आएकाहरूको व्यवस्थापन नगरी जग्गा ओगट्न नहुने स्थानीयको माग छ ।

बागलुङको अधिकारीचौर, बोबाङ, निसी र बोंगादोभान, रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा, कोल र काक्री तथा म्याग्दीको लुलाङखोरिया र गुर्जाखानीलगायतका ३४ स्थानमा अतिक्रमण भएको सरकारी तथ्यांकमा उल्लेख छ । केही घर आरक्ष स्थापना हुनुभन्दा अगावै रहेका कारण सरकारले लालपुर्जा दिलाउनुपर्ने या बस्ती स्थानान्तरण गर्नुपर्ने माग हुँदै आएको छ ।

तत्कालीन समयमा आरक्ष कार्यालय विस्थापित भई जिल्ला सदरमुकाम बागलुङ बजारमा सरेपछि स्थानीयले आरक्षको जग्गामा तारबार गरी खेती लगाउन सुरु गरेका थिए । 

बागलुङ, पूर्वी रुकुम तथा म्याग्दी गरी तीन जिल्ला समेटिएको आरक्षभित्रका सात ब्लकमध्ये आरक्ष कार्यालय ढोरपाटन, देउराली तथा निसेलढोरमा र गुर्जाघाटमा मात्रै सुरक्षा तैनाथ गरिएको छ । क्रमशः सबै ब्लकमा सुरक्षा पोस्ट पुर्‍याउने गरी गुल्मलाई गणको रूपमा लैजाने आरक्षको योजना छ । 

सिकार आरक्ष कार्यालय रहेको ढोरपाटन क्षेत्रमा आरक्ष स्थापना हुनुअगावैदेखि स्थानीय बसोवास गर्दै आएकाले सरकारले नै उनीहरूलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने ढोरपाटन नगरपालिका– ९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । 

‘केही स्थानीयले आरक्षपछि जग्गा भोगचलन गर्दै आएका होलान्, तर केही स्थानीयहरूले आरक्ष स्थापना हुनु अगावैदेखि भोगचलन भइरहेकाले भूमि आयोगमार्फत यसलाई टुंग्याउन आवश्यक छ,’ अध्यक्ष घर्तीमगरले भने, ‘स्थानीयले भोगचलन गर्दै आएको जग्गा आरक्षले फिर्ता गर्न त्यहाँका स्थानीयलाई अर्को व्यवस्था मिलाउन आवश्यक छ ।’

लालपुर्जा नभए पनि उनीहरूले वर्षाैँदेखि भोगचलन गर्दै आएको जग्गाबाट हटाउनका लागि आयोगमार्फत अन्यत्र जग्गा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ । (रासस)

ad
ad