
पाल्पाको रानीमहल दरबारनजिकै भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले मृत्यु भएका ६ जनामध्ये पाँचजना एउटै परिवारको रहेको जानकारी दिए ।
मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली नगरपालिका– १६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, अन्दाजी ६० वर्षीया पार्वती लोहनी, ३५ वर्षीया सविना धिताल, ११ वर्षीय सविन लोहनी र साढे दुई वर्षका इसव लोहनी छन् ।
यस्तै, लमजुङ बेँसीसहर नगरपालिका– २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ । सवारीचालक रजहरका ३६ वर्षीय ईश्वरबहादुर लोहनीको अवस्था गम्भीर छ ।
मृत्यु भएकाहरू चालक ईश्वरको परिवारका सदस्य हुन् । उनका बाबु, आमा, श्रीमती र दुई छोराको ज्यान गएको प्रहरी निरीक्षक चन्दले बताए ।
बागमती प्रदेशको ०१–२६च– ७२०९ नम्बरको कार पाल्पाको तानसेन नगरपालिका– १३ वैकुण्ठेभिरस्थित तानसेन रानीमहल पक्की सडकखण्डमा पर्ने रानीमहलबाट तानसेनतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।
कार सडकबाट करिब सय मिटर तल बराङ्दी खोलामा खसेको थियो । खोलामा खसेको कार क्षतविक्षत भएको छ । गम्भीर घाइते ईश्वरको पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।