Skip This
एसिया कपका सात दृश्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o असोज २ मंगलबार o६:१७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया कपका सात दृश्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार o६:१७:oo

१६औँ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त एकपक्षीय रूपमा भयो । भारतले आयोजक श्रीलंकालाई हराउँदै आठौँपटक ट्रफी उचाल्यो । पाँच वर्षपछि उपाधि जित्दा भारतले पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई स्मरणीय बनायो । उपाधि दाबेदार पाकिस्तान सुपर फोरको अन्तिम खेलमा श्रीलंकासँग इनिङ्सकै अन्तिम बलमा पराजित भयो । प्रतियोगितामा डेब्यु गरेको नेपालले विश्व क्रिकेटकै ध्यान तान्न सफल भयो ।

क्रिकेट इतिहासमा पहिलोपटक एसिया कपकै माध्यमबाट नेपालले एकदिवसीय र टी–२० विश्वकपका पूर्वविजेता भारत र पाकिस्तानसँग खेल्न अवसर पायो । विश्व क्रिकेटका महारथी राष्ट्रविरुद्ध नेपाल दुवै खेलमा पराजित हुन पुग्यो । तर, नेपाली खेलाडीको प्रदर्शनले भने विश्वभर तारिफ पायो । आसिफ शेख, कुशल भुर्तेल र सोमपाल कामीले खेलेको इनिङ्सले सर्वत्र चर्चा पायो ।

भारतविरुद्ध नेपालको प्रदर्शन 
भारत र नेपालबीच समूह चरणमा भेट भएको थियो । भारतसँगको प्रतिस्पर्धामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्व क्रिकेटकै शक्तिशाली मानिने भारतविरुद्ध नेपालले ४८.२ ओभरसम्म ब्याटिङ गर्दै दुई सय ३० रनको योगफल बनाएको थियो ।

एसिया कपमा भारतविरुद्ध सर्वाधिक रन बनाउने बंगलादेशपछि नेपाल दोस्रो टोली बनेको थियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो पावर प्लेमा ६५ रनको बलियो साझेदारी गरेका थिए । आसिफले ५८ र कुशलले ३८ रन बनाए । आठौँ नम्बरमा क्रिजमा आएका सोमपाल कामीले ४८ रनको योगदान गरेका हुन् । तीव्र गतिका बलर मोहम्मद सिराज र सामीलाई नेपाली ब्याट्सम्यानले खुलेरै स्ट्रोक लगाए । यद्यपि, वर्षाले प्रभावित खेलमा भारत १० विकेटले विजयी भयो । 

भारत–पाकिस्तान खेलाडीको मिलन
एसिया कपमा पाकिस्तान र भारतीय खेलाडीबीचको सम्बन्ध थप राम्रो भयो । दुई देशबीच आन्तरिक विवादका कारण एक–आपसको भूमिमा यी दुवै राष्ट्रका खेलाडीले सिरिज नखेलेको एक दशक भइसकेको छ । एसिया कपमा दुई देशबीच खेलाडीको सम्बन्ध निकै राम्रो देखियो । २ सेप्टेम्बरमा समूह ‘ए’को  भारत र पाकिस्तानबीचको खेल अनिर्णीत भयो । भारतीय कप्तान रोहित शर्मा र पाकिस्तानी कप्तान बाबर आजमले हात मिलाएको दृश्य र फोटो सर्वत्र चर्चामा रह्यो । मोहम्मद सिराज र हरिस राउफबीच मैदानमा राम्रो सम्बन्ध देखियो । भारतका पूर्वकप्तान विराट कोहलीले पाकिस्तानका खेलाडीहरू ह्यारिस, साहिन शाह अफ्रिदी र अलराउन्डर सादब खानसँग मजाले गफ लगाए ।

