
जवाफदेहिताको माग गरेर आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन्।
थापा राष्ट्रिय सभागृहको गेटमा उभिइरहेका ईः भएको स्थानमा पुगेर उनीसँगै उभिएका थिए। सो क्रममा उनले अभियन्ता ईःले उठाएका मुद्दा जायज रहेका भन्दै समर्थन जनाए।
‘मलाई बालेन मन पर्छ, मलाई ईः मन पर्छ। ईःले उठाएका मुद्दा जायज छन्,’ थापाले भने, ‘सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन, तर राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ।’
थापासँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मतजंग भण्डारी, किसान संगठनका महासचिव जनक फडेरालगायतको उपस्थिति रहेको थियो।