मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २ मंगलबार
  • Thursday, 27 August, 2026
२o८o असोज २ मंगलबार १४:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गमका अस्पतालमा स्वास्थ्यकर्मी न औषधि, नागरिकलाई उपचारकै पिरलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १४:१५:oo

बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ (साबिकको बिच्छया गाविस)की दीपकली बुढालाई सुत्केरी व्यथाले सतायो। जसोतसो गाउँघरका युवा जुटेर हुम्लाको सिमाना हुँदै बाजुराको धुलाचौरसम्म उपचारका लागि ल्याउने क्रममा उनको बिच बाटोमै ज्यान गयो।

यसअघि सोही गाउँकी २३ वर्षकी पानसरी बुढा र २१ वर्षकी पानसरी सुनारको पनि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हिमाली गाउँपालिका–३ युनाका प्रवर्द्धन बुढाले स्मरण गरे। गाउँमा सुत्केरी हुन नसकेपछि हुम्ला हुँदै बाजुरा जिल्लाको कोल्टी लैजाने क्रममा उनीहरू दुवैको बाटोमै मृत्यु भएको थियो। युना गाउँबाट बिरामीलाई कोल्टी लैजान दुई दिन पैदल हिँड्नुपर्छ।

बिरामी परेपछि समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनेमा यी तीनजना पछिल्ला केही उदाहरण मात्रै हुन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकालगायत अन्य ग्रामीण क्षेत्रका आमनागरिकहरूको पीडा यस्तै छ। दुर्गम विकट बस्तीहरूबाट सदरमुकाम मार्तडी ल्याउँदै गर्दा धेरै बिरामीले अकालमै ज्यान गुमाएका छन्।

युना गाउँमा सामुदायिक स्वास्थ्य इकाई त छ, तर यहाँ न नियमित कर्मचारी बस्छन् न त आवश्यक औषधि नै पाइन्छ। बिच्छ्या स्वास्थ्यचौकीसम्म पुग्न पैदल एक घण्टा पूरा लाग्ने स्थानीय गोरख बुढाले दुःखेसो गरे। सामुदायिक स्वास्थ्य इकाइमा नियमित स्वास्थ्यकर्मी नबस्दा युना गाउँकी जसुना बुढालाई स्ट्रेचरम बोकेरै हुम्लाको ताजाँकोटस्थित मैला स्वास्थ्यचौकी पुर्‍याएको स्थानीय पर्वलाल रोकायाले बताए। जसुना बुढा ७ दिन घरमै थला परेपछि बोकेरै बाजुराबाट हुम्ला ल्याएर उपचार गरेको रोकायाले उल्लेख गरे।

‘बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्रसम्म पुग्न दुई दिन पैदल हिँड्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘हुम्ला जिल्लाको ताजाँकोट गाउँपालिका नजिकै छ। बिरामी हुँदा उपचार हुम्लाबाट पाउँछौँ।’

हिमाली गाउँपालिका– ३ बौढीका नागरिक सामान्य रुघाखोकी लाग्दासमेत गाउँमा सिटामोल नपाएपछि हुम्लाको ताजाँकोट गाउँपालिका– ३ को मासपुर सामुदायिक स्वास्थ्य इकाइबाट सेवा सुविधा लिँदै आएको स्थानीय गोरख रोकायाले बताए। ‘बाजुराका नागरिक भए पनि उपचारका लागि हुम्ला पुग्नुपर्ने बाध्यता छ। मासपुर सामुदायिक स्वास्थ्य इकाइ हाम्रो लागि सहज भएको छ,’ रोकायाले भने।

बाजुराको युना सामुदायिक इकाइमा स्वास्थ्यका कर्मचारी भेट्नै मुस्किल पर्छ। हिमाली गाउँपालिकाको बिच्छया, नेटा,  बाम, रुम्दी, युना र बौढी गुम्बाका नागरिकहरू बिरामी पर्दा उपचार पाउनबाट वञ्चित भएका छन्।