१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
सारा ब्रिडल/एलेड जोन्स
२०८० कार्तिक २ बिहीबार ०९:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खाद्य संकटजनित सामाजिक अशान्तिको सँघारमा बेलायत

Read Time : > 2 मिनेट
सारा ब्रिडल/एलेड जोन्स
२०८० कार्तिक २ बिहीबार ०९:४३:००

खाद्यान्नको विविधतालाई सुदृढ पार्न स्रोत–साधनको कुशल प्रयोग र जगेडा भण्डारण एवं भरपर्दो वितरण प्रणाली आवश्यक छ 

काेभिड महामारीमा बेलायतका सुपरमार्केटमा खाद्य सामग्रीको हाहाकार भयो । महामारीले निम्त्याएको खाद्यान्न आपूर्ति संकटले अराजकता सिर्जना गर्न सक्ने देखियो । के महामारीबाहेक अन्य कारणबाट भविष्यमा खाद्यान्न आपूर्तिजनित समस्या निम्तिन सक्छ ? अनि यस्ता समस्याले समाजका लागि के अर्थ राख्छ ?

हाम्रो नयाँ अध्ययनमा हामीले यी प्रश्नको जवाफ खोजेका थियौँ । यो अध्ययनका लागि बेलायतका ५८ प्रमुख खाद्यविज्ञलाई सर्वेक्षणमा सहभागी गरिएका थियौँ । यी विज्ञले शिक्षा, नीति, परोपकारी संस्था र व्यापारसहित विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्थे । हाम्रो अध्ययनले उग्र मौसमी घटनाबाट उत्पन्न हुने खाद्यान्न अभावले आगामी ५० वर्षभित्र बेलायती समाजमा व्यापक अशान्ति निम्त्याउन सक्ने देखाएको छ । गहुँ, ब्रेड, पास्ता र अनाजजस्ता मुख्य कार्बोहाइड्रेटको अभाव यस्तो अशान्तिको सबैभन्दा ठूलो कारक हुनेछ । हाम्रो अध्ययनले बेलायतलाई भविष्यमा खाद्यान्न अभावसँग सम्बन्धित जोखिमका लागि तयारी गर्न र प्रतिक्रिया दिन मद्दत गर्ने योजना विकासको महत्वलाई जोड दिन्छ ।

विज्ञ सर्वेक्षण : हामीले खाद्यविज्ञलाई बेलायतमा एक वर्षको अवधिमा प्रदर्शन वा हिंसात्मक लुटपाटजस्ता घटनामार्फत ३० हजारभन्दा बढी मानिसले हिंसात्मक चोटपटक भोग्नुपर्ने परिदृश्यको सम्भावनाबारे सोधेका थियौँ । जवाफमा ४० प्रतिशत उत्तरदाताले यस्तो परिदृश्य १० वर्षभित्र ‘सम्भावित’ वा ‘हुने सम्भावना ५० प्रतिशतभन्दा बढी’ रहेको भनेर जवाफ दिएका थिए । आउँदो ५० वर्षमा ८० प्रतिशत उत्तरदाताले बेलायतमा सामाजिक आशान्ति हुने सम्भावना अधिक रहेको जनाएका थिए । त्यसैगरी विशेषज्ञलाई खाद्य प्रणाली संकटको सम्भावित कारक र सामाजिक अशान्तिसँगको सम्बन्धबारे प्रश्न गरिएको थियो । खाद्य संकट सामान्य खाद्यान्न अभावले हुन्छ वा स्थानीयकृत भोकमरी निम्त्याउने खाद्य वितरणमा हुने समस्याका कारणले हुन्छ भनेर प्रश्न गरेका थियौँ । 

भविष्यका ५० वर्षअगाडि हेर्दा अधिकांश विज्ञ अर्थात् ५७ प्रतिशतले बेलायतको जनसंख्यालाई आवश्यक खाद्यान्नको अभाव प्राथमिक चिन्ताको विषय हुने संकेत गरेका छन् । उत्तरदाता यो अभावका पछाडि विनाशकारी कृषि उत्पादन संकलनलाई दोष दिन्छन् । चरम मौसम, आँधीबेहरी, बाढी, हिउँ र खडेरी भविष्यमा खाद्यान्न आपूर्तिको अभाव एवं वितरण चुनौतीका लागि प्रमुख जिम्मेवार कारकका रूपमा देखिएका छन् । र, यो कारक १० र ५० वर्षको दृष्टिकोण दुवैका लागि सही थियो ।

पहिल्यै जोखिममा बेलायत : ८० प्रतिशत फलफूल, ५० प्रतिशत तरकारी र २० प्रतिशत गई एवं र कुखुराको मासुसहित बेलायतको खाद्य आपूर्तिको आधाभन्दा बढी हिस्सा आयातमा निर्भर छ । आयात र आपूर्ति शृंखलामा कुनै पनि किसिमको अवरोधले बेलायतमा खाद्यान्न उपलब्धतामा महत्वपूर्ण प्रभाव पार्न सक्छ । खाद्यान्नको उपलब्धतामा हुने गिरावटले मूल्यवृद्धि र सम्भावित रूपमा सामाजिक अशान्ति निम्त्याउन सक्छ । कोभिड, ब्रेक्जिट र जीविका लागत संकटका कारण बेलायतमा आयात र आपूर्ति शृंखला अवरोधको जोखिमलाई बढाइदिएको छ ।

अप्रिल र अगस्ट २०२२ को अवधिमा मुद्रास्फीतिले घरायसी आम्दानी जकडेको थियो । यस अवधिलाई बेलायतमा कार्यरत आधाभन्दा बढी स्वतन्त्र खाद्य बैंकले उल्लेखनीय ढंगले लाभार्थी बढेको पाएको थियो । यी खाद्य बैंकअनुसार आफूले सहयोग गरिरहेका मानिसमा २५ प्रतिशत मानिस पहिलोपटक सेवा लिन आएका थिए ।

बारम्बार भइरहने र प्रायः जलवायु परिवर्तनसँग जोडिएको चरम मौसमले चाँडै बाली उत्पादन संकलनमा विफलता निम्त्याउन सक्छ । हालैका वर्षको खाद्यान्नमा आएको ह्रासले यसलाई पुष्टि गर्छ । उदाहरणका लागि सन् २००७ मा अस्ट्रेलिया, भारत र अमेरिकामा खडेरी, बाढी र गर्मीको लहरका कारण विश्वव्यापी खाद्यान्न उत्पादनमा आठ प्रतिशतले गिरावट आएको थियो । यी घटनासँगै न्यून विश्वव्यापी खाद्यान्न भण्डारण, वित्तीय अनुमान र उच्च उर्वर मूल्यले खाद्यान्नको मूल्य दोब्बरभन्दा बढी हुन पुग्यो । वास्तवमा खाद्य संकटले ३० भन्दा बढी देशमा खाद्यान्न दंगा निम्त्याएको थियो ।

बेलायतमा खाद्यान्न अभावका कारण हुने सामाजिक अशान्तिको जोखिम कम गर्न खाद्य गरिबीलाई सम्बोधन गर्न आवश्यक छ । मानिसले उपलब्ध खाद्यान्नमा पहुँच र खरिद सुनिश्चित गरेर मात्रै समय क्रममा समुदाय, सरकार र खाद्य आपूर्ति शृंखलाबीच विश्वास निर्माण गर्न सकिन्छ ।

खाद्य प्रणाली पुनः निर्माण गर्ने : प्रभावकारिता मात्रै नभई बेलायतलाई लचिलोपनका लागि पनि तयार गरिएको खाद्य प्रणाली आवश्यक छ । सरकारी एजेन्सी र व्यवसायले खाद्य प्रणालीलाई धक्का दिने अवस्थाका लागि बलियो विकल्प एवं कोष खडा गर्नुपर्छ । यसमा क्षतिग्रस्त माटो र परागकण वासस्थानलाई पुनरुत्थान गर्ने, खाद्य आपूर्ति शृंखलामा श्रम अवस्था बढाउने र दिगो खेती विधिलाई दिइने प्राथमिकतालाई समावेश गर्नुपर्छ ।

खाद्यान्नको विविधतालाई सुदृढ पार्ने काम, स्रोतसाधनको कुशल प्रयोग र जगेडा भण्डारण एवं वितरण प्रणालीको थप लचिलोपन खाद्य प्रणालीका लागि आवश्यक छ । हामीले जलवायु परिवर्तनका प्रतिकूल नतिजालाई न्यूनीकरणका लागि हाम्रा प्रयासलाई तीव्र बनाउनुपर्छ किनभने यो जलवायु परिवर्तन भविष्यमा खाद्यान्न आपूर्तिमा अवरोध र वितरण चुनौती निम्त्याउने सबैभन्दा ठूलो सम्भावित कारक हो ।

कोभिड महामारीले महत्वपूर्ण खाद्य वितरणमा चुनौती खडा गरेको थियो र यसले हामीलाई ठूलो पाठ सिकाएको थियो । लचिलो र प्रभावकारी खाद्य प्रणाली निर्माणले भविष्यमा हुने संकटबाट जोगाउँछ, खाद्यान्न पहुँच र प्रभावकारिता सुनिश्चित गर्छ र सामाजिक अशान्तिलाई रोक्न मद्दत गर्छ ।

(ब्रिडल योर्क विश्वविद्यालयकी खाद्यान्न, जलवायु एवं समाजकी प्राध्यापक हुन् र जोन्स एन्जेला रस्किन विश्वविद्यालयका प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट