१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३ शुक्रबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
२o८o कार्तिक ३ शुक्रबार ११:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक ३ शुक्रबार ११:५८:oo

हिन्दू धर्मावलम्बीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको वेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगन्जमा अलपत्र परेका छन्। 

यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगन्ज विमानस्थलमा अलपत्र परेका हुन्।

नेपालगन्जमा भेटिएका हुम्लाका धनञ्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए। भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दसैँ मनाउन गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटेलमा बस्न बाध्य भएको बताए।  

‘टिकट पाइन्छ कि भनेर दैनिक रूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,’ जेठाराले भने, ‘बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन।’

स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाईमार्गबाट यात्रा गर्दछन्। हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्। 

सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन्। नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ। 

निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए। उनका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन्। 

निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए। 

यसअघि सातामा तीन दिन मात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ। 

एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका स्टेसन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ। ‘यसअघि हप्तामा तीन दिन मात्र उडान हुँदै आएको थियो,’ उनले भने, ‘अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ।’

यात्रुलाई सहज रूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो।

बाजुरा कोल्टीकी संगीत विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए। 

निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो। ‘एउटा उडानमा १७ सिट हुन्छ,’ उनले भने, ‘यहाँ सातवटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ। बाँकी टिकट पहुँचवालाले पाउँछन्।’