१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
डा. शम्भुप्रसाद आचार्य
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डब्लुएचओको क्षेत्रीय निर्देशकको चुनाव : सरकारले आचार्यलाई आवश्यक सहयोग नगरेको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४९:oo

आगामी १ नोभेम्बरमा हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको निर्देशक पदका उम्मेदवार डा. शम्भुप्रसाद आचार्य आफ्नो पक्षमा मत माग्न विभिन्न देश धाइरहेका छन् । पाल्पाका आचार्यसँग जनस्वास्थ्य क्षेत्रको तीन दशक लामो अनुभव छ । डब्लुएचओमा कर्मचारी भएर काम गरेका उनी यसपटक उच्च पदका लागि चुनावमा भिड्दै छन् । डब्लुएचओमा भाग लिएका सदस्य देशहरूले आफूलाई पत्याउनेमा उनी निश्चिन्त छन् । तर, आफ्नो देशबाट भइरहेको पहलबारे भने उनी निराश छन् । 

आचार्यलाई मन्त्रिपरिषद् बैठकले नेपालतर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सरकारी पक्षबाट उनलाई जिताउन भएका पहल कमजोर देखिन्छन् । बंगलादेशका उम्मेदवारसँग चुनावमा भिड्न आचार्यले सजिलो छैन । बंगलादेशका प्रधानमन्त्री यतिवेला आफ्नो देशको उम्मेदवारलाई जिताउन अन्य देशसँग भोट मागिरहेका छन् । तर, नेपालले पर्याप्त पहलकदमी नचालेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले डब्लुएचओजस्तो गरिमा बोकेको संस्थामा नेपालको प्रतिनिधित्व पठाउन सबै जागरुक हुनुपर्ने बताए । ‘यति उच्च पदमा नेपालबाट उम्मेवार भएर चुनावका लागि मैदानमा उत्रिनुभएका डा. शम्भु आचार्यलाई सबैले सहयोग गर्नुपर्छ । अझ सरकारले बाहिरी पहल गर्न ढिलो गर्नुहुन्न,’ आइतबार आयोजित एक कार्यक्रममा उनले भने, ‘नेपाल सरकारले नै उम्मेदवार चयन गरी मनोनयन गर्न पठाएपछि अब देशले पछि हट्ने कुरै आउँदैन । कुनै पनि सन्दर्भ जोडेर यसलाई कमजोर पार्नुहुन्न ।’ 

आचार्यसँग बंगलादेशकी उम्मेदवार सैमा वाजेद चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन् । उनी बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । उनी मानसिक स्वास्थ्य तथा अटिजम रोगसँग सम्बन्धित चिकित्सक हुन् । नेपालले आचार्यलाई चुनाव जिताउन पर्याप्त पहल र प्रचारप्रसारसमेत गरेको छैन । हाल डब्लुएचओका विश्वमा ६ वटा क्षेत्रीय कार्यालय छन् । त्यसमध्ये दक्षिण–पूर्वी एसिया एक हो । यस क्षेत्रको निर्देशक पदका लागि आगामी १ नोभेम्बरमा चुनाव हुँदै छ । दक्षिण–पूर्वी क्षेत्रभित्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इन्डोनेसिया, भुटान, दक्षिण कोरिया, माल्दिभ्स, म्यान्मार, टिमोर लेस्टे र थाइल्यान्डसहित ११ राष्ट्र पर्दछन् । 

परराष्ट्र मन्त्रालयले केही देशमा रहेका नेपाली दूतावासमार्फत आचार्यको पक्षमा समर्थन गर्न पत्राचार गरे पनि बलियो रूपमा समर्थन जुटाउन सकेको छैन । मन्त्रालयले भारतको नयाँदिल्ली, कोलम्बो, ढाका, बैंककलगायत केही नेपाली दूतावासलाई चुनावी समर्थन जुटाउन पत्राचार गरेको थियो । तर, त्यतिले मात्रै उच्च पदको चुनाव जित्न कठिन हुने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा. नरेशप्रताप केसीले आचार्यको पक्षमा सरकारले अन्तर्राष्ट्रिय स्तरमा सहज माहोल बनाउन आवश्यक रहेको बताए । ‘डब्लुएचओजस्तो संस्थामा नेपालीहरूको निकै कम उपस्थिति छ, यस्तो चुनावमा भाग लिनु आफैँमा चुनौती हो । नेपालमा योग्य व्यक्तिहरू धेरै हुनुहुन्छ, त्यसकारण पनि यस्तो संस्थामा उहाँहरूलाई पु¥याउन सबैले सहयोग र पहल गर्नुपर्छ,’ उनले भने । 

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले नेपालबाट डब्लुएचओको चुनावमा भाग लिन लागेका उम्मेदवारप्रति सरकार जिम्मेवार नदेखिएको बताउँदै षड्यन्त्रसमेत हुन थालेको बताए । ‘उम्मेदवार आफैँ भिडिरहनुभएको छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत तहतप्काको त्यति सकारात्मक भूमिका देखिएको छैन,’ उनले भने, ‘अन्य देशका प्रधानमन्त्रीहरू खुलेर आफ्नो उम्मेदवारको पक्षमा लागिरहेका छन्, तर नेपाल सरकारले बेवास्ता गरेको छ ।’

यसअघि भएको डब्लुएचओको दक्षिण–पूर्वी एसियाको चुनावका वेला भारतले नेपाललाई सघाउने प्रतिबद्धता पनि जाहेर गरेको थियो । सो पदमा हाल भारतकी पुनम क्षेत्रपाल सिंह दोस्रो कार्यकालका रूपमा कार्यरत छिन् । उनी सन् २०१४ र २०१८ मा निर्विरोध चुनिएकी थिइन् । २०१८ मा उनलाई चुन्ने क्रममा आगामी चुनावमा भारतले नेपाललाई सघाउने प्रतिबद्धता जनाएको थियो । तर, त्यसप्रति नेपालले भारतसँग कुनै पहलसमेत गर्न सकेको छैन । 

ad
ad