१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख १९ बुधबार o९:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशमा महासेठलाई धक्का : एमाले मधेश प्रदेश कमिटी र संसदीय दल दुवैमा अल्पमत

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o८:oo

केही वर्षअघिसम्म मधेश प्रदेशमा पकड राख्ने एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ अहिले पार्टीभित्रै कमजोर पर्न थालेका छन् । शनिबार सम्पन्न पार्टीको प्रथम मधेश प्रदेश अधिवेशन र एमाले मधेश प्रदेश संसदीय दलको नेता चुनावमा पनि महासेठ कमजोर देखिए ।

दुई सय ३५ सदस्यीय प्रदेश कमिटीमा महासेठ अल्पमतमा परेका छन् । उनले आफ्नो समूहबाट प्रदेश अध्यक्षमा सर्लाहीका राजनारायण साह र पर्साका विचारी यादवलाई प्रस्ताव गरेका थिए । तर, उनले प्रस्ताव गरेका यी दुवै नेतामा सहमति भएन । महासेठ प्रदेश सचिवमा जनकपुरधाम उपमहानगरपालिकाका शिवशंकर साहलाई बनाउन चाहन्थे, तर उनको त्यो इच्छा पनि पूरा हुन सकेन । उपाध्यक्षमा विचारी यादव, सचिवमा बाराका मनोज पौडेल र उपसचिवमा धनुषाका मोहम्मद कैसलाई बनाएर चित बुझाए । 

प्रदेश पदाधिकारीमा पार्टीका पोलिटब्युरो सदस्य सुमन प्याकुरेल–एमाले मधेश दलका नेता सरोज यादवको समूह बाजी मार्न सफल भयो । प्रदेश अध्यक्षमा प्याकुरेल–यादव समूह बराबरको हिस्सेदारी मात्रै पाएन, अध्यक्षमा चन्देश्वर मण्डललाई निर्विरोध गराउन सफल भयो । सो समूहले प्रदेश अध्यक्षसहित लेखा आयोगको अध्यक्षमा लक्ष्मीनारायण यादव र उपसचिवमा रौतहटकी आरती भण्डारीलाई बनाएको छ ।

एमालेका एक नेताका अनुसार अधिवेशन प्रतिनिधि छनोटमा प्याकुरेल–यादव समूह हाबी भएकाले महासेठ पछाडि हटेका थिए । प्रतिनिधि छनोटमा धनुषाबाहेक अधिकांश जिल्लामा प्याकुरेल–यादव समूह हाबी भएको थियो । निर्वाचन भएको भए महासेठ समूह अहिलेको भन्दा पनि झन् कमजोर अवस्था हुने थियो । दुई सय ३५ सदस्यीय प्रदेश कमिटीमा प्याकुरेल–यादव समूहका एक सय ६० जना छन् । 

मधेश प्रदेश संसदीय दलको नेतामा महासेठले धनुषा ३ (२) बाट निर्वाचित दीपेन्द्र ठाकुरलाई बनाउन चाहन्थे । ठाकुरको पक्षमा महासेठपत्नी जुलीकुमारी महतोको पनि साथ थियो । तर, पार्टीको हाइकमान्डले महोत्तरी ४ (१) बाट निर्वाचित सरोज यादवलाई दलको नेता बनायो । ठाकुर दलका उपनेता भए । मधेश महासेठको गृह प्रदेश हो । उनी अहिले निर्वाचित सांसद पनि हुन् । महासेठकी पत्नी महतो पोलिटब्युरो सदस्य हुन् । महासेठ पटकपटक निर्वाचित भएर मन्त्रीसमेत भइसकेका नेता हुन् । तैपनि पछिल्लो समय उनी आफ्नै पार्टीभित्र कमजोर देखिन थालेका छन् । गृह प्रदेशमा कमजोर हुनुको पछाडि महासेठको निषेधको राजनीति प्रमुख रहेको नेताहरूको भनाइ छ । महासेठको निषेधको राजनीतिका कारण मधेशको भविष्य बोकेका नेताहरू एमाले छाडेर अन्य पार्टीमा लागेको नेताहरूको आरोप छ ।

एमालेमा लामो समय राजनीति गरेका रामचन्द्र झा महासेठकै कारण पार्टी छाडेर अन्य पार्टीमा लागेको एमालेकै नेताहरूको भनाइ छ । झा अहिले एकीकृत समाजवादीमा छन् । पछिल्लो समय माओवादी छाडेर एमाले प्रवेश गरेका प्रभु साहले पनि महासेठकै कारण पार्टी छाडेको बताइन्छ । ‘महासेठले लामो समयदेखि राजनीति गरिरहे पनि उहाँ कार्यकर्ताको नेता बन्न सक्नुभएन । कुनै समूहको नेतामा सीमित मात्रै रहनुभयो । कार्यकर्तासँग उहाँको सम्बन्ध राम्रो हुन सकेन । राजनीतिलाई व्यापार बनाइदिनुभयो,’ एमालेका एक नेताले भने, ‘पार्टीको टिकट वितरणदेखि समानुपतिक सांसद छनोट तथा कुनै लाभको पदमा कार्यकर्तालाई मनोनीत गर्दा पनि लाभको आस राख्ने नेतामा पर्नुहुन्छ उहाँ । पार्टीमा लामो समयदेखि लगानी गरेका कार्यकर्ताको मूल्यांकन र सम्मान महासेठले कहिल्यै गर्नुभएन । त्यसकारण समयसँगै कमजोर पर्दै जानुभएको छ ।’

