१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Friday, 09 May, 2025
कमल खत्री म्याग्दी
२o८o कार्तिक २ बिहीबार १३:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन महिनापछि लुलाङमा बिजुली बल्यो

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १३:२६:oo

म्याग्दीको धवलागिरि गाउँपालिका– २ लुलाङमा तीन महिनापछि बिजुली बत्ती बलेको छ। गत असार २८ गते पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह बगाएपछि विद्युत् उपभोगबाट वञ्चित भएका स्थानीयले लघुजलविद्युत् मर्मत भएपछि पुनः बिजुली बत्ती बाल्न पाएका हुन्।

धवलागिरि गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा रु. ११ लाख ७८ हजार लगानीमा पहिरोले बगाएको विद्युतगृह पुनर्निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले जानकारी दिए। उनका अनुसार काम सुरु भएको २१ दिनमा विद्युतगृहको भवन, कटान रोक्न पक्की पर्खाल निर्माणसँगै मेसिन उपकरण जडान गरेर बिजुली बालिएको हो।

लघुजलविद्युत् पुनर्निर्माण भएपछि लुलाङ, लम्सुङ, खोरिया, मरेनीलगायत बस्तीका करिब तीन सय १५ घरधुरी लाभान्वित भएका छन्। पहिरोले लघुजलविद्युत् परियोजनाको विद्युतगृह र मुहान बगाएपछि अन्धकार बनेको सिंगो वडा पुनर्निर्माणपछि पुनः उज्यालो भएको स्थानीय भक्त सिंकिजा पुनमगरले बताए।

उपभोक्ता समितिले विद्युतगृह भवनसँगै मुहानमा समेत कुलो पुनर्निर्माण गरेको जनाएको छ। यसैगरी जेनेरेटर, हिटरलगायतका उपकरण मर्मत गरिएको छ भने एलसी बोर्ड, मुख्य स्विचलगायतका उपकरण नयाँ खरिद गरेर जडान गरिएको उपभोक्ता समितिका सचिव पाइजाले बताए।

यसअघि ०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर ६ महिनापछि पुनः सञ्चालन गरिएको थियो। लमसुङमा रहेको परियोजना ०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो। दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पुनर्निर्माण गरिएको हो।

पुनर्निर्माण भएको लघुजलविद्युतको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। जनप्रतिनिधि, उपभोक्ता समिति र स्थानीयवासीले उक्त परियोजनाको शुभारम्भ गरेका हुन्। केन्द्रीय प्रसारणलाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघुजलविद्युत् परियोजनामाथि नै निर्भर छन्।