मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८o असोज २३ मंगलबार १६:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पालिकाकै स्रोतबाट पक्की सडक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार १६:३४:oo

काभ्रे जिल्लाका स्थानीय तहहरूले आफ्नै  स्रोतबाट सडक कालोपत्रे गर्न थालेका छन्। सडक कालोपत्रे गर्न बजेट बढी लाग्ने हुनाले स्थानीय तहहरूले कालोपत्रे गर्न नसकेको अवस्थामा बेथानचोक गाउँपालिका र रोशी गाउँपालिकाले आफ्नै स्रोतबाट सडक कालोपत्रे गरेका हुन्।

बेथानचोक गाउँपालिकाले सात किलोमिटर र रोशी गाउँपालिकाले दुई किलोमिटर आफ्नै स्रोतबाट कालोपत्रे गरेका हुन्। 

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी निर्वाचनपश्चात् पहिलो निर्णयमा हरेक वर्ष कम्तीमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आर्थिक वर्ष ०७९/८० मा सात किलोमिटर सडक कालोपत्रे तथा ढलान गरेका छन्। 

बेथानचोक गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख तथा इन्जिनियर ज्ञानबहादुर तिमल्सिनाका अनुसार आर्थिक वर्ष ०७९/८० मा साढे दुई किलोमिटर सडक कालोपत्रे र साढे चार किलोमिटर सडक ढलान गरेको छ। 

पाटीखर्क–चलालगणेस्थान–आलुबारीपाटी–मुसी खोल्सा सडक स्तरोन्नतिका लागि नाै करोड अनुमान गरेकोमा साढे पाँच करोडमा सम्झौता भई कार्य सम्पन्न भएको तिमल्सिनाले जानकारी दिए। 

घिसिङ/जोशी जी जेभी निर्माण कम्पनीले ठेक्का पारेर सम्झौता गरेका थिए। सो निर्माण कम्पनीले २.५ किलोमिटर सडक कालोपत्रे गरेका छन् भने १.५ किलोमिटर ढलान गरेका थिए। 

त्यस्तै, वडा नं. १ मा करिब दुई सय मिटर ढलान, वडा नं. २ मा करिब तीन सय मिटर ढलान, वडा नं. ३ मा सात सय मिटर ढलान र वडा नं. ४ मा तीन सय मिटर ढलान गरी आर्थिक वर्ष ०७९/८० मा ७ किलोमिटर सडक पक्की बनाएका छन्।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पहिलो निर्णयअनुसार पक्की सडक निर्माणका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।

गत आर्थिक वर्षमा सफलतापूर्वक लक्ष्य पूरा भएको र यस आर्थिक वर्ष ०८०/८१ मा पनि गाउँपालिकाले पक्की सडक निर्माणका लागि ६ करोड रकम विनियोजन गरेको अधिकारीले बताए। यस वर्ष प्रत्येक वडाको स्थानीय बजारमा पक्की सडक निर्माण गर्ने लक्ष्य रहेको उनले बताए। 

त्यस्तै, रोशी गाउँपालिकाले पनि साढे एक किलोमिटर सडक पक्की बनाएकाे छ। आर्थिक वर्ष ०७९/८० मा बिपी राजमार्गदेखि गाउँपालिका प्रशासनिक भवनसम्म करिब पाँच सय ५८ मिटर सडक गाउँपालिकाकै स्रोतबाट कालोपत्रे गरेको हो। 

गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर भूपेन्द्र अधिकारीका अनुसार ७५ लाख लागत अनुमान गरेकोमा युनिक बिल्डर्स प्रालिले ५३ लाख ७१ हजारमा सम्झौता गरी सम्पन्न गरेको हो। 
 
त्यसरी नै रोशी चौकीडाँडा–खहरेपाँगु सडकअन्तर्गत रोशी पुलदेखि पोटाखोलासम्म पाँच सय मिटर सडक पनि पिच भएको छ। भूमिडाँडा निर्माण सेवाले एक करोड ४० लाखमा सम्झौता गरी सडक पिच सम्पन्न गरेका छन्। 

रोशी गाउँपालिकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको भए पनि भौतिक पूर्वाधारको कामलाई पनि सँगसँगै लगेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। चालू आर्थिक वर्षमा पनि त्यसरी नै काम गर्ने उनको भनाइ छ।