१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Sunday, 11 May, 2025
२o८o असोज ७ आइतबार १७:२७:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० चित्रकार सहभागी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १७:२७:oo

खोटाङको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेल बजारमा यही असोज १७ गतेदेखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सञ्चालन हुँदै छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले पाँचदिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ गर्न लागिएको हो।

नगरपालिकाको विभिन्न ठाउँमा आयोजना हुने चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, अमेरिका, जापान, लाटभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारतलगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरूको सहभागिता हुने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

लाइभ चित्रकला कार्यशालाले जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्त्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने दाबी गरिएको छ।

नगरपालिकाले विनियोजन गरेको रु १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ। चित्रकारले उतारेका पेन्टिङलाई राखेर असोज २० गते दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय कलाकारहरूको नृत्य प्रदर्शनलगायतका कार्यक्रम गर्ने तयारी गरिएको आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

चित्रकारले क्यानभासमा उतारेका चित्रलाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर उच्चपदस्थ व्यक्तिमार्फत उद्घाटन गराएर प्रदर्शनीको आयोजना गर्ने तयारी गरिएको नगर प्रमुख भट्टराईले बताए। चित्रकला कार्यशालामा तयार पारिएका क्यानभासलाई संग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ।

लाइभ चित्रकला कार्यशाला एवं प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्त्वसहितका तस्बिरहरू प्राथमिकीकरण गरिसकिएको छ। जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरिएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलका तस्बिरहरू संकलन भइसकेको नगरपालिकाले जनाएको छ।