
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी हुन आज न्युयोर्क जाँदै
- ५ असोजमा न्युयोर्कबाट सीधै एसियाली खेल उद्घाटन समारोहमा सहभागी हुन चीन भ्रमणमा जाने, १३ असोजमा स्वदेश फर्किने
भ्रमणका एजेन्डाबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने–हाङझाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी जिनपिङसँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन म १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु । कोभिड महामारीपछि प्रधानमन्त्रीस्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ । भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमानाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५ असोजमा चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे प्रतिनिधिसