१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिसमक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेस

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा सोमबार आयोजित समारोहबीच वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

आयोगका अनुसार गत आर्थिक वर्ष ०७९–८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ। प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन्।

गत आवमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय पाँच उजुरी परेको थियो। साथै, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका सात हजार एक सय ६२ उजुरीसहित कारबाही गर्नुपर्ने २८ हजार ६७ उजुरी थिए।

प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला (स्थानीय तहसमेत)सँग सम्बन्धित ३५.९५ प्रतिशत छन्। साथै, शिक्षा (स्थानीय तहसमेत) १४.५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित ४.१४ प्रतिशत र स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ३.१२ प्रतिशत उजुरी छन्। 

आयोगका अनुसार भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ४.१० प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित ३.५८ प्रतिशत र पर्यटन, उद्योग तथा वाणिज्यसँग सम्बन्धित २.७१ प्रतिशत उजुरी परेका छन्।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित २.५८ प्रतिशत, खानेपानी तथा सहरी विकाससँग सम्बन्धित २.५१ प्रतिशत, अर्थ मन्त्रालयसँग सम्बन्धित १.८९ प्रतिशत, कृषि तथा पशुपन्छी मन्त्रालयसँग सम्बन्धित १.५२ प्रतिशत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित १.०३ प्रतिशत उजुरी परेको आयोगको भनाइ छ।

त्यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ६.०२ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन ७.१२ प्रतिशत र अन्य निकाय- क्षेत्रसँग सम्बन्धित उजुरी ३.०९ प्रतिशत छन्।

गत आवमा परेका कुल उजुरीमध्ये १८ हजार सात सय ९९ अर्थात् ६६.९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्योट भएका छन्। जसमध्ये एक हजार एक सय ३३ उजुरीउपर विस्तृत अनुसन्धान गरिएको आयोगले जनाएको छ। सात हजार आठ सय ६९ उजुरी तामेली गरिएको र एक सय ५२ उजुरीउपर सुझावसहित तामेली गरिएको छ।

आयोगका अनुसार नौ हजार छ सय ४५ उजुरीउपर आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ।