
इजरायल र साउदी अरबबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासले गति लिएको छ । अमेरिकी मध्यस्थतामा इजरायलसँग वार्तामा बस्न सहमत भएको साउदी अरबको एउटा प्रतिनिधिमण्डल मंगलबार प्यालेस्टिनी क्षेत्रमा आइपुगेको छ । जोर्डनबाट भूमार्ग हुँदै प्रतिनिधिमण्डल जेरिको आइपुगेको हो । साउदी प्रमण्डलले इजरायली भूमि हुँदै प्यालेस्टिनी क्षेत्रमा तीन दशकपछि पहिलोपटक प्रवेश गरेको हो ।
प्यालेस्टिनी क्षेत्रका लागि साउदी गैरआवासीय राजदूत नाइफ अल–सुदैरीको नेतृत्वमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र प्यालेस्टाइनका शीर्ष कूटनीतिज्ञ रियाद अल–मलिकीलाई भेट्ने कार्यक्रम छ । जोर्डनका लागि साउदी अरबका राजदूत सुदैरीलाई गत महिना प्यालेस्टिनी क्षेत्रको पनि जिम्मेवारी दिइएको हो । उनी जेरुसेलमका लागि ‘कन्सुलेट जनरल’ पनि हुन् । मध्यपूर्वमा दिगो शान्ति कायम गर्ने अमेरिकी सक्रियताको परिणमस्वरूप साउदी प्रमण्डलको भ्रमण भएको हो । इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले सन् १९९३ मा भएको ओस्लो सम्झौता कार्यान्वयनको एक हिस्साका रूपमा पनि यो भ्रमणलाई लिइएको छ ।
इजरायलले सन् २०२० मा संयुक्त अरब इमिरेट्स(युएई), बहराइन र मोरक्कोसँग सम्बन्ध स्थापना गरेकामा साउदीले प्यालेस्टिनी द्वन्द्व समाधान नभएसम्म कूटनीतिक रूपमा अघि नबढ्ने बताउँदै आएको छ । यद्यपि रियादले जेरुसलेमसँग सम्बन्ध स्थापनाको सिलसिलालाई भने अघि बढाएको छ । केही दशकअघिसम्म साउदी अरबले इजरायलको अस्तित्व स्विकार्दैनथ्यो । अहिले अमेरिकाको मध्यस्थताले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रयास भइरहेको छ ।