
कोरोनाका कारण सन् २०२० र ०२१ मा अत्यधिक मारमा परेको नेपालको पर्यटन उद्योग सन् २०२२ मा उत्साहप्रद देखियो । कोरोनाअघि सन् २०१९ मा १२ लाखको हाराहारी पुगेको पर्यटक संख्या बीचको दुई वर्ष ह्वात्तै घटेकामा सन् २०२२ सम्ममा ६ लाख नाघ्यो । देशमा आर्थिक मन्दीका कारण कैयौँ व्यापार व्यवसाय सुस्ताएको अवस्थामा पर्यटन क्षेत्रमा भने गत आर्थिक वर्ष र चालू वर्ष पनि नेपालका धेरैजसो तारेहोटेलले राम्रै नाफा गरे । काठमाडौं उपत्यकाछेउछाउका कैयौँ रिसोर्ट तथा होटेल आन्तरिक पर्यटककै कारण फस्टाए । यसबाहेक दक्षिणी सीमानजिकका होटेल, रिसोर्ट पनि भारतीय पर्यटकका कारण गुलजार रहेको देख्न, सुन्नमा आए । यही खुसीकै क्रममा थप दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएपछि थप उत्साहित पर्यटन व्यवसायीहरू नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट आशातीत अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराश पनि भए ।
आशा–निराशा
२०१९ हालसम्मकै सर्वाधिक बढी पर्यटक भित्रिएको वर्ष हो । यो वर्ष हवाईमार्ग भएर करिब १० लाख र सडकमार्ग भएर दुई लाख पर्यटकले नेपाल भ्रमण गरे । तत्पश्चात् दुई वर्षसम्म कोरोनाको असरले थला परेको पर्यटन उद्योगले सन् २०२२ मा आएर पुनः गति लिन थाल्यो । यसैबाट उत्साहित भई नेपालको पर्यटन उद्योगमा नयाँनयाँ लगानी थपिँदै गए ।
तारेहोटेललगायत अन्य पर्यटकीय आवास बढ्दै गए । काठमाडौंको एक स्थापित होटेल व्यवसायीका अनुसार अहिले भएका र बन्दै गरेका नयाँ होटेलहरूको हिसाब गर्ने हो भने नेपालमा वार्षिक ३० देखि ४० लाख पर्यटक आउनुपर्ने हुन्छ । अन्यथा, आपसी प्रतिस्पर्धाका कारण व्यवसायीहरूले विगतमा अन्नपूर्ण, शेर्पा, ब्लुस्टार तथा नारायणी होटेलहरूकै नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
नेपालजस्तो भूपरिवेष्टित देशको एक मात्र विकल्प भनेको पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल हो र त्यो निजगढमा मात्र सम्भव छ । तर, विमानस्थल बन्नु मात्रै ठूलो कुरा होइन भन्ने कुरा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देखाइसकेको छ ।
विगतका वर्षमा नेपालमा झन्डै ८५ प्रतिशत पर्यटक हवाईमार्ग भएर आउने गरेको देखिन्छ । १० वर्षको तथ्यांक विश्लेषण गर्दा प्रतिअन्तर्राष्ट्रिय उडानबाट औसत ११९ यात्रु आउने गरेको र सोमध्ये सरदर ४४ जना यानेकि कुल यात्रुमध्ये ३७ प्रतिशत पर्यटक हुने गरेको यथार्थ देखिन्छ ।
हाल तारेहोटेलहरूमा भएका लगानी तथा पूर्वाधारको आधारमा नेपालमा ३० लाख पर्यटक भिœयाउने आधार, पूर्वाधार तथा व्यवस्थापन क्षमता केलाउने हो भने ३० लाखमध्ये २५ लाखभन्दा बढी पर्यटक अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने अनुमान गर्नुपर्ने हुन्छ । जुन हाल नेपालमा सञ्चालित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलले धान्न सक्ने अवस्था छैन । दश लाख पर्यटक भित्रिँदा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो महसुस भइसकेको थियो । हुन त अहिले त्रिभुवन विमानस्थलको विस्तार कार्य जारी छ । तैपनि, अर्को धावनमार्ग बन्न सक्ने सम्भावना नभएको हुँदा धेरै आशावादी हुने ठाउँ छैन । यसबाहेक पनि विज्ञहरूको विचारमा विगतका घटना, दुर्घटनाहरू केलाउने हो भने त्रिभुवनमा धेरै उडान ल्याई थप भार पर्न दिनु बुद्धिमानी मानिँदैन ।
विगतको तथ्यांकलाई आधार मान्ने हो भने २५ लाख पर्यटक ल्याउन कम्तीमा ५० हजार (हालको भन्दा तीन दोबर) अन्तर्राष्ट्रिय उडान भित्रिनुपर्ने हुन्छ । प्रत्येक अन्तर्राष्ट्रिय उडानले त्यहीअनुरूप कम्तीमा थप तीन आन्तरिक उडान सिर्जना गर्ने अनुमान गर्ने हो भने त्यसले स्वाभाविक रूपमा विमानस्थलहरूमा थप भार पर्न जान्छ । हालको तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू जोडेर पनि त्यति उडान धान्न सक्ने अवस्था छैन ।
विकल्प के ?
यी तथ्यले के देखाउँछ भने नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको एक मात्र विकल्प भनेको पूर्ण क्षमताको (फुल फ्लेज्ड) अन्तर्राष्ट्रिय विमानस्थल हो र त्यो निजगढमा मात्र सम्भव छ । तर, विमानस्थल बन्नु मात्रै ठूलो कुरा होइन भन्ने कुरा हामीलाई गौत्तमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देखाइसकेको छ । त्यसैले छिमेकीसँग प्रवेशमार्गका लागि कूटनीतिक पहल जारी राख्न पनि त्यतिकै जरुरी छ । भूपरिवेष्ठित मात्र होइन, आकाश परिवेष्ठित हुनु र त्यसमाथि पनि छिमेकी सकारात्मक नहुँदा हामी हरेक कुरामा पछि परेका छौँ । यसबाट स्पष्ट हुन्छ, देशमा अपार पर्यटकीय सम्भावना भएर पनि हाम्रो प्रमुख बाधा भनेकै पहुँच (एसेसिबिलिटी)को समस्या हो ।
जबसम्म देशमा युरोप अमेरिकादेखिका लामो दूरी (लङ हल) उडानहरू निर्बाध रूपमा सञ्चालन हुन सक्ने विमानस्थलको अभाव हुन्छ, तबसम्म नेपाली हवाई सेवा सहज र सुलभ हुन सक्दैन । यही कारण देशमा हाल भएका अन्तर्राष्ट्रिय विमानस्थलका माध्यमबाट देशमा बृहत्तर पर्यटन (मास टुरिज्म)को सपना देख्न सम्भव छैन ।
वायुयानको भारवहन क्षमता विमानस्थलको उचाइ, भौगोलिक स्थिति, धावनमार्गको लम्बाइ र सतहको तापक्रमले निर्धारित गर्ने हुँदा ठूला वायुयान (वाइड बडी)ले काठमाडौंबाट फुल लोड लिएर लामो दूरीको उडान गर्न सम्भव हुँदैन । उसले कि त यात्रु कम बोक्नुपर्ने हुन्छ, कि त इन्धन कम भर्नुपर्ने हुन्छ । यही कारण हवाईभाडा पनि महँगो पर्न जान्छ । नेपाल वायुसेवा निगमले वाइड बडीबाट काठमाडौंदेखि सिड्नी उडान गर्ने हो भने तेल भर्नकैे लागि बीचमा अर्को विमानस्थलमा अवतरण नगरी उपाय नै छैन ।
यसबाहेक पर्यटन भन्नाले होटेल र विमानस्थल मात्र होइन, देशभित्रै पर्यटकीय उपज, स्वच्छ पर्यावरण तथा अन्य पूर्वाधारको विकास, उपयोग र नियमनलगायत पर्यटकहरूको सेवा, सुविधा, मनोरञ्जन तथा आवागमनका लागि स्तरीय सञ्जालजस्ता कैयौँ प्रश्नहरू पनि उठ्ने गर्छ ।
हामी कहाँ छौँ ?
हाल नेपालमा पनि क्षेत्रीय विमानस्थलहरूको विकास र विस्तार कार्यमा व्यापक काम भइरहेको छ, तापनि त्यहाँबाट पर्यटक भित्रिने अवस्था छैन । अन्य मुलुकको विकास र उन्नतिसँग तुलनापश्चात् मात्र हामीलाई आफ्नो यथार्थ ज्ञात हुन्छ । भारत र चीन दुई विशाल राष्ट्र्बीच अवस्थित हाम्रो देशले दुई छिमेकी मुलुकले उड्डयन र पर्यटनमा गरेको प्रगति देख्दा हामी धेरै पछि परेको महसुस हुन्छ ।
भिजन २०४० फर सिभिल एभिएसनअन्तर्गत भारतमा सन् २०२२ मा १७ करोड पुगेको हवाईयात्रुलाई सन् २०४० सम्ममा एक अर्बभन्दा बढी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ । सन् २०४० सम्ममा नयाँ विमानस्थलहरू निर्माणका लागि जग्गा अधिग्रहणबाहेक ४० देखि ५० अर्ब अमेरिकी डलर खर्च गर्ने लक्ष्य राखी गुजरातमै थप नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थल र आन्ध्र प्रदेश, केरला, पञ्जाब, चेन्नाई र अयोध्यामा थप एक–एक नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ ।
मुम्बईको नाभीमा बन्दै गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२४ को डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य छ । त्यस्तै, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई सम्बोधन गर्ने उद्देश्यका साथ निर्माण हुँदै गरेको नोइडाको अन्तर्राष्ट्रिय विमानस्थल पनि सन् २०२४ को अन्तसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य छ । पुणेमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलका साथै कोलकाता र कर्णाटकमा पनि थप एक–एकवटा विमानस्थल बन्दै छन् ।
यता, संयुक्त राज्य अमेरिकालाई उछिनेर विश्वको सबभन्दा ठूलो हवाई उद्योग बन्ने होडमा लागेको उत्तरी छिमेकी चीनमा पनि चालू विमानस्थलहरूको विस्तार र थप नयाँ विमानस्थलको निर्माण कार्य निरन्तर जारी छ । त्यहाँ बर्सेनि छ–सातवटा थप नयाँ विमानस्थल सञ्चालनमा आउनु सामान्य भइसकेको छ । देशलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्दै लाने क्रममा चीनमा थप २०० नयाँ विमानस्थल निर्माण गरी सन् २०३५ सम्ममा ४५० पु¥याउने लक्ष्य छ । यस्तै, सांघाईमा तेस्रो विमानस्थल बन्दै छ भने ग्वांगझाउ र चेंग्दुमा पनि अर्को थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै छन् ।
सन् २०१८ मा १० करोड यात्रु आवागमन भएको बेइजिङको क्यापिटल इन्टरनेसनल एयरपोर्ट छँदाछँदै बेइजिङमै अर्को चारवटा धावनमार्गसहितको विशाल बेइजिङ डाक्सिन इन्टरनेसनल एयरपोर्ट सञ्चालनमा आएको छ ।
निष्कर्ष
देशमा आन्तरिक तथा बाह्य पर्यटनको विकासकै कारण छिमेकी मुलुकहरूमा अभूतपूर्व रूपमा विकास हुँदै गएको उड्डयन र पर्यटन हेर्दा त्यहाँबाट उछिटिएको (स्पिल ओभर इफेक्ट) मात्र पनि नेपालका लागि पर्याप्त हुने देखिन्छ । तर, ती सम्भावना दोहन गर्ने क्षमता नेपाली विमानस्थलहरूमा छैन ।
छिमेकी देशमा कैयौँ विशाल अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहँदा कुनै समस्या नहुने, तर नेपालमा भने देशको भविष्यको रूपमा लिने गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा थालिएको २५ वर्ष भइसक्दा पनि अघि बढ्न नसक्नुमा के अब हामीले गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छैन ? आज सेप्टेम्बर २७ का दिन प्रकृति र पर्यावरणलाई महत्व दिँदै विश्वभर मनाइँदै गरेको विश्व पर्यटन दिवसको अवसरमा हामी पनि पर्यावरणलाई जोड दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरौँ भन्ने नारा उद्घोष गरौँ ।
(मानन्धर नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्)