Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
२०७६ बैशाख १५ आइतबार ११:०४:००
मुख्य समाचार

दुई हजार परिवार ठूलीभेरी नदीको उच्च जोखिममा

२०७६ बैशाख १५ आइतबार ११:०४:००

आठबीसकोट नगरपालिका–४ छरेबगरकी मनकुमारी विकलाई रातभरि राम्ररी निन्द्रा पर्दैन । आफ्नो घर कतिवेला ठूलीभेरीको बगरमा परिणत हुने हो भन्ने चिन्ताले सधैँ उनलाई सताइरहन्छ । आठबीसकोट–६ त्रिवेणीका मोती बोहराको समस्या पनि मनकुमारीको जस्तै छ । ‘नदी–किनारामा बस्ने हाम्रो जीवन सधैँ त्रासमै बित्ने भयो,’ उनले भने, ‘कुन वेला भेरीले बस्तीलाई बगरमा परिणत गर्ने हो भन्ने डर सधैँ लागिरहन्छ ।’ 

रुकुम पश्चिम र जाजरकोटको ठूलीभेरीआसपास घर भएका परिवार ढुक्कले सुत्न–बस्न सकेका छैनन् । यस क्षेत्रका करिब दुई हजार परिवार भेरी नदीको उच्च जोखिम क्षेत्रमा छन् । रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सीमाक्षेत्रमा पर्ने त्रिवेणी बजारदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म बसोवास गर्ने स्थानीयले बर्सेनि नदी कटानको समस्या झेल्दै आएका छन् ।

आठबिसकोट र नलगाडमा बढी समस्या
नदी कटानको समस्या रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकामा बढी छ । यस क्षेत्रका झन्डै दुई हजार परिवार नदी कटानको उच्च जोखिममा छन् । आठबीसकोट ४, ५, ६, ११, १३ र १४ तथा नलगाड नगरपालिकाका एक दर्जनभन्दा बढी टोल भेरी नदीको उच्च जोखिममा रहेको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए । 

नदीवारि पर्ने आठबीसकोट–४ को छरेबगर, ५ को जलिगार र घिम्तरा, ६ को त्रिवेणी, मन्काबगर, दामाचौर र ज्यामिरे, ११ को चौर र गतसैना, १३ को भल्मा र रिठा तथा १४ को छेपारे, पिपलचौरलगायतका टोल भेरीको जोखिममा रहेका केसीले जानकारी दिए । 

उनका अनुसार नदीपारि पर्ने जाजरकोटको नलगाड नगरपालिकाको औलगुर्ता, खातीगुर्ता, मन्मैतरा, दल्ली, कालीमाटीलगायत एक दर्जनभन्दा बढी टोल पनि भेरीको जोखिममा छन् । ‘रुकुम र जाजरकोटपट्टी बराबरजस्तो घर नदीको उच्च जोमिमा छन्,’ केसीले भने ।

जाजरकोट–डोल्पा सडकले जोखिम बढ्यो
केही वर्षअघिसम्म यी बस्तीमा ठूलीभेरी नदीको खासै जोखिम थिएन । स्थानीयका अनुसार जाजरकोट–डोल्पा सडक निर्माणका क्रममा ठूलो मात्रामा ढुंगा, माटो नदीमा खसेपछि नदीले धार परिवर्तन ग¥यो । जसको मारमा अहिले नदी किनारामा बस्ने स्थानीयवासी परेका छन् ।

‘सडक निर्माणका क्रममा खसेको ढुंगामाटोले नदीको धार परिवर्तन भयो,’ नगरप्रमुख केसीले भने, ‘जसको प्रत्यक्ष मार अहिले नदीआसपास बस्ने स्थानीयले व्यहोरिरहेका छन् ।’ वातावरणीय प्रभाव मूल्यांकनविनै सडक खन्दा यस्तो अवस्था आएको उनले बताए । ‘यस वर्ष नदीमा आउने बाढीबाट बस्ती जोगिन मुस्किल छ,’ केसीले भने । 

कटान रोक्न माग गर्दै नगरपालिका घेराउ
नदी कटान रोक्न माग गर्दै स्थानीयले आठबीसकोट नगरपालिका र ४ नम्बर वडा कार्यालय घेराउ गरेका छन् । 

स्थानीयले एकपटक नगरपालिका र तीनपटक वडा कार्यालय घेराउ गरेका आठबीसकोट–४ का वडाध्यक्ष डिलबहादुर सार्कीले बताए । स्थानीयले तारजालीको व्यवस्था गरेर नदी कटान रोक्न माग गर्दै आएका छन् । तर, नगरपालिकाकाले तारजालीको समेत व्यवस्था गर्न सकेको छैन । 

 नगरपालिकासँग बजेट अभाव
आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसी नगरपालिकाको स्रोतबाट मात्र नदी कटान रोक्न सम्भव नभएको बताए । ‘यो वर्ष नदी कटान रोक्न कम्तीमा पनि ५० लाख रुपैयाँ भन्दा बढी बजेट आवश्यक पर्छ,’ केसीले भने, ‘५० लाख रुपैयाँ नगरपालिकाले छुट्याएको छ । बाँकी बजेट नगरपालिकाले व्यवस्था गर्न सक्दैन । अन्य क्षेत्रबाट बजेट व्यवस्था भए नदी कटान रोक्न सकिन्छ।’ नदी नियन्त्रणका लागि प्रदेश र केन्द्रमा जानकारी गराइएको उनले बताए । नदीलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न करोडौँ रुपैयाँ लाग्ने उनको भनाइ छ ।