१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस म्याग्दी
Invalid date format १२:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

Read Time : > 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १२:४१:oo

विश्वमै दुर्लभ जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ।धाैलागिरि गाउँपालिका– २ लुलाङको जलजलास्थित जंगलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलोपटक हाब्रेको भिडियो खिचेका थिए। हाब्रे भेटिएकोसम्बन्धी समाचार गत बिहीबार राससमार्फत सार्वजनिक भएको थियो।

म्याग्दीमा हाब्रेको बसोवास रहेको तथ्य प्रमाणित भएपछि अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले संरक्षण कार्यक्रम सञ्चालन गर्न चासो दिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए।

‘हाब्रे भेटिएको खबर सार्वजनिक भएपछि युएसएडअन्तर्गत गण्डकी प्रदेशमा लागू भएको जल र जंगल परियोजनाका अधिकार आइतबार वन डिभिजन कार्यालयमा आएर संरक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ,’ उनले भने।

जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उक्त परियोजनाका ल्याडस्केप टिमलिडर मानबहादुर विक र वरिष्ठ कार्यक्रम अधिकृत सोभियत कोइरालाको टोलीले डिभिजन वन कार्यालयसँग हाब्रे संरक्षण कार्यक्रम सञ्चालनको विषयमा छलफल गरेका हुन्।

‘नयाँ र उपलब्धि देखिने काम हुने भएकाले म्याग्दीमा हाब्रे संरक्षणको कार्यक्रम परियोजनामा समेट्ने समझदारी भएको छ,’ वन अधिकृत रानाभाटले भने, ‘स्थानीय तह र वन डिभिजन कार्यालयसँग छलफल गरेर संरक्षण गरिने विषयमा छलफल भएको छ।’

सात वर्षअघि भएको अध्ययनका क्रममा जलजलाको जंगलमा भेटिएको दिसाको आधारमा हाब्रेको वासस्थान भएको बताइएको थियो। म्याग्दीमा यसअघि दुर्लभ वन्यजन्तु रेडपाण्डा भौतिक रूपमा देखिएको थिएन। संरक्षण कार्यक्रमको प्रभाव, चोरीसिकारी नियन्त्रण र जनचेतना अभिवृद्धिका कारण हाब्रे देखिन थालेको विषयमा अनुसन्धान गर्दै आएका बद्री बरालले बताए।

०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले लजालु स्वभावको हाब्रे खोजी अभियान सञ्चालन गरेको थियो। लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जंगलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन।

रातको समयमा रूखको टोड्कामा वास लिने र दिउँसो रूखका हाँगामा बसी आराम गर्ने, भोक लागेका वेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको वासस्थानका विषयमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुुलाङ तथा मुदीमा अध्ययन गरेकाे थियाे। 

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा मालिंगाे र टोड्का परेका रूख यस क्षेत्रको जंगलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोवास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु. पाँच लाखदेखि रु. १० लाख जरिवाना, पाँचदेखि १५ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। रेडपाण्डाको संख्या नेपालमा पाँच सयदेखि एक हजार रहेको अनुमान गरिए पनि दुई सय ३७ को मात्र यकिन भएको छ।

विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र रेडपाण्डाको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा छ । नेपालका २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ।