
नर्वेका इयोन फोसालाई सन् २०२३ का लागि साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा गरिएको छ ।
स्विडिस एकेडेमीले नर्वेजियन लेखक तथा नाटककार फोसालाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
व्यक्त गर्न नसकिने कुरालाई नाटक तथा काव्यका माध्यमबाट नयाँ ढंगले प्रस्तुत गरेकाले फोसालाई नोबेल पुरस्कारका लागि छानिएको पुरस्कार समितिले जनाएको छ ।
उनी नर्वेका चर्चित नाटककार हुन् । उनका नाटक सबैभन्दा धेरै प्रदर्शन हुने नाटकहरूमा पर्छन् । यस्तै, उपन्यास, लघु कथा, कविता र निबन्धका साथै बालसाहित्यमा पनि उनको ठूलो ख्याति रहेको छ ।
पुरस्कार छनोट समितिले उनलाई छनोट गरिएको जानकारी गराउँदा उनी ग्रामीण भेगमा सवारी चलाइरहेका थिए ।
नोबेल साहित्य समितिका अध्यक्ष एन्डर्स ओल्सनले फोसाको कामलाई ‘नर्वेजियन पृष्ठभूमिको भाषा र प्रकृतिमा जरा गाडिएको’ संज्ञा दिएका छन् ।
विश्वसाहित्यमा सबैभन्दा ठूलो मानिने यो पुरस्कारले लामो समयदेखि आलोचनाको सामना गर्दै आएको छ । यो पुरस्कार पाउने अधिकांश युरोपेली र उत्तर अमेरिकी लेखक छन् भने तिनमा पनि अधिकांश पुरुष मात्र छन् ।
६४ वर्षीय फोसा साहित्यतर्फ नोबेल पुरस्कार पाउने ११९औँ साहित्यकार हुन् । गत वर्ष फ्रान्सेली लेखिका एनी एर्नक्सले नोबेल जितेकी थिइन् । उनी यो पुरस्कार पाउने १७औँ महिला हुन् । (एजेन्सीको सहयोगमा)