
सेयर कर्जाको सीमा बढाउन धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सक्रियता देखाएका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै उनले नीतिगत सहजताका लागि पहल गरेका हुन् ।
खासगरी सेयर धितो कर्जामा १२ करोडसम्मको सीमा खुकुलो बनाउन गभर्नरलाई सुझाव दिएको अध्यक्ष हमालले बताए । उनले भने, ‘अहिलेको संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जाको सीमा पनि बढाउनुपर्ने र व्यक्तिगत लगानीकर्ताको हकमा पनि केही न केही रूपमा बढाएरै बजारको आत्मविश्वास बढाउनुपर्छ भन्नेमा छलफल केन्द्रित थियो ।’
गभर्नर अधिकारीले यस विषयमा आफू गम्भीर रहेको र टिमसँग छलफल गरेर निर्णय लिने बताएको अध्यक्ष हमालको भनाइ छ । गभर्नर अधिकारीले पनि पुँजी बजारका समग्र अवस्थाबारे छलफल गरेको बताए । उनले भने, ‘उहाँले (सेबोनका अध्यक्ष) भेन्चर क्यापिटल र निजी इक्विटीको सन्दर्भमा सेबोनका पहलहरूका विषयमा जानकारी गराउनुभयो । भेट फलदायी नै रह्यो । द्विपक्षीय भेटले निर्णय गर्ने कुरा आएन ।’
अर्थमन्त्री प्रकाशशरण महतले समेत सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने विषयमा गभर्नर अधिकारीलाई भेटेर छलफल गरिरहेका छन् । उनले यस्तो सीमा बढाएर १८–२० करोड पुर्याउनुपर्ने बताएका थिए ।