केही वर्षअघि मात्रै पार्टी प्रवेश गरेका शिवशंकर साहलाई प्रदेश सचिवमा अगाडि बढाउँदा उनले आफ्नै समूहमा चर्को विरोध सहनुप¥यो । मापदण्डसमेत नपुगेका जनकपुरधामका व्यापारी राजेश अग्रवाललाई प्रदेश सदस्य बनाउँदा आलोचित भए । राजनीतिमा भर्खर छिरेका अग्रवाललाई महासेठले एकैपटक प्रदेश सदस्य बनाइदिए । लामो समयसम्म महासेठनिकट भएर काम गरेका एमाले पूर्वनेता तथा एकीकृत समाजवादीका धनुषा जिल्ला सचिव राजकुमार यादव भन्छन्, ‘महासेठ कमजोर हुनुको पछाडि उहाँको निषेधको राजनीति जिम्मेवार हो । उहाँ लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, तर अझैसम्म उहाँका राजनीतिक संस्कारको विकास हुन सकेन । उहाँले कार्यकर्तालाई कार्यकर्ताजस्तो व्यवहार गर्नुभएन । उहाँको उत्तराधिकारी को हो भनेर अहिलेसम्म कसैलाई थाहा छैन । आफ्नो कार्यकर्ताप्रति विश्वास छैन । पार्टीमा व्यापारीहरूलाई अवसर दिने गरिएको छ,’ उनले भने ।

एमालेको संगठन मधेशमा कमजोर बनाएको आरोप
मधेश प्रदेशमा पार्टी संगठन कमजोर बनाउन नेतृत्वको पनि हात रहेको एमाले नेताहरूको भनाइ छ । गत स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको टिकट वितरणमा पार्टीभित्र ठूलो विवाद भएको थियो । महासेठ शिवशंकर साहलाई मेयरको टिकट दिन चाहन्थे । तर, पार्टीको हाइकमान्ड भने लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका जानकीराम साहलाई दिन चाहन्थ्यो । उनी टिकटकै लागि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट दिने भनेर पार्टी अध्यक्ष केपी ओलीले आवश्वासन दिएपछि मात्रै साह एमाले प्रवेश गरेका थिए । तर, महासेठले साहलाई टिकट दिएमा पार्टी नै छोड्ने भनेर अडान लिएपछि ओली पछि हटेर साहलाई मेयरको टिकट दिन बाध्य भए । महासेठको त्यो अडान पार्टी नेतृत्वलाई मन नपरेको एमाले नेताहरू बताउँछन् । 

पार्टीभित्र बलियो पकड बनाउँदै गएका महासेठलाई साइजमा राख्नुपर्छ भनेर पार्टी नेतृत्व पंक्तिको आन्तरिक चाहना रहेको एमालेका एक नेताले बताए । कुनै समय ओलीको विश्वासिलो पात्र मानिएका महासेठ तत्कालीन नेकपा विभाजन हुँदा ओली समूह छाडेर प्रचण्ड र माधव नेपाल समूहमा लागेका थिए । उनले ओलीलाई कारबाही गर्ने पत्रमा हस्ताक्षरसमेत गरेका थिए । त्यसको बदलामा प्रचण्ड–नेपाल समूहले जुलीकुमारी महतोलाई मन्त्री बनाउने आश्वासन दिएको थियो । तर, महतोलाई मन्त्रीमा कन्फर्म नगरेपछि महासेठ पुनः ओलीतिर लागे । सोही समयदेखि महासेठ र ओलीको सम्बन्ध चिसिएको नेताहरू बताउँछन् । 

महासेठलाई कमजोर बनाउनकै लागि कोशी प्रदेशको इन्चार्ज बनाएको एक नेताले बताए । एमाले विभाजन हुँदा अधिकांश प्रदेश सांसदहरू एकीकृत समाजवादीतिर लागेका थिाए । महासेठकै कारण अधिकांश प्रदेश सांसदले पाार्टी छाडेको भन्दै उनको आलोचना भएको थियो ।

एमाले केन्द्रीय सदस्य रामसिंह यादव भने पार्टीमा महासेठको पकड बलियो बन्दै गएको दाबी गर्छन् । ‘पार्टीभित्र अल्पमत–बहुमत हुँदैन, हामी सबै एउटै पार्टीको परिवार हो । मिलेर जाने हो । बाहिर–बाहिर महासेठ समूह प्रदेश कमिटी वा पार्टीमा कमजोर भएको भन्नेहरू धेरै होलान् । तर, अन्य प्रदेशमा चुनाव भएर मात्रै अधिवेशन सम्पन्न हुँदा मधेश प्रदेशमा सर्वसम्मतले सम्पन्न हुनुमा महासेठजीको ठूलो योगदान छ । उहाँको यो कार्यको पार्टीभित्र प्रशंसा भइरहेको छ । पार्टीभित्र उहाँको छवि झन् राम्रो हुँदै गएको छ ।’

राजनीतिक विश्लेषक रोशन जनकपुरी आन्तरिक रूपमा महासेठ पार्टीभित्र कमजोर हँुदै गएको बताउँछन् । ‘एमाले विभाजनअघि ओली समूहका मधेशमा विश्वासिलो नेता थिए महासेठ । अहिले पार्टीभित्र प्याकुरेल र सरोज यादव गुट हाबी भएको देखिन्छ । यसको कारण मधेशको राजनीतिक अवस्था, जातीय राजनीति, यादवबहुल प्रदेशमा वैश्य समाजका महासेठलाई पार्टीले त्यहीअनुसार मूल्यांकन गरिरहेको देखिन्छ,’ जनकपुरीले भने, ‘यसले पार्टीलाई मधेशमा कमजोर बनाउने वा नबनाउने त्यसको परीक्षण अहिले गर्न मिल्दैन । तर, महासेठ समयमा सचेत नभए भविष्यमा कमजोर हुन सक्छन् ।’

 

 

ad
ad