
सन् २०३० सम्म एआई क्षेत्रमा विश्वभरमै उच्च स्थान प्राप्त गर्ने महत्वाकांक्षा चीनले सार्वजनिक गरेपछि अमेरिका त्रस्त छ
प्रविधिसँग जोडिएको चीनको लोकप्रिय कम्पनी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको निर्माणमा अमेरिकाझैँ प्रतिस्पर्धी ढंगले अगाडि बढिरहेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले यो वर्ष मात्रै १५ अर्ब डलर एआई प्रोजेक्टमा खर्च गर्ने बताएको छ । यो बजेट पछिल्ला दुई वर्षमा ५० प्रतिशतले बढेको बताइन्छ । माइक्रोसफ्टमार्फत तयार गरिएको च्याटजिपिटीजस्ता ठूलो भाषा मोडल सार्वजनिक हुनुअघि पनि केही प्रविधिका जानकारले एआईको दौडमा पश्चिमा देशको दबदबा नहुने बताएका थिए । स्मरण होस्, सर्वाधिक उन्नत एआई प्रयोगशाला अमेरिका र बेलायत (पश्चिमा देश)मै छन् ।
ताइवानका कम्प्युटर वैज्ञानिक, पुँजीपति तथा प्रविधि प्रबन्धक काई फु लीले सन् २०१८ मै चीन एआई महाशक्तिका रूपमा अमेरिकाभन्दा अगाडि निस्कने अनुमान गरेका थिए । उनका अनुसार प्रविधि (टेक्नोलोजी)ले आविष्कारको पहिलो चरण पार गरिसकेको छ । यसमा चीनले उल्लेख्य प्रगति गरेको छ । आफ्ना नागरिकको जासुसी गर्न चीनले लामो समयदेखि एआई प्रयोग गरेको छ । एआई प्रयोगमार्फत उसले असंख्य डेटा संग्रहण पनि गरेको छ । डेटाको सहायताले एआई प्लेटफर्म झनै उत्कृष्ट बनाउँदै लगेको छ ।
निगरानीका लागि विश्वभर जडान गरिएका करिब एक अर्ब क्यामेरामध्ये आधाभन्दा बढी चीनमा छन् । यद्यपि, एआई क्रान्ति अझै पनि प्रारम्भिक अवस्थामा छ र यसको चाबी पश्चिमा देशसँग रहेको ली बताउँछन् ।
चीनबाट त्रस्त अमेरिका
वासिङ्टन विश्वविद्यालयस्थित पल जी एलन स्कुल अफ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका पूर्वप्राध्यापक पेड्रोगका अनुसार एआईको क्षेत्रमा अझैसम्म ठूलो खोज हुन सकेको छैन । यो क्षेत्रमा अझै पनि अमेरिकाको दबदबा छ । १.४ अर्ब जनसंख्याको जासुसी गर्ने चीनलाई अमेरिकाको तुलनामा धेरै लाभ हुनेछैन । भिन्दाभिन्दै प्रकारका डेटा हुनु पनि महत्वपूर्ण विषय हो । ‘म चीनको तुलनामा युरोपबाट डेटा लिन मन पराउँछु,’ पेड्रोग भन्छन्, ‘कारण, यो विविधतापूर्ण छ । यसबाट धेरै चिज सिक्नसमेत सकिन्छ ।’
स्पष्ट रूपमा भन्नुपर्दा अमेरिका चीनको प्रविधि महत्वाकांक्षाबाट त्रस्त छ । चीन सरकारले आधिकारिक नीतिअन्तर्गत सन् २०३० सम्म एआई क्षेत्रमा विश्वभरमै उच्च स्थान प्राप्त गर्ने बताएको छ । चीनसँग लगातार बिग्रँदो सम्बन्धका कारण गत वर्ष अमेरिकाले चिप निर्यातमा प्रतिबन्ध लगाएको थियो । किनकि, एआई भाषा मोडललाई उत्कृष्ट रूप दिन चिनियाँ कम्पनीलाई चिपको आवश्यकता पर्छ ।
सेन्टर फर ए न्यु अमेरिका सेक्योरिटीका कार्यकारी उपाध्यक्ष एवं निर्देशक पल सार्रे अत्याधुनिक एआई सिस्टमका लागि ठूलो परिमाणमा हार्डवेयर अर्थात् विशेष चिप आवश्यक पर्ने बताउँछन् । उनका अनुसार यदि चीनले यस्ता खालका चिप नपाउने हो भने उसले उत्कृष्ट सिस्टम पनि विकास गर्न सक्दैन । यो अवस्थामा निचियाैँ कम्पनीले अन्य कुनै उपाय खोज्न सक्छन् । जसले गर्दा घरेलु सेमिकन्डक्टर बजारमा लगानी बढ्न सक्छ । कारण, स्थानीय उत्पादक आफ्नै चिपलाई उत्कृष्ट बनाउन होडबाजी गरिरहेका छन् ।
ओपन सोर्सको फाइदा
अमेरिकाले अर्को एउटा छिद्र पनि बन्द गर्न सक्छ । त्यो के भने, अमेरिकी मेसिन लर्निङ प्लेटफर्म ओपन सोर्स (खुला स्रोत) हो । यसलाई सहजै नक्कल गरी परिवर्तन गर्न सकिन्छ । ‘फोर ब्याटलग्राउन्ड्स : पावर इन द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’का लेखक पल सार्रेले प्रशिक्षित एआई मोडलमा छ भने त्यसका लागि उत्कृष्ट चिपको आवश्यक नरहेको बताएका छन् । यसकारण पनि अमेरिकाले चिप निर्यातमा लगाएको प्रतिबन्धको प्रभाव नपर्न पनि सक्छ ।
वास्तवमा ई–कमर्सको लोकप्रिय कम्पनी अलिबाबा र सोसल मिडिया प्लेटफर्म बायडुजस्ता कम्पनीले च्याटजिपिटीको चिनियाँ संस्करण अप्रिलमा सार्वजनिक गरेका छन् । यसअघि अमेरिकी कम्पनीले च्याटजिपिटी सार्वजनिक गरेको थियो ।
चीनका चुनौती
एआई क्षेत्रमा कब्जा जमाउनुअघि चीनले कैयौँ अन्य बाधा–अड्चन पार गर्नुपर्ने हुन्छ । पछिल्ला दुई वर्षमा राष्ट्रपति सी जिनपिङले प्रविधि क्षेत्र (टेक्नोलोजी सेक्टर)माथि निगरानी बढाएका छन् । जसले गर्दा चिनियाँ अधिकारीहरू ज्यादा जोखिम उठाउन चाहेका छैनन् । त्यहाँको प्रविधि क्षेत्रमा एकपछि अर्को नयाँ नियम लागू गरिएको छ । तर, ती नियम निकै अस्पष्ट छन् । र, यसले उद्योगमा गहिरो आघात पुर्याएको छ ।
अमेरिकाको प्रतिबन्धप्रति चीनको सन्काहा प्रवृत्ति उसैका लागि दुःखदायी साबित हुने जानकारहरू बताउँछन् । ठूलो परिमाणमा डेटा हराइरहेको छ या धेरै विषय प्रयोग नगर्न प्रोग्रामिङ गरिएको छ भने एआई मोडलले आफ्नो पूर्ण सिकाइ क्षमता हासिल गर्न सक्नेछैनन् । साथै, चीनमा सेन्सर गरिने कन्टेन्टबारे सधैँ नियम परिवर्तन भइरहन्छ । आज जुन कन्टेन्ट प्रयोगको अनुमति छ, भोलि त्यसमाथि सरकारले प्रतिबन्ध लगाउन सक्छ । यसकारण, भोलि के हुन्छ भन्न सकिँदैन ।
प्रतिभा पलायन रोक्नु अनिवार्य
एआईमा आफ्नो लक्ष्य हासिल गर्न चीनमा पर्याप्त दक्ष श्रमिकको पनि अभाव छ । एआई क्षेत्रमा दक्ष जनशक्तिको टिम बनाउने प्रयासका बाबजुद प्रविधि क्षेत्रमा शीर्षस्तरका कर्मचारीलाई आफ्नो टिममा राखिरहनु उसका लागि एउटा ठूलो चुनौती हुन सक्छ । यस्ता दक्ष जनशक्तिको माग विश्वभरमै उच्च छ । यसकारण प्रतिभा पलायन चीनका लागि ठूलो समस्या बनेको छ । त्यहाँका उत्कृष्ट एआई वैज्ञानिक या विशेषज्ञ अर्कै देश जान्छन् । उनीहरू अध्ययन गर्न या पैसा कमाउन मात्रै विदेश जाँदैनन् । जान्छन् त, मनमौजी तरिकाले जीवन बाँच्न । जुन चीनमा सायदै सम्भव छ । यति हुँदा पनि चीन एआई प्रयोगशालामा पश्चिमा देशका उत्कृष्ट प्रयोगशालाभन्दा १८ महिना पछाडि छ । जबजब एआई प्रयोगको सन्दर्भ आउँछ, चीन यसमा सबभन्दा अगाडि छ ।
निष्फिक्री एआई प्रयोग गर्दै चीन
केही पश्चिमा देश र त्यहाँका मानिस सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै एआई प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने बताउँछन् । तर, चीन भने यो प्रविधिको फाइदा उठाउन जोडतोडले लागिपरेको छ । चीनका लागि यो निरंकुश शासनका लागि स्वप्न–औजारजस्तो हो ।
लोकतान्त्रिक विश्वमा अमेरिका अगाडि बढ्नु जरुरी छ । तर, चीन अगाडि बढ्छ भने अमेरिकालाई राजनीतिक, आर्थिक र सैन्य रूपले निकै घाटा पुग्छ । जसरी पछिल्लो शताब्दीमा अमेरिकी संस्कृति र प्रविधि विश्वभर फैलिएको छ, त्यसैगरी एआईमाथिको चीनको प्रभुत्वले बाँकी विश्वलाई उसकै जस्तो बनाउनेछ ।
– एजेन्सी