१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका स्याङ्जा
Invalid date format १३:१३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्याङ्जाको एउटै गाउँबाट पाँच करोडको बिउ, तरकारी र दूध निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

स्याङ्जाको एउटै गाउँमा बिउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झनडै पाँच करोड भित्रिने गरेको छ।

गल्याङ नगरपालिका– ११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बिउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए। 

कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो। आँधीखोला जलविद्युत् आयोजनाअन्तर्गत  यहाँ सिँचाइको व्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो। 

आक्वामा हाल पाँच सय ५८ किसान आबद्ध छन्। उनीहरूले व्यावसायिक वा घरायसी प्रयोजनका लागि भए पनि  खेती किसानी गर्दै आएका  छन्।

जिमुहामा बिउ आलु तथा  खानका लागि प्रयोग हुने आलु, मकैको बिउ, धानको बिउ, बोडी, करेला, काँक्रा, लौका, घिराैँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको व्यावसायिक उत्पादन हुने गरेको अध्यक्ष कँडेलले बताए। 

कँडेलका अनुसार यहाँ करिब दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जल जातका बिउ आलु उत्पादन हुने गरेको छ। यहाँ खानका लागि प्रयोग गरिने आलु मात्रै करिब तीन सय मेट्रिकटन उत्पादन हुने गरेको छ। 

त्यस्तै, बिउका लागि प्रयोग गरिने आलु खेतीबाट करिब चार सय मेट्रिकटन, अरुण–दुई जातको मकैको बिउ करिब एक सय मेट्रिकटन, साबित्री, रामधान करिब एक सय ५० मेट्रिकटन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बिउ दुई मेट्रिकटन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उनको भनाइ थियो। 

बर्सेनि अनुमानित बिउ आलु बिक्रीबाट रु. २१ लाख, खाने आलु बिक्रीबाट रु. १२ लाख, मकैको बिउ बिक्रीबाट रु. एक करोड २० लाख, धानको बिउ बिक्रीबाट रु. एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक रु. एक करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट रु. ६० लाख गरी वार्षिक रूपमा अनुमानित चार करोड ६९ लाख ५० हजार गाउँमा भित्रिने गरेको अध्यक्ष कँडेलको जिकिर थियो।

उत्पादित बिउ तथा दूधको बजारीकरणका लागि समस्या नभए पनि कहिलेकाहीँ तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ। कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषक धेरै भएको र घरायसी प्रयोजनका लागि मात्रै कृषि गर्नेहरू पनि यहाँ छन्।

गत वर्षदेखि गहुँको बिउ उत्पादन थोरै परिमाणमा थालिएकाले यस वर्षदेखि ठूलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ। यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन केन्द्रको रूपमा गतिविधिहरू अगाडि बढाउने काम पनि सुरु भएको उनले बताए।