
सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपतकाल’को सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। तीमध्ये ९० प्रतिशत शरणार्थीको धेरै दिन खानाबिना बितिरहेको राष्ट्रसंघले बताएको छ।
सुडानका सेना प्रमुख अब्देल फत्तह अल–बुर्हान र उनका पूर्वसहायक मोहम्मद हाम्दान दाग्लोप्रति बफादार सेनाहरूबीचको लडाइँका कारण पछिल्लो पाँच महिनामा करिब तीन लाख दक्षिण सुडानी नागरिकहरू घर फर्कन बाध्य भएको राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले बताएको छ।
सो संस्थाका अनुसार यो संकटले पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका कुपोषित हुनुका साथै कम उमेरका पीडितहरूलाई गम्भीर असर पुगेको छ। मध्य अप्रिलदेखि सुरु भएको द्वन्द्वयता कम्तीमा सात हजार पाँच सय मानिसले ज्यान गुमाइसकेका छन्।
हिंसा रोक्ने धेरै युद्धविराम असफल भएका छन्। जसका कारण हजारौँ मानिस सुडानका सीमातिर धकेलिएका छन् भने धेरै क्षेत्रमा मानवीय संकटको त्रास उत्पन्न भएको छ।
दक्षिण सुडानीहरू पहिले नै व्यापक मानवीय आवश्यकताहरूको सामना गरिरहेको मुलुकमा फर्किरहेको डब्लुएफपीले जनाएको छ। ‘आज आइपुगेकाहरू द्वन्द्वको सुरुको साताहरूमा भागेका परिवारभन्दा पनि अझ धेरै कमजोर अवस्थामा छन्,’ डब्लुएफपीले भनेको छ।
विश्वको सबैभन्दा गरिब मुलुकमध्येको एक दक्षिण सुडान सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको थियो। तर, स्वतन्त्र भएको केही समयमै हिंसात्मक द्वन्द्वको चपेटामा पर्दा भर्खरै जन्मेको देश विभाजित हुँदै आघातमा पर्यो।
सन् २०१८ मा औपचारिक रूपमा गृहयुद्ध अन्त्य हुनुभन्दा अघिको पाँच वर्षको रक्तपातमा यो मुलुकमा तीन लाख ८० हजार मानिसको मृत्यु भएको थियो। ६० भन्दा बढी जातीय समूह र एक करोड २० लाख जनसंख्या भएको दक्षिण सुडानले घातक हिंसा, प्राकृतिक विपत्ति र लगातारको राजनीतिक अन्तरविरोधको सामना गरिरहेको छ।
संयुक्त राष्ट्रसंघले रक्तपातलाई प्रश्रय दिएको, राजनीतिक स्वतन्त्रतामा लगाम लगाएको र सार्वजनिक सम्पत्ति लुट्नमा भूमिका खेलेको भन्दै दक्षिण सुडानको नेतृत्वको आलोचना गरेको छ। सन् २०१८ को विश्व बैंकको तथ्यांकअनुसार दक्षिण सुडानमा तेलको ठूलो भण्डार भए पनि पाँचमध्ये चार दक्षिण सुडानी ‘निरपेक्ष गरिबी’मा रहेका छन्।