बुमराहलाई अफ्रिदीको उपहार
प्रतियोगिताको सुपर फोरमा भारत र पाकिस्तानबीच खेल थियो । सुपर फोरअघि नै भारतका मुख्य बलर जसप्रित बुमराह बुबा बनेका थिए । समूह ‘ए’मा नेपालसँग प्रतिस्पर्धा नगरी नै उनी भारत फर्किएका थिए । लगत्तै उनी कोलम्बो फर्किएर प्रशिक्षणमा सहभागी भए । भारतको नेट सेसनपछि मैदानमै पाकिस्तानको अभ्यास कार्यतालिका थियो । अभ्यासका क्रममा पाकिस्तानी तीव्र गतिका बलर अफ्रिदीले बुमराहलाई उपहार दिए । 

ग्राउन्ड स्टाफलाई जमानको सहयोग
भारत र पाकिस्तानबीचको सुपर फोरको खेल दुई दिनसम्म चलेको थियो । वर्षाले खेल प्रभावित हुँदा रिजर्भ डेमा भयो । १० र ११ सेप्टेम्बरमा भएको खेलमा एक दृश्य निकै रोचक बन्यो । पाकिस्तानी ओपनर फखर जमान निकै चर्चामा रहे । उनले खेलका क्रममा वर्षा भएपछि ग्राउन्ड स्टाफलाई सहयोग गरेको क्षण सधैँ सम्झनामा रहनेछ । ग्राउन्ड स्टाफले मैदान छोप्न त्रिपाल तानिरहँदा फखर पनि उनीहरूलाई सहयोग गर्न पुगेका हुन् । त्यो समय अन्य दुवै टोलीका खेलाडी भने पेभिलियनमै थिए । 

पंखाले मैदान सुकाइयो
पाकिस्तान र श्रीलंकाले आयोजना गरेको एसिया कप वर्षाले निकै प्रभावित भयो । केही खेल रद्द भए । भारत र पाकिस्तानबीचको खेल मात्र रिजर्भ डेमा भएको थियो । भारत र पाकिस्तानबीचको सुपर फोर खेल वर्षाले प्रभावित भयो । स्थानीय समयअनुसार ५ बजे सुरु भएको झरी ७ बजेसम्म निरन्तर परिरह्यो । वर्षा रोकिए पनि त्रिपाल हटाउँदा आउटफिल्डको केही भाग भिजेको थियो । यस्तो अवस्थामा आयोजकले इलेक्ट्रिक पंखा र हिटर मैदानमा लगेर भिजेको मैदान सुकाउने प्रयास गर्‍यो । अम्पायरले तीनपटक मैदान निरीक्षण गर्दै खेल रिजर्भ डेमा हुने घोषणा गरे । 

भारतको लगातार तीन खेल
एसिया कपका दौरान भारतीय क्रिकेट टोलीले लगातार तीन दिनसम्म खेल खेल्नुपरेको थियो । भारत र पाकिस्तानबीचको सुपर फोर खेल दुई दिनसम्म चलेको थियो । १० र ११ सेप्टेम्बरमा पाकिस्तानसँग खेलेको भारतले १२ सेप्टेम्बरमा श्रीलंकासँग खेलेको हो । सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदा बंगलादेशसँग पराजित भएको थियो । 

हाल्यान्डको नक्कल गर्दै कोहली
भारत र बंगलोदशबीचको सुपर फोरमा भारत पराजित भयो । खेलमा भारतले पाँच खेलाडीलाई विश्राम दिएको थियो । विश्राम पाउनेमा कोहली पनि थिए । १२औँ खेलाडीका रूपमा रहेका उनले त्यस दिन खेलाडीलाई पानी दिने जिम्मा पाएका थिए । पानी बोकेर मैदानभित्र गएका कोहलीको चर्तिकला निकै रमाइलो थियो । मैदान प्रवेश गर्ने क्रममा बोतल बोक्दै कोहलीले नर्वेका फुटबलर एर्लिङ हाल्यान्डको नक्कल गरे । इंग्लिस प्रिमियर लिगमा हाल्यान्डले गोल गरेपछि गर्ने ‘सेलिब्रेसन’ को नक्कल कोहलीले गरेका थिए ।