१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिँदै

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:३o:oo

कञ्चनपुरको एक चिनी मिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिरहेको छ। पुनर्वास नगरपालिका– २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एन्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गर्न लागेको हो।

गत साउनमा सिमरी नदीमा आएको बाढीमा उद्योगले केमिकलयुक्त पानी मिसाइदिँदा धान र उखु खेती नष्ट भएको किसानले आरोप लगाएपछि उद्योगले आधुनिक प्रविधिबाट पानी शुद्धीकरण गर्न लागेको हो। त्यसका लागि उद्योगले पानी प्रशोधन प्लान्ट जडान गरिरहेको छ।

भागेश्वर सुगर एन्ड केमिकल प्रालिका अधिकृत डम्बरबहादुर खड्काले उद्योगबाट निस्किने पानी प्रशोधनका लागि प्लान्ट जडान भइरहेको बताए। ‘पहिले पनि हामीले उद्योगबाट पानी प्रशोधन गर्दै आएका थियौँ,’ उनले भने, ‘किसानले उद्योगलाई आरोप लगाउन थालेपछि आधुनिक प्लान्ट जडान गरिरहेका छौँ।’

आधुनिक प्लान्ट निर्माण भएसँगै उद्योगबाट निस्किएको फोहोर पदार्थ वर्गीकरण गरेर बाहिर निस्किने पानी सिँचाइ गर्नसमेत सकिने अधिकृत खड्काको भनाइ छ। ‘हामीसँग पहिले पनि थियो, तर अहिले हामीले आधुनिक प्रविधियुक्त मेसिन जडान गरेका छौँ,’ उनले भने, ‘अब यो पानीबाट सिँचाइ गर्दा पनि हुन्छ।’ उनले उद्योगबाट कुनै पनि नदीमा केमिकलयुक्त पदार्थ नबगाएको दोहोर्‍याए।

भागेश्वर सुगर एन्ड केमिकल प्रालिका महाप्रबन्धक द्वारिकानाथ पाण्डेय उद्योगबाट निस्किएको पानीका कारण अन्नबाली नष्ट नभएको दाबी गर्छन्। उनले बिओडी र सिओडीको तोकिएको मापदण्डभित्रै पानी परीक्षणको रिर्पोट आएकाले उद्योगकै कारण अन्नबाली नष्ट नभएको र लेदोका कारण अन्नबाली नष्ट भएको प्रस्ट पारे।

भागेश्वर सुगर एन्ड केमिकल प्रालिका लेखा अधिकृत प्रकाश भट्टले उद्योगविरुद्धमा केही मान्छेले स्थानीय किसानलाई भड्काएको बताए। यस क्षेत्रको कृषि विकासमा अघि बढिरहेको उद्योग धराशायी बनाउने काम भइरहेको उनको आरोप छ। गत साउनमा सिमरी नदीमा आएको बाढीपछि उक्त क्षेत्रका झन्डै साढे तीन सयभन्दा बढी बिघा जमिनको धान तथा उखु खेती नष्ट भएको छ।