Skip This
एसियाड : तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Saturday, 27 July, 2024
२o८o असोज ८ सोमबार १३:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियाड : तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १३:२५:oo

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा पदकको आशा गरिएको खेल तेक्वान्दोमा नेपालका दुईजना खेलाडी पराजित भएका छन्। हाङझाउ सहरको लिनान स्पोर्टस्  कल्चर एन्ड एक्जिबिसन सेन्टरमा सोमबार नेपालको स्पर्धा थियो।

तेक्वान्दोमा निराशाजनक प्रदर्शन गरेको दिनमा अञ्जली तामाङले मिश्रित प्रदर्शन गरिन्। महिला ४९ केजीमुनि केजी तौल समूहमा अञ्जली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएकी छिन्। उनले महिला ४९ केजीमुनि पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रीलाई पराजित गरेकी थिइन्।

पहिलो चरण दुवै खेलाडीबीच निकै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अञ्जलीले दोस्रो राउन्ड उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले कम्बोडियाकी खेलाडीलाई दोस्रो चरणमा मौका नदिई १०–४ को स्कोर गर्दै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेकी थिइन्। तर, अञ्जलीले क्वार्टरफाइनल प्रवेशको खेलमा थाइल्यान्डकी पानिपक वोङपातसँग प्रतिस्पर्धा गरिन्।

आफूभन्दा निकै सशक्त खेलाडी पानिपकविरुद्ध अञ्जलीले गतिलो खेल्न सकिनन्। उनी दुवै चरणमा नराम्रोसँग पराजित भइन्। अञ्जली पानिपकबाट पहिलो चरणमा  १२–० र दोस्रो चरणमा १०–० ले पछि परिन्।

यसैगरी, पुरुषतर्फको ५८ केजीमुनि तौल समूहमा नेपालका राहुल कुमार साउदी अरेबियाका रियाद नासेर हम्दीसँग सहज रूपमा पराजित भए । साउदीका खेलाडी नासेरले नेपालका कुमारलाई १२–४ र २–० ले हराउँदै क्वार्टरफाइनल स्थान पक्का गरे ।

यसअघि तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

यससँगै एसियाडको इतिहासमा सर्वाधिक सफल मानिएको तेक्वान्दोले १९औँ संस्करणमा कमजोर सुरुवात गरेको छ। नेपालले समग्रमा अहिलेसम्म एसियाडमा एक रजत र १३ कांस्य हात पारेको छ। एसियाडमा नेपाललाई पहिलो रजत दिलाउने खेल नै तेक्वान्दो हो। सन् १९९८ को बैंकक एसियाडमा सविता राजभण्डारीले नेपाललाई ऐतिहासिक रूपमा रजत दिलाएकी थिइन्। दीपक विष्टले एसियाडमा ब्याक टु ब्याक कांस्य जितेका थिए। उनले सन् २००२ को बुसान र २००६ को दोहा एसियाडमा कांस्य हात पारेका थिए।

एसियाडमा लगातार दुई संस्करणमा कांस्य जित्ने उनी मात्र एक्लो नेपाली खेलाडी हुन् । तेक्वान्दोले २००६ यता पदक हात पारेको छैन । २०१० को ग्वान्झाउ, २०१४ को इन्चोन र २०१८ को जकार्ता एसियाडमा नेपाल तेक्वान्दोबाट पदकविहीन भएको थियो।