१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o असोज १६ मंगलबार ११:३२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आठ समूहमा प्रतिवेदनमाथि छलफल, नेतृत्वका लागि दुई गुटको लडाइँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार ११:३२:oo

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन जारी छ। सोमबारदेखि सुरु भएको अधिवेशनअन्तर्गत हाल बन्दसत्र चलिरहेको छ।

सोमबार साँझदेखि पोखरा सभागृहमा सुरु बन्दसत्रमा अध्यक्ष नवराज शर्माले प्रतिवेदन पेस गरेका थिए।  अध्यक्षको प्रतिवेदनपछि कोषाध्यक्षको प्रतिवेदनसमेत पेस भएको थियो। 

दुवै प्रतिवेदन छलफलका लागि प्रतिनिधिबीच आठ समूहमा विभाजन गरिएको पार्टीका प्रचार विभाग सदस्य रामजीप्रसाद लम्सालले जानकारी दिए।

उनका अनुसार निर्वाचन प्रक्रिया सुरु हुँदा करिब चार बज्ने र आजै निर्वाचन समितिले मनोनयन दर्ताको काम सक्नेछ। मनोनयनपछि नेतृत्वमा सर्वसम्मत नभए बुधबार बिहानदेखि मतदान प्रक्रिया सुरु हुनेछ। मतदानका लागि विद्युतीय भोटिङको प्रयोग गरिने लम्सालले जानकारी दिए।  

पेस भएका दुई प्रतिवेदन गहन छलफलपछि समूहगत प्रस्तुति राखिने र सभाले त्यसलाई पारित गरेपछि निर्वाचन प्रक्रिया सुरु हुने लम्सालले बताए। 

अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट छनोट भएर आएका खुला महिला एक सय ९३, खुला तीन सय ९०, दलित एक सय १५, दलित महिला ५४, युवा ५४ र मजदुर १५ जना गरी नाै सय सातजना सहभागी छन्। 

जिल्लागत रूपमा स्याङ्जाका एक सय १३, गोरखाका ५३, कास्कीका एक सय ४६, बागलुङका ७२, पर्वतका एक सय १०, नवलपुरका एक सय नाै, तनहुँका ८२, मुस्ताङका १६, लमजुङका ६५, मनाङका १४, म्याग्दीका ४२ र जनसंगठनका ८६ जना प्रतिनिधि रहेका छन्।

अधिवेशनले निर्वाचन प्रक्रियामार्फत पदाधिकारी र सदस्य गरी एक सय ६५ जना निर्वाचित गर्नेछ भने निर्वाचनपछि १० प्रतिशत मनोनीत हुनेछन्। प्रदेश कमिटीको संख्या एक सय ८० को हाराहारीमा रहने बताइएको छ। 

नेतृत्वका लागि दुई गुटको लडाइँ

यसअघि सोमबार सम्पन्न उद्घाटन समारोहमा पार्टीका महासचिवसँगै अन्य केन्द्रीय नेताहरूले सम्बोधनका क्रममा सहमतिका आधारमा नेतृत्व चयन गरी देशभर एकताको सन्देश दिन आग्रह गरेका थिए। 

उनीहरूले मिसन ०८४ लाई ख्याल गरी आ–आफ्नो तह र तप्काबाट काम गर्न आग्रहसमेत गरेका थिए।

तर, नयाँ नेतृत्वका लागि गण्डकीमा पार्टीका उपमहासचिव लमजुङका पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य कास्कीका खगराज अधिकारी पक्ष गुटकको लडाइँ छ। 

दुवैजना पार्टी अध्यक्ष ओलीनिकट हन् । केन्द्रमा सम्बन्ध राम्रोजस्तो देखिए पनि प्रदेशमा भने उनीहरूले आफ्नो स्वार्थअनुकूल आफ्नो शक्ति देखाउने थलोको रूपमा पार्टीलाई लिँदै आएका छन्। यसअघि सम्पन्न पार्टीका जिल्ला अधिवेशनको निर्वाचन होस् वा ०७९ सालमा सम्पन्न तीन तहको निर्वाचनमा होस् दुई पक्षकाे लडाइँ छताछुल्ल भएको थियो।

दुवै पक्ष नेतृत्व कसरी आफनो पक्षमा हत्याउने भन्नेमा लागेका छन्। नेतृत्वका लागि दुवै पक्ष आ–आफ्नो प्यानल बनाउने तयारीमा लागेका छन्।

प्रदेशका अध्यक्षका लागि हाल नौजना दाबेदार देखिएका छन्। हालका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्यसँगै केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, रामशरण बस्नेत र कृष्ण थापासँगै स्याङ्जाका सोभियत ढकाल छन्।

अध्यक्षका आकांक्षीमध्ये शर्मा, रेग्मी, दवाडी गुरुङ पक्षका हुन् भने आचार्य, अधिकारी, पहारी, बस्नेत र थापा अधिकारी पक्षमा लागेका छन्। 

प्रतिनिधि छनोटअघि अधिकारी पक्षमा थापा मात्र देखिएका थिए, तर हाल समीकरण परिवर्तनसँगै गुरुङ गुटमा रहेका भनिएका आचार्य, अधिकारी, बस्नेत र पहारी हाल उनको साथ छाडेर अधिकारी गुटमा लागेका छन्। 

अध्यक्षका लागि नौजनाले इच्छा जाहेर गरे पनि अन्तिममा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने लगभग पक्काजस्तै छ। 

दुवैजनाले आ–आफ्नो पक्ष बलियो रहेको दाबी गरेका छन्। यसैगरी सचिवमा गुरुङ पक्षबाट दवाडी र अधिकारी पक्षबाट आचार्य उठ्ने लगभग पक्काजस्तै देखिएको  छ।

गुरुङ र अधिकारी पक्षसँगै गण्डकीको निर्वाचनमा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल र किरण गुरुङको भूमिकाले पनि केही प्रभाव पार्नेछ। 

निर्वाचन भइहाले किरण गुरुङ पक्षले कसलाई सहयोग गर्छ भन्ने यकिन छैन। पृथ्वी सुब्बा र किरणको सम्बन्ध पनि त्यति राम्रो छैन। 

विष्ट र अर्याल पक्षले यसअघि पृथ्वी सुब्बा पक्षलाई सहयोग गर्ने आकलन गरे पनि हाल परिवर्तन भएको समीकरणपछि कसलाई सहयोग गर्छन् त्यही पक्ष बलियो हुने ती नेताको भनाइ छ। हालको अवस्था हेर्दा कसकाे पक्ष भारी छ भन्ने आकलन गर्न सक्ने अवस्था भने छैन।
 
प्यानल बनाएर निर्वाचनमा जान नपाइने 

दुई पक्षले आ–आफ्नो प्यानल बनाउने अवस्था देखेपछि प्यानल बनाएर निर्वाचनमा जान नपाइने निर्णय पार्टीले गरेको छ। एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने जानकारी दिए।