Skip This
एमाले बागमती अधिवेशन : आरक्षण कोटामा चार दर्जन युवा उम्मेदवार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ९ मंगलबार १७:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बागमती अधिवेशन : आरक्षण कोटामा चार दर्जन युवा उम्मेदवार

निवर्तमान सदस्यहरु पनि युवा समूहबाट प्रतिस्पर्धामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १७:१७:oo

नेकपा एमालेको सोमबारबाट सुरु भएको बागमती प्रदेशको प्रथम अधिवेशनमा करिब चार दर्जन युवाले प्रदेश कमिटीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

एमालेले केन्द्रीय सर्कुलरमार्फत सबै तहका कमिटीमा युवाको संख्या बढाउने नीति कार्यान्वयनमा ल्याएपछि बागमतीको प्रदेश अधिवेशनमा १६ देखि ४० वर्षभित्रका युवा समूहबाट चार दर्जनभन्दा बढी आकांक्षी देखिएका हुन्।

एमालेले कमिटीको संख्याको अनिवार्य रूपमा १० प्रतिशत युवालाई छुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित गराउनुपर्ने बाध्यकारी व्यवस्था कार्यान्वयनमा ल्याएको छ। भदौ तेस्रो साता सम्पन्न लुम्बिनी अधिवेशनबाट पनि १० प्रतिशत १६ देखि ४० वर्ष युवा समूहका युवाहरू निर्वाचित भएका छन्। बागमतीमा पनि २४० सदस्यीय प्रदेश कमिटीमा युवाको अलग्गै निर्वाचन क्षेत्र मानेर २४ जना युवा निर्वाचित गराउने गरी निर्वाचन आयोगले तयारी गरेको छ।

‘युवा, महिलाहरूको छुट्टै निर्वाचन समूहबाट प्रतिनिधित्व हुने गरी निर्वाचित गराइनेछ,’ निवर्तमान प्रदेश अध्यक्ष केशव पाण्डेले भने। अधिवेशनमा निर्वाचन हुँदा प्रतिस्पर्धाका लागि १३ जिल्लाबाट चार दर्जन युवाले उम्मेदवारी दिने गरी तयारी सुरु गरेका छन्। आज राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल सकेर बुधबार बिहानबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने तयारी छ।

यसरी आकांक्षा राख्नेहरूमा अहिले प्रदेश कमिटीमा रहेका ४० वर्षमुनिका युवादेखि विद्यार्थी पृष्ठभूमिको राजनीतिबाट भर्खरै बिदा भएकाहरूको संख्या उल्लेख्य छ। निर्वतमान प्रदेश कमिटी सदस्य सन्तोष खड्का, उमेश आचार्य र रज्जन केसीले युवा समूहबाट उम्मेदवारी दिने तयारी गरेका छन्। अनेरास्ववियु पृष्ठभूमिका खड्का निवर्तमान सदस्य तथा बागमती प्रदेशको विद्यार्थी फाँट इन्चार्ज छन्। त्यस्तै, केसी पनि निवर्तमान प्रदेश सदस्य हुन् भने आचार्य अनेरास्ववियुको उपाध्यक्ष हुँदै अघिल्लो सम्मेलनमा महासचिवमा प्रतिस्पर्धा गरेर बाहिरिएका थिए।

‘पार्टीले युवालाई अगाडि बढाउन प्रोत्साहनको नीति लिनु धेरै राम्रो कुरा हो, यो नीतिलाई कार्यान्वयनमा लगेर योग्य, सक्षम र पेसागत रूपमा पनि अब्बल नयाँ पुस्ताका युवालाई आकर्षित गर्ने दिशामा अगाडि बढेर पार्टीलाई बलियो बनाउनुपर्छ,’ उम्मेदवारीको तयारीमा रहेका बागमतीका विद्यार्थी फाँट इन्चार्ज खड्काले भने, ‘पार्टी कमिटीलाई गतिशील र क्रियाशील बनाउँदै एमालेले लिएको मिसन ०८४ को लक्ष्य पूरा गर्ने दिशामा सिंगो पार्टीपंक्ति एकताबद्ध भएर क्रियाशील हुन जरुरी छ।’

त्यस्तै, यो समूहबाटै अनिल श्रेष्ठ, विष्णु तामाङ, लक्ष्मण गुभाजु, पूर्णिमा खरेल, सन्तोष पौडेल, सन्तोष राना क्षेत्री, जेनिश तामाङ, प्रदीप शर्मा, सुजन कार्की, कृष्ण मोक्तान, सबिता आचार्यलगायतले आकांक्षा राखेर प्रतिस्पर्धाका लागि तयारी गरेका छन्।

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशव पाण्डे, सानुकुमार श्रेष्ठ र कृष्णभक्त पोखरेलले आकांक्षा राखेका छन्। तर, सहमतिको सम्भावना क्षीण बन्दै गएकाले ढुंगेल, पाण्डे र दाहालमध्ये दुईजनाबीच प्रतिस्पर्धाको तयारी छ।