
नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अधिवेशन १५ र १६ असोजमा पोखरामा हुँदै छ। नयाँ नेतृत्व चयन गर्ने अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट चयन भएका नाै सय १० प्रतिनिधि सहभागी हुँदै छन्।
हाल प्रदेशका ११ जिल्लामा गरी पार्टीका ६५ हजार पाँच सय संगठित सदस्य रहेका छन् । तीनै सदस्यबाट अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गरिएको पार्टीका प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए।
अधिवेशनले निर्वाचन प्रक्रियामार्फत पदाधिकारी र सदस्य गरी एक सय ६५ जना निर्वाचित गर्नेछ भने निर्वाचनपछि १० प्रतिशत सदस्य मनोनयन गरिनेछ। प्रदेश कमिटीको संख्या एक सय ८० को हाराहारीमा रहनेछ । हाल कमिटीको संख्या पाँच सय ५९ जना रहेको छ।
अधिवेशनका लागि पालिका अर्थात् हरेक निर्वाचन इकाइ (क्षेत्र)बाट न्यूनतम तीनजना, एक सय पार्टी सदस्यबराबर एकजना र हरेक एक सयपछि एकजना थप, हरेक सातौँ नम्बरमा ४० वर्षमुनिको युवा छनाेट गरिएको हो। उत्पीडित क्षेत्रबाट ६० पार्टी सदस्यबराबर एकजना, हरेक ६० पछि थप एकजना, मजदुर क्षेत्रमा ५० सदस्यबराबर एकजना, प्रत्येक जनसंगठनबाट तीनजनाका दरले प्रतिनिधि छनाेट गरिएको उपसचिव रश्मी आचार्यले जानकारी दिए।
प्रतिनिधि छनाेट गर्दा हरेक क्षेत्रबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएको उनको भनाइ छ। प्रतिनिधि छनाेटका लागि दुई–चार प्रतिशत मात्र मतदान भएको र अन्य सबै सहमतिका आधारमा भएको उनले जानकारी दिए।
अध्यक्षका आठ दाबेदार
प्रदेश अध्यक्षका लागि हाल आठजना दाबेदार देखिएका छन्। हालका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्यसँगै केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, रामशरण बस्नेत र कृष्ण थापाले अध्यक्ष बन्नका लागि दौडधुप सुरु गरेका छन्।
आठमध्ये शर्मा, रेग्मी, दवाडी र आचार्यले अध्यक्षका लागि देखिने गरी तयारी सुरु गरिसकेका छन् भने अन्यले भित्री रूपमा आफ्नो ढंगले लागेका छन् । उनीहरूले पार्टी केन्द्रमा आ–आफ्नो तरिकाले लबिङसँगै नजिकका नेताहरूलाई आ–आफ्नो पक्षमा माहोल बनाउन पहल गर्न अनुरोध गरेका छन्।
उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीको शक्ति परीक्षण हुने
प्रदेश अधिवेशनको निर्वाचनमा पार्टीका उपमहासचिव लमजुङका पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य कास्कीका खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुनेछ। दुवैजना पार्टी अध्यक्ष ओली निकट हन्।
केन्द्रमा सम्बन्ध राम्रोजस्तो देखिए पनि प्रदेशमा भने उनीहरूले आफ्नो स्वार्थअनुकूल आफ्नो शक्ति देखाउने थलोको रूपमा पार्टीलाई लिँदै आएका छन्। यसअघि सम्पन्न पार्टीका जिल्ला अधिवेशनको नर्वाचन होस् वा ०७९ सालमा सम्पन्न तीन तहको निर्वाचनमा होस्, दुई पक्षले लडाइँ छताछुल्ल भएको थियो।
विशेष गरी पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कसको पक्षको हुने भन्ने लडाइँ पोखरादेखि केन्द्रसम्म छताछुल्ल भएको थियो। पोखराको मेयरका लागि गुरुङ पक्षका दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि उनले पाएको टिकट खोसेर अधिकारीले अन्तिम समयमा आफ्नो पक्षका कृष्ण थापालाई उम्मेदवार बनाउन सफल भएका थिए।
गुरुङ पक्षका पौडेलले टिकट पाएपछि अधिकारी पक्षले १० वर्षअघि पोखराको एक सुन पसलबाट पौडेलले सुनको सिक्री चोरी गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही भिडियोको कारण पार्टी केन्द्रले पौडेलले पाएको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको थियो। तर, थापा पराजित भएका थिए। थापालाई हराउन गुरुङ पक्षले भित्री रूपमा प्रयास गरेकाे थियाे भने केही नेतालाई जोडेर गरिएका फोन संवादहरूसमेत सार्वजनिक भएका थिए।
समग्र गण्डकीको कुरा गर्दा पार्टीमा अधिकारीभन्दा गुरुङ पक्ष बलियो मानिन्छ। अध्यक्षका आकांक्षीमध्ये शर्मा, रेग्मी, दवाडी गुरुङ पक्षका हुन् भने आचार्य, अधिकारी, पहारी र थापा अधिकारी पक्षका हुन्। बस्नेत भने हाल कतै खुलेका छैनन्।
प्रतिनिधि छनाेटअघि अधिकारी पक्षमा थापा मात्र देखिएका थिए। तर, हाल गण्डकीमा समीकरण परिवर्तन भएको छ। गुरुङ गुटमा रहेका भनिएका आचार्य, अधिकारी र पहारीले हाल उनको साथ छाडेर अधिकारी गुटमा लागेको बताइन्छ।
हाल सरसरर्ती बाहिरी रूपमा हेर्दा अधिकारीभन्दा गुरुङ पक्ष बलियो रहेको देखिए पनि आन्तरिक समीकरणका कारण अधिकारी पक्ष बलियो देखिन आएको नाम नबताउने सर्तमा एक नेताले बताए। उनले भने, ‘गण्डकीमा यसअघिको जस्तो अवस्था छैन, हाल समीकरण धेरै परिवर्तन भएको छ। त्यो देख्न अब एक दिन पर्खिँदा हुन्छ। आफैँ थाहा पाउनुहुन्छ।’
हाल प्रदेशको पदाधिकारीमा रहेका सबै अध्यक्षका दाबेदार रहेका र उनीहरूमध्ये अधिकांश गुरुङ पक्षका रहेकाले अध्यक्षका लागि हालका पदाधिकारीहरूले गुट परिवर्तन गरेको ती नेताले जिकिर गरे। आफूलाई जता जाँदा फाइदा हुने देखिन्छ सोहीअनुसार गुट परिवर्तनको काम भएको उनको भनाइ छ।
गुरुङ र अधिकारी पक्षसँगै गण्डकीको निर्वाचनमा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल र किरण गुरुङको भूमिकाले पनि केही प्रभाव पार्नेछ। निर्वाचन भइहाले किरण गुरुङ पक्षले कसलाई सहयोग गर्छ भन्ने यकिन छैन। पृथ्वी सुब्बा र किरणको सम्बन्ध पनि त्यति राम्रो छैन। विष्ट र अर्याल पक्षले यसअघि पृथ्वी सुब्बा पक्षलाई सहयोग गर्ने आकलन गरे पनि हाल परिवर्तन भएको समीकरणपछि कसलाई सहयोग गर्छन् त्यही पक्ष बलियो हुने ती नेताको भनाइ छ।