Skip This
नेपाल–चीन बिजनेस समिट : चिनियाँ लगानी र पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रको संयुक्त पहल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o८:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल–चीन बिजनेस समिट : चिनियाँ लगानी र पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रको संयुक्त पहल

प्रधानमन्त्री प्रचण्डद्वारा नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आह्वान, चिनियाँ बैंक खोल्न एफएनसिसिआई अध्यक्ष ढकालको आग्रह

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:o७:oo

नेपालमा चिनियाँ लगानी र पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले संयुक्त प्रयास गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा सरकार–सरकार (जिटुजी) तथा व्यवसायी–व्यवसायी (बिटुबी)का द्विपक्षीय भेटवार्ता एवं छलफलमा नेपाली प्रतिनिधिले चिनियाँ लगानी विस्तार र पर्यटक आगमन वृद्धिमा जोड दिएका हुन् । 

यसैबीच नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्फकाे निर्यात सहजीकरण गर्न दुवै सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी)ले आइतबार संयुक्त रूपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा दुवैतर्फका उच्चपदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् ।

द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ व्यसवायीलाई आह्वान गरे । उनले नेपालमा  लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । नेपालमा धेरै क्षेत्र लगानीका लागि आकर्षक रहेको उल्लेख गर्दै उनले त्यसबाट लाभ लिन आह्वान गरे । उनले नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए । कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवद्र्धनमा सरकार सधैँ तत्पर रहेको बताए । 

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्रीले औँल्याए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ थियो ।

लगानी बढाउन तयार छौँ  :  चिनियाँ उपमन्त्री
सिसिपिआइटीको मुख्यालय बेइजिङमा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर ली फिईले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । उनले नेपालमा चिनियाँले लगानी बढाइरहेको उल्लेख गर्दै त्यसलाई अझ विस्तार गर्ने बताए । भाइस मिनिस्टर ली फिईले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए ।  

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको वताउँदै द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने उनले बताए ।

नेपालमा लगानी बढाउन ढकालको आग्रह
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन र बैंक स्थापना गर्न चीनलाई आग्रह गरे । उनले लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताउँदै त्यसमा निजी क्षेत्रका तर्फबाट साथ रहेको उल्लेख गरे । 

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँदै लगानी गर्न आग्रह गरे । पछिल्लो समय केबलकार, थिम पार्क रिसोर्टलगायतमा पर्यटन पूर्वाधारमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए ।

नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै ढकालले नेपाललाई गन्तव्यको प्राथमिकतामा राख्न पनि चीन सरकारलाई आग्रह गरे । विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको अध्यक्ष ढकालले बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै उनले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए । उनले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताए । चिनियाँ बैंक शाखाका रूपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने पनि उनले बताए ।

महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरे । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए । 

समिटमा एक सय २० चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० जना उद्यमी–व्यवसायी सहभागी थिए । उक्त समिटपूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।

द्विपक्षीय छलफल र समझदारी 
यसअघि महासंघ र सिसिपिआइटीका पदाधिकारीबीच द्विपक्षीय छलफलसमेत भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल–चीन लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो । समिटका क्रममा आइएमई समूहले सिएएमसी इन्जिनियरिङ कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ । यसैगरी, चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससँग पनि सम्झौता गरेको छ ।  

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गरिने
नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्न दुई देशका निजी क्षेत्रबीच समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको अवसरमा नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच यस्तो समझदारी भएको हो । समझदारीपत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सिसिपिआइटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन् ।

नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुईजना प्रतिनिधि हुनेछन् । परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल–चीनबीच व्यावसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी भित्रयाउन नेपाल–चीन व्यावसायिक परिषद् महत्वपूर्ण माध्यम बन्ने बताए । 


नेपालमा लगानी सम्मेलन गर्ने सहमति
नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बिटुबी वार्तामा चेम्बर र सिसिपिआइटीबीच नेपालमा संयुक्त रूपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो । 

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । सिसिपिआइटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए । 

नेपाल–चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सिसिपिआइटीसँग भएको लगानी सम्मेलनसम्बन्धी सहमति महŒवपूर्ण भएको बताए । नेपालमा पूर्वाधार विकास, पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए । 

ad
ad