१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
Invalid date format १२:५७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हलगोरु पाल्ने किसानलाई पोषण अनुदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप पोषण अनुदान वितरण गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो।

पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रु. चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए। उनका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई रु. १४ लाख ६८ हजार रकम वितरण गरिएको छ।

वडा नम्बर १ का एक सय चारलाई रु. चार लाख १६ हजार, वडा नम्बर २ का २९ लाई रु. एक लाख १६ हजार, ३ का नौजनालाई रु. ३६ हजार, ४ का ४२ लाई रु. एक लाख ६८ हजार, ५ का ५३ जनालाई रु. दुई लाख १२ हजार, ६ नम्बर वडाका ७१ लाई रु. दुई लाख ८४ हजार र ७ नम्बरका ५९ लाई रु. दुई लाख ३६ हजार वितरण गरिएको शाहले जानकारी दिए। ‘वडाबाट प्राप्त विवरणको आधारमा वडागत रूपमा लाभान्वित हुने कृषकका लागि दसैँमा रकम प्रदान गर्ने योजनाबमोजिम उक्त रकम वितरण गरिएको हो,’ उनले भने। 

उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको शाहको भनाइ थियो। गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत रु. १० लाख वितरण गरेको थियो। त्यतिवेला हलगोरु पाल्ने किसानको संख्या दुई सय ५० थियो। उनका अनुसार यो आवमा एक सय १७ किसान बढेका छन्।

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको उनको भनाइ थियो। 

‘गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘प्रोत्साहन रकमले गोरु पाल्ने किसान अझै बढ्ने विश्वास गरेका छौँ। गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन।’

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई आग्रह गरे।