Skip This
अपी हिमालको बेसक्याम्पमा पर्यटन दिवस मनाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Saturday, 27 July, 2024
२o८o भदौ ३१ आइतबार १२:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अपी हिमालको बेसक्याम्पमा पर्यटन दिवस मनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १२:o१:oo

पर्वतीय पर्यटनका लागि सुदूरपश्चिमको प्रमुख गन्तव्य दार्चुलास्थित अपी हिमालको बेसक्याम्पमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइने भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र नाटा सुदूरपश्चिमसँगको सहकार्यमा अपी हिमाल गाउँपालिकाले बेसक्याम्पमा औपचारिक कार्यक्रम गरेर पर्यटन दिवस मनाउन लागेको हो।

पर्यटन प्रवर्द्धनका लागि बेसक्याम्पमा मनाइने पर्यटन दिवसमा पर्यटक र सरोकारवालाको सहभागिता रहने गाउँपालिकाले जनाएको छ। बेसक्याम्पबाट भ्रमण वर्ष २०८० को समेत उद्घाटन गरिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहाेराले जानकारी दिए। यसले अपी हिमाल गाउँपालिकाभित्र रहेका सुर्मा भवानी मन्दिरलगायत पर्यटकीय स्थल तथा घरवास, वेशभूषा आदिको प्रचारप्रसारमा समेत टेवा पुग्ने आशा गरिएको उनले बताए।

‘अपी हिमाल सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो, तर प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावले आकर्षक गन्तव्यको रूपमा विकास हुन सकेको छैन,’ अध्यक्ष बोहाेराले भने, ‘अपी हिमाललगायत गन्तव्यहरूको प्रचारप्रसारका लागि बेसक्याम्पमै अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउन लागेका हौँ।’ आगामी १० असोजमा पर्यटन दिवससँगै भ्रमण वर्ष उद्घाटनको तयारी थालिएकोसमेत उनले जानकारी दिए।

भ्रमण वर्षमा आगन्तुकले अपी हिमाल बेसक्याम्प, नाम्पा हिमाल बेसक्याम्प, कालीढुंगा ताल, भय तालको अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ। त्यस्तै, डाँफे, हिमचितुवा, हिमाली संस्कृतिको अवलोकन गर्न सकिने अध्यक्ष बोहाेराले बताए। देशभरमा दार्चुलामा मात्र रहेको र छुट्टै पहिचान बोकेको सौका समुदायको संस्कृति र वेशभूषा पनि पर्यटकले अवलोकन गर्न सक्ने उनले बताए।

‘पर्यटकले अपी हिमाल आरोहणसँगै बेसक्याम्पसम्मको पनि अवलोकन गरेर आनन्द लिन सक्छन्। हिमाली संस्कृति, वेशभूषा र त्यहाँ रहेका ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ,’ अध्यक्ष बोहाेराले भने, ‘पर्यटन दिवस मनाउने दिन अपी हिमाल आरोहणमा जाने टोलीको पनि बिदाइ गर्ने कार्यक्रम छ।’

पर्यटन व्यवसायी मायाप्रकाश भट्ट सुदूरपश्चिममा अपी हिमाल, सैपाल हिमाल, खप्तड, बडिमालिकाजस्ता अमूल्य पर्यटकीय गन्तव्य रहे पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा पर्यटक भित्र्याउन नसकिएको बताए। प्रचारप्रसारसँगै ती क्षेत्रमा न्यूनतम पूर्वाधार निर्माण गर्नेतर्फ ध्यान दिन उनले सरकारलाई आग्रह गरे।

गाउँपालिकाले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा पर्यटन दिवस र भ्रमण वर्षको उद्घाटन कार्यक्रम बेसक्याम्पमा गर्न लागेको हो। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले अपी बेसक्याम्पमै भ्रमण वर्ष मनाउँदा प्रचारप्रसारमा मद्दत पुग्ने बताए। ‘यसले स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन मद्दत पुग्छ,’ मन्त्री धामीले भने।

प्रचारप्रसारको अभावमा सुदूरपश्चिममा रहेका उच्च हिमाली पर्यटकीय गन्तव्यमा पर्यटक भित्र्याउन नसकेको उल्लेख गर्दै उनले प्रदेश सरकारले पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको दाबी गरे। सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमालको रूपमा रहेको अपी हिमालको उचाइ सात हजार एक सय ३२ मिटर छ।