१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १७ बुधबार १o:३५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई महानगरले सहयोग गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १o:३५:oo

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग गर्ने नीति अघि सारेको छ । वडासचिवसँगको छलफलका क्रममा महानगरले सोमबार यस्तो प्रस्ताव अघि सारेको हो । 

छलफलमा हाल भएका शौचालयलाई सरसफाइ र नियमित गर्ने, सम्झौता भएकाहरूको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनबारे कुराकानी भएको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख डा. शिवराज अधिकारीले बताए । ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै मानिसको आँखाअघि फोहोरको दृश्य मात्रै आउँछ । अव्यवस्थित ठाउँ दुर्गन्ध, भिड । यसलाई रूपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन–पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने बानीको विकास गर्न सहयोग गर्न लागिएको हो,’ उनले भने । उनले सहरमा हरेक पाँच सय मिटरमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउने महानगरको नीति कार्यान्वयन गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्र्ने बताए । 

इकाइले शौचालयको स्वच्छतासम्बन्धी आचरण विकास गर्न सबै सार्वजनिक शौचालयलाई वर्षको तीनपटक निःशुल्क सफाइका सामग्री उपलब्ध गराउने भएको छ । यसमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हर्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मग, बाल्टिन, साबुन, डोरम्याट आदि हुनेछन् ।

स्वर्णिम योजनाअन्तर्गत स्वच्छ पिउने पानी कार्यक्रमकी सम्पर्क अधिकारी कविता राईले शौचालयको स्वच्छताका लागि डिटोल, रुमाल, रुम स्प्रे, डस्टबिन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान उपलब्ध गराइने बताइन् । वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैंक, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको योजना छ । सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले बनाएको नक्सालाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । 

महानगरभित्र जम्मा एक सय ५० सार्वजनिक शौचालय
काठमाडौं महानगरभित्र जम्मा एक सय ५० वटा सार्वजनिक शौचालय छन् । गुठी र वाटर एड नामक संस्थाले अध्ययन गर्दा महानगरमा एक सय ५० सार्वजनिक शौचालय फेला परेको हो । जसमध्ये सार्वजनिक शौचालयको ३५, मन्दिरमा रहेका २२, सरकारी कार्यालयका पाँच, पार्कमा सात, पेट्रोल पम्पमा ५५, व्यापारिक मलमा १७ र अस्पतालका नौवटा छन् । यीबाहेक काठमाडौं महानगरपालिकाले सार्वजनिक रूपमा आह्वान गरेर महानगर क्षेत्रभित्रका होटेल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघ–संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक–निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरेको थियो । सोअनुसार ३७ संघ–संस्थाले निःशुल्क रूपमा शौचालय प्रयोगका लागि दिएका छन् ।