
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका– १ डन्डाबाट असोज १४ गते सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरू भारतको महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत– २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु.२च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरूको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्राेत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका राजु कौशलको साथमा नाै लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा एक लाख रुपैयाँ फेला परेको डिएसपी थापाले बताए ।
पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ भने उल्लेखित रुपैयाँ र दुईवटै भ्यान भने राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको छ ।