१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको केन्द्रीय बैठकअघि शेखर–गगन समूहको भेला : सभापति एकलौटी चलेको निष्कर्ष, सशक्त आवाज उठाउने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४७:oo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको ठीकअघि संस्थापनइतरको शेखर–गगन समूहले भेला गरी पार्टी सभापतिको कार्यशैलीको पुनः आलोचना गरेको छ । मंगलबार बसेको भेलाले पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी सभापति शेरबहादुर देउवा पुनः एकलौटी चल्न खोजेको भन्दै आलोचना गरेको हो । भेलाले पार्टी नेतृत्वको एकलौटी कार्यशैलीका विरुद्धमा केन्द्रीय कार्य समिति बैठकमा सशक्त रूपमा प्रस्तुत हुने निष्कर्ष निकालेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ४ असोजमा काठमाडौंमा बस्दै छ । 

भेलामा इतरसमूहका नेता शेखर कोइरालाले नै सभापति देउवा एकलौटी अघि बढ्न खोजेको भन्दै आलोचना गरेका थिए । उनले केन्द्रीय समितिमा सभापतिको सो कायैशैलीको सशक्त विरोध गर्न सहभागीहरूलाई आह्वान गरेका थिए । 

‘सभापतिज्यू पार्टीमा छलफल नगरी एकलौटी चल्न खोजेकाले हामीले यसको विरोध गर्नुपर्छ भन्ने धारणा नेता कोइरालाले राख्नुभयो,’ भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘कोइरालाले केन्द्रीय कार्य समितिमा देश र पार्टीको अवस्था देशको समसामयिक राजनीतिक विषय र पार्टीका समस्यालाई जोडतोडसँग उठाउन तथा पार्टी नेतृत्व र सरकारलाई दबाब पुग्ने गरी प्रस्तुत हुन आह्वान गर्नुभयो ।’

नेता दिलेन्द्रप्रसाद बडूका अनुसार बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा र इतरको रणनीतिबारे भेलामा छलफल भएको थियो । ‘केन्द्रीय कार्यसमिति बैठक, बैठकको निर्णय कार्यान्वयनको अवस्था, पार्टीलाई थप क्रियाशील बनाउने र आगामी कार्यदिशाबारे छलफल भयो,’ उनले नयाँ पत्रिकासँग भने । बैठकअघि साझा धारणा बनाउन बालुवाटारमा बसेको भेलामा पनि नेता कोइरालाले महामन्त्री गगन थापालगायतका पदाधिकारी र केन्द्रीय सदस्यलाई पार्टी नेतृत्वलाई दबाब पुग्ने गरी सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए । 

केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलका अनुसार आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा भ्रातृ संस्थालाई विधिसम्मत बनाउन, इतरको उपस्थिति र भूमिका बढाउन, अनुशासनको कारबाहीलाई समान बनाउन आवाज उठाउने विषयमा चर्चा भएको थियो । यस्तै, भ्रष्टाचार अन्त्यका लागि कांग्रेसले चलाउनुपर्ने अभियान, क्षेत्रीय र प्रदेश कार्य समितिका मनोनयन तथा सरकारका कार्यशैलीलगायतलाई बैठकमा उठाउनेबारे छलफल भएको थियो । 

‘कांग्रेसले नै भ्रष्टाचारको अभियान रोकेको सन्देश गयो भन्ने आवाज बैठकमा उठ्यो । भ्रष्ट्राचारका विषयलाई कांग्रेसले अभियानका रूपमा अगाडि बढाउनुपर्ने र पार्टी र देशमा समस्यालाई बैठकमा जोडतोडले उठाउने भन्ने भयो,’ पोखरेलले भने । केन्द्रीय समिति बैठकअघि डा. कोइरालाले इतरको भूमिका सशक्त बनाउन टिम बिल्डिङको रणनीति थालेका छन् । 

भेलामा आएनन् शर्मा र पौडेल 
भेलामा आमन्त्रण गरिएका महामन्त्री विश्वप्रका शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी भएनन् । पौडेल चीन भ्रमणका कारण बैठक उपस्थित भएका थिएनन् । नेता कोइरालाले पूर्वनिर्धारित कार्यक्रमका कारण पौडेल बैठकमा सहभागी हुन नसकेको जानकारी गराएका थिए । पौडेलको सचिवालयका अनुसार बुधबार चीनमा हुने कार्यक्रममा सहभागिताका लागि मंगलबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । महामन्त्री शर्मा भने नेपालमै भए पनि सहभागी भएनन् । बैठकअघि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बैठकमा सहभागी नहुने संकेत गरेका थिए । 

महामन्त्री शर्माले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भन्दै महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् । उनले नीति अधिवेशनबाट नीति र नेतृत्वको विषय टुंगो लगाउनुपर्ने उल्लेख गरेका छन् । ‘दलहरूमा फरक विचार र समूह हुनु स्वाभाविक हो । कांग्रेसमा पनि यो छ ।  तर, अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयप्रति सजग छु र रहनेछ,’ महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

भेलाका सहभागीहरूले शर्मा र पौडेलको अनुपस्थितिबारे प्रश्न उठाएका थिए । जवाफमा महामन्त्री थापाले महामन्त्री शर्मासँग थप छलफल गरेर समूहमा ल्याउने प्रयास निरन्तर रहेको बताएका थिए । ‘अब शेखर कोइराला र महामन्त्री शर्मालाई सँगै राखेर छलफल गर्छौँ र अर्को बैठकमा सहभागी हुने वातावरण बनाउन लागिपर्नेछौँ । समूहमा ल्याउने प्रयास निरन्तर छ,’ थापाले भनेका थिए । 

ad
ad