मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ३ बुधबार १०:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो असोज अन्तिम साता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ३ बुधबार १०:३०:००

‘दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८०’ असोज अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेसनल एक्स्पोे आइएनसीले भृकुटीमण्डपमा २६ देखि २९ असोजमा मेला आयोजना गर्न लागेको हो ।  

एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धनगर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत परिचित गराई विश्व बजारमा निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुइँकटहरलगायतका प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए । 

त्यस्तै, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्री पनि एक्सपोमा प्रदर्शनी तथा बिक्री गरिने संयोजक अधिकारीले बताए । 

यसका साथै पस्मिना, स्टोन, माला, क्युरियोको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइपहरू, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेन्ड मेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरूबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू जस्तै, होटेल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रूपमा रहने आयोजकले उल्लेख गरेको छ । एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशहरूबाट पाँच सयजनाभन्दा बढी विदेशी क्रेताहरू आउने आयोजकको दाबी छ ।