मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज ४ बिहीबार ०९:४१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मिटरब्याजको झमेला- ‘१५ लाख ऋण दिएर ७४ लाख असुली’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज ४ बिहीबार ०९:४१:००

भक्तपुर गट्ठाघरकी राधादेवी श्रेष्ठ (५९ वर्ष) ले चिनजानका व्यक्तिबाट ऋण सापटी लिँदा आफू ठगिएको बताएकी छिन् । उनले एकपटक १५ लाख ऋण लिँदा ७४ लाख र अर्कोपटक ४० लाख ऋण लिँदा ८० लाख तिर्नुपरेको दाबी गरेकी छिन् । उनले आफूबाट मिटरब्याज असुलेको भन्दै जिल्ला प्रशासनमा पनि उजुरी दिएकी छिन् । 

कोभिड–१९ संक्रमणका वेला आर्थिक अभाव भएर कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुगेपछि चिनजानकै व्यक्ति कल्पना पराजुली र केशव तिमल्सिनासँग सापटी लिँदा ठगिन पुगेको श्रेष्ठको भनाइ छ । उनी कान्तिपुर टेक्निकल कलेजकी सञ्चालक हुन् । ‘शिक्षकलाई तलब खुवाउन पैसा नभएपछि मैले केशव र कल्पनासँग १५ लाख रुपैयाँ मागेँ,’ उनले सुनाइन्, उनीहरूले मलाई धितोस्वरुप ३१ लाखको चेक लेखिदिन भने, अरू धितो केही चाहिँदैन, तर सहकारीले भन्दा व्यक्तिले बढी ब्याज लिन्छ भनेका थिए ।’ राधादेवीले ब्याज तिर्न सहमत भएर २१ माघ ०७८ मा ३१ लाखको एनआइसी एसिया बैंकको चेक केशव र कल्पनालाई थमाएकी थिइन् । ‘केही दिनपछि उनीहरूले मलाई थप पैसा चाहिएको भए अझै अन्य व्यक्तिबाट खोजिदिन्छौँ भनेर आश्वासन दिए, मलाई ऋणको भार थियो, त्यसैले हुन्छ भनँे,’ राधादेवीले भनिन्, ‘मैले १५ लाख लिएकोमा विभिन्न मितिमा नगद र चेक गरी उनीहरूले ७४ लाख उनीहरूले असुली गरिसकेका थिए, त्यसपछि ४० लाख लिएकोमा ८० लाख मैले तिरिसकेँ । अझै पनि मलाई चेक अनादर, चेक बाउन्स र नगद दिएको पैसाको रेकर्ड नभएको भन्दै थप पैसा मागिरहेका छन् ।’ 

राधादेवीसँग नगद र चेकको कारोबार गर्दै आइरहेका केशव तिमल्सिनाले आफूहरूलाई राधादेवीले लिएअनुसारको पैसा नदिएको दाबी गरे । ‘मसँग लगेअनुसारको पैसा फिर्ता भएको छैन, सुवास रानाभाट, महेश श्रेष्ठ र सुमित कार्कीलाई उहाँले पैसा फिर्ता दिनुभएको होला । तर, त्यसबारे थाहा भएन,’ उनले भने, ‘मैले त आफ्नो फसेको पैसा फिर्ता नपाएर त्यसको माग गरेको हुँ, उहाँले हामीलाई उल्टै अन्यायमा पार्नुभएको छ ।’ पैसा सापटी दिएकी महिला कल्पना पराजुलीले भने आफूहरूले राधादेवीबाट थप रकम माग गरेको नभई सापटी दिएको रकम मात्रै माग गरेको बताइन् । 

तिमल्सिनाले सुवास रानाभाट, महेश श्रेष्ठ र सुमित कार्कीमार्फत पैसा लिने गरेको राधादेवीको आरोप छ । उनले यस विषयमा छानबिन गर्नका लागि ३ भदौमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरीसमेत दिएकी छिन् । आफूमाथि धम्की, त्रास र निरन्तर डर देखाएर असुरक्षित पारेको भन्दै राधादेवीले गएको साउन १८ मा जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग शान्तिसुरक्षासमेत माग गरेकी थिइन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले श्रेष्ठले उजुरी दिएको बताए । ‘उहाँले दुई–तीनपल्ट आएर सुरक्षा माग गर्नुभएको छ । मिटरब्याज ठगीमा पनि मुद्दा दर्ता गराउनु भएको छ,’ उनले भने, ‘दुवै पक्षलाई राखेर वार्ता गराउने प्रयासमा छौँ ।’