१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:१७:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोशीले बढायो शेखर–गगनबीच तिक्तता 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१७:oo

बागमतीमा पनि गठबन्धन भत्काउने प्रयास भएको थापाको खुलासा, ०८४ मा गठबन्धन गरे कांग्रेस विभाजन हुने भविष्यवाणी

सभापतिसँग हात जोडेर भनेको छु– सबै निर्णय एक्लै गर्ने, अँध्यारोमा गर्ने अनि फोहोर सफा गर्ने वेलामा नबोलाउनुहोला । आफूले गरेको फोहोर आफैँ सफा गर्नुहोला । वरिष्ठ नेताजी (शेखर कोइराला)सँग पनि भेटघाट नभएको एक महिनाजति भयो । पत्रपत्रिकामा पढिरहेको छु, भेटघाट भएको वेला जे भन्नुपर्ने भनौँला । बागमती प्रदेशका केही का‌ंग्रेस सांसदले मलाई भेट्न आएर माओवादीलाई मुख्यमन्त्री मान्न सकिन्न, सरकार फेरौँ भन्नुभएको छ । म यो काम गर्दिनँ, सभापति र शेखर कोइरालालाई भेट्नुस् भनेको छु - गगन थापा, महामन्त्री, कांग्रेस

एमालेसँग मिलेर कोशीमा डा. शेखर कोइरालाले आफ्नो समूहका नेतालाई मुख्यमन्त्री बनाएपछि कांग्रेसको इतरसमूहभित्र व्यापक अन्तरविरोध पैदा भएको छ । पार्टी बैठक हुँदै सार्वजनिक मञ्चमा डा. कोइराला र महामन्त्री गगन थापाबीच विवाद देखिन थालेको छ । कोशीमा नाटकीय रूपमा भएका घटनाक्रममा इतरसमूहको नेतृत्व गरिरहेका डा. कोइरालाले आफूहरूसँग कुनै सल्लाह नगरेको महामन्त्री थापाको गुनासो छ ।

कोशीमा बुधबार मुख्यमन्त्री कार्कीले कांग्रेस, एमाले र माओवादीको समर्थनमा विश्वासको मत लिएपछि बिहीबार एक सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले कोइरालासँगको तित्ततापूर्ण सम्बन्धबारे मुख खोलेका हुन् । उनले कोशी प्रकरणबाट उत्पन्न परिस्थितिको जिम्मेवार आफू नहुने भन्दै भविष्यमा डा. कोइरालासँग अन्तरविरोध र दूरी बढ्न सक्ने जनाउ दिए । कोशीमा डा. कोइरालाको भूमिका र उत्पन्न परिस्थितिमा आफू सहमत नभएको महामन्त्री थापाको भनाइ छ । 

प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा महामन्त्री थापाले महिनौँदेखि डा. कोइरालासँग भेट नभएको र कोशी प्रकरणमा दुई नेताबीच कुनै संवाद नभएकोसमेत सार्वजनिक गरे । यति मात्र नभई महामन्त्री थापाले बागमती प्रदेशमा पनि सरकार परिवर्तनका लागि केही सांसदबाट आफूलाई प्रस्ताव आएको र गठबन्धन भत्काउने अभ्यास भइरहेको बताए । थापाले सभापति शेरबहादुर देउवासँगै नेता डा. कोइरालाको आलोचना गरेका थिए । 

‘सभापतिसँग मैले हात जोडेर भनेको छु– सबै निर्णय एक्लै गर्ने, अँध्यारोमा गर्ने अनि फोहोर सफा गर्ने वेलामा नबोलाउनुहोला । आफूले गरेको फोहोर आफैँ सफा गर्नुहोला । वरिष्ठ नेताजी (शेखर कोइराला)सँग पनि भेटघाट नभएको एक महिना जति भयो । पत्रपत्रिकामा पढिरहेको छु, भेटघाट भएको वेला जे भन्नुपर्ने भनौँला,’ महामन्त्री थापाले भने, ‘बागमती प्रदेशका केही का‌ंग्रेस सांसद मलाई भेट्न आएर माओवादीलाई मुख्यमन्त्री मान्न सकिन्नँ, सरकार फेरौँ भन्नुभएको छ । म यो काम गर्दिनँ, सभापति र शेखर कोइरालालाई भेट्नुस् भनेको छु ।’

१४औँ महाधिवेशनमा इतरसमूहबाट महामन्त्री बनेका थापाले कोइरालाको भूमिकाबारे कुनै सार्वजनिक टिप्पणी गरेका थिएनन् । तर, बिहीबार महामन्त्री थापाले संसदीय दलको निर्वाचनमा आफूले आफ्नै समूहबाट अपेक्षित मतसमेत पाउन नसकेको प्रसंग उठाए । उनले इतरका सांसदले दोहोरो भूमिका खेलेकोसमेत आरोप लगाए । 

‘संसदीय दलको चुनाव लड्ने वेला मेरो हिसाबकिताबमा ३६ जना सांसद पक्षमा छन्, माहोल अनुकूल छ, देश बदल्नुपर्छ भन्ने छ, साथीहरूले विद्रोही चेतका साथ आँट गर्नुहुन्छ र संख्या बढ्ला भन्ने अपेक्षा थियो । तर, अन्तिममा २५ मत मात्रै आयो,’ महामन्त्री कोइरालाले भने, ‘किन घट्यो भन्ने हेर्दा भोट सभापतिलाई हालेर फोटो खिचेर सभापतिलाई देखाउने वा देखाउन लगाउने साथीहरू रहेछन् । अनि ती साथीहरूले नै विद्रोह गर्नुपर्छ भनेर धेरै चकचक गरिरहेको देख्दा म मुसुमुसु हाँसेर हेरेर बसिरहेको छु ।’  थापाले आफू पार्टीलाई रूपान्तरण गर्न चेतका साथ कसरी अगाडि बढ्नुपर्छ भन्नेमा आफू सहज रहेको बताए । 

कोशी प्रकरणपछि इतरसमूह एक रहने–नरहने स्पष्ट छैन । लामो समयदेखि समूहमा एजेन्डाबारे छलफल हुन सकेको छैन । बैठक बसे पनि औपचारिकतामा सीमित छ । महाधिवेशनमा एक ठाउँमा आएका शेखर–गगन सम्बन्धमा त्यति वेला दरार देखिन थाल्यो, जब मन्त्री सिफारिसमा शेखरले एकल निर्णय लिए । २० वैशाखमा इतरबाट मन्त्रीको नाम पठाउने विषयमा असन्तुष्टि रहे पनि थापाले सार्वजनिक टिप्पणी गरेका थिएनन् । 

सरकारमा कांग्रेसको इतरसमूहबाट धनराज गुरुङ कानुन र डिगबहादुर लिम्बू खेलकुदमन्त्री छन् । उनीहरू दुवैको नाम कोइरालाले सिफारिस गरेका हुन् । पछि कोइरालाले भने मन्त्रीको विषयमा अन्तिम अवस्थामा महामन्त्री थापालाई जानकारी नदिनु गल्ती भएको स्विकारिसकेका छन् । कोइरालाले गल्ती स्वीकार गरी महामन्त्री थापासँग सम्बन्ध सुधार गरेर १५ औँ महाधिवेशन केन्द्रित बन्ने प्रयासमा लागेका थिए । ‘गगनसँग छलफल गरेरै नाम दिएको हो, तर नाम दिने वेला(२० वैशाखमा) गगनलाई जानकारी नगराउनु मेरो गल्ती भयो । म आँखाको उपचारका लागि विदेश जानुपर्ने भएकोले पनि हतारले गर्दा जानकारी दिइनँ,’ २२ भदौमा कोइरालाले पत्रकार भेटघाटमा भनेका थिए । 

मन्त्री बनाउने विषयको तुुस नमेटिइसकेको अवस्थामा कोशी प्रकरणले थापाको असन्तुष्टि थप बढाएको छ । यद्यपि, डा. कोइरालाले कोशी प्रकरणपछि भने सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । तर, कोशी प्रकरणले महाधिवेशनले एक ठाउँमा आएका शेखर–गगनको सम्बन्धमा दरार ल्याएको छ भने इतरसमूहको नेतृत्वमाथि समेत प्रश्न उठाएको छ ।

२९ असोजमा कोशीमा मुख्यमन्त्री बनेका कार्कीले १ कात्तिकमा विश्वासको मत लिने तय भएपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई धुम्बाराहीस्थित निवासमा बोलाएर कोशी प्रकरणका विषयमा ब्रिफिङ गरेका थिए । महामन्त्री शर्माका अनुसार बैठकमा महामन्त्रीद्वयले कोशी प्रकरणमा सभापति देउवा र  नेता डा. कोइरालाको भूमिकाप्रति असन्तुष्टि पोखेका थिए । 

शर्मा र थापाले निर्णय प्रक्रियामा महामन्त्रीद्वयलाई सहभागी नगराई गरिएकाले परिस्थितिको जिम्मेवार पनि नेतृत्व नै हुनुपर्ने बताएका थिए । ‘निर्णयमा को–को सामेल हुनुहुन्थ्यो र किन यो दुर्घटना भयो भन्ने कुराको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । डा. शेखर कोइरालाले कांग्रेसको भाग माओवादीलाई दिन लागेकाले खोसेको भन्ने भाष्य बनाउन खोज्नुभयो । तर, कहीँ कतै पनि गठबन्धनमा यो प्रदेशमा यसको मात्रै सग्लो सरकार बन्ने भन्ने सहमति भएको छैन । जसको बने पनि आलोपालो गर्ने भन्ने थियो,’ महामन्त्री शर्मा सभापतिसँग महामन्त्रीद्वयको असन्तुष्टिबारे भन्छन् । महामन्त्रीहरूले तीन नेताबीच गठबन्धन जोगाउने भनेर गरेको लिखित सहमतिको आवश्यकता र औचित्यमाथि समेत प्रश्न गरेका थिए ।

इतरसमूहका नेता अर्जुननरसिंह केसी कोशी प्रकरणमा महामन्त्री थापा र नेता कोइरालाबीच दूरी देखिएको, तर इतरसमूहमा कुनै फेरबदल नआउने दाबी गर्छन् । उनी कोशीको घटना पार्टी नेतृत्वको कारण सिर्जना भएको जिकिर गर्छन् । ‘पछिल्लो समय महामन्त्री र डा. सापबीचको दूरी हामीले पनि महसुुस गरेका छौँ । कोशीमा नेतृत्वले जबर्जस्ती गर्दा यो आकस्मिक समस्या देखियो । हाम्रो समूहमा पनि पर्याप्त छलफल नभएको हो । अब जे भयो, त्यसलाई सुधारेर रूपान्तरण चाहने शक्तिहरू एक भएर झन् बलियो बनेर जानुको विकल्प छैन । तित्ततालाई भुलेर उहाँहरू फेरि एकठाउँमा आउनुहुन्छ, हाम्रो प्रयास त्यसैमा हुनेछ,’ केसी भन्छन् ।

अर्का नेता सञ्जय गौतम भने दुई नेताबीच सम्बन्धमा दूरी देखिएको विषय बाहिर आएजस्तो नभएको जिकिर गर्छन् । दुई नेताको सम्बन्धमा कुनै फेरबदल नहुने उनको जिकिर छ । ‘बाहिर प्रचार भएजस्तो उहाँहरूबीचको सम्बन्धमा तिक्तता छैन । सानातिना समस्या र मतभेदले फरक पार्दैन । हाम्रो समूह एक छ, भइरहन्छ,’ गौतमले भने । 

महामन्त्री थापा भन्छन्– 'अबको निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहँदैन’
कांग्रेस महामन्त्री गगन थापाले अबको निर्वाचनमा कांग्रेसले निर्वाचनअघि गठबन्धन गरे पार्टीका लागि घातक हुने र कांग्रेस एक नरहने भविष्यवाणी गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले निर्वाचनपूर्व गठबन्धन गरे कांग्रेसमा फुट आउने चेतावनी दिएका हुन् ।

थापाले गठबन्धनका विषयमा मंसिरमा हुने नीति अधिवेशनले स्पष्ट पारेर जानुपर्ने बताए । ‘निर्वाचनअघि गठबन्धन गर्ने पूरै अलोकतान्त्रिक पनि होइन, थुप्रै देशमा भइरहेका छन् । तर, नेपालको सन्दर्भमा यसले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउँछ, जरासम्म कुहाउँछ । रणनीतिक हिसाबले फाइदा–बेफाइदा होला, तर सैद्धान्तिक हिसाबले चुनावअगाडि गठबन्धन गलत छ । जुन कुरा सैद्धान्तिक रूपले गलत छ, कुनै पनि रणनीति बनाएर त्यसको सेवा गर्न पाइँदैन,’ थापाले भने, ‘महासमिति बैठकबाट अब कांग्रेसले गलत सिद्धान्त बोक्दैन भनेर प्रस्ट उभिनुपर्छ । चुनावपछाडि सरकार बनाउन त गठबन्धन बन्ने नै भयो । ०८४ मा कसैले गठबन्धन गरेर चुनाव लडाैं भन्यो भने कांग्रेस एक रहँदैन ।’

थापाले पार्टीभित्रका असन्तुष्टि र अस्पष्टता महासमिति बैठकमार्फत हुने नीति अधिवेशनले टुंगो लगाएर जानुपर्ने बताए । उनले ०८२ भित्र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने बाटोमा लाग्ने बताए । ‘०८२ मा कांग्रेसको महाधिवेशन गरेर छाड्नुछ,’ उनले भने । 

ad
ad