
पर्साको जगरनाथपुर गाउँपालिका– ५ मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विनको हत्या गरेको अभियोगमा तीनजना पक्राउ परेका छन्।
गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अभियोगमा स्थानीय तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।
मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विनलाई मंगलबार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले उनीहरू घरमा सुरुङ बनाएर घरभित्र प्रवेश गरेका थिए। पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहका अनुसार कान्तिदेवीले चोरी गर्न गएकाहरूलाई चिनेपछि रहस्य खुल्ने डरले सिरानीले मुख थुनेर घाँटी रेटेर रड प्रहार गरी हत्या गरेका थिए।
मृतकका देवर पहिलो चरणको अनुसन्धानमा असोज ७ मा पक्राउ परेपछि उनकै बयानको आधारमा थप दुईजना असोज १४ गते पक्राउ परेका उनले बताए।
प्रहरी उपरीक्षक शाहले हत्या अभियोगमा पक्राउ परेकाहरूको पोलिग्राफ परीक्षण भइसकेको जानकारी दिए। उनीहरूलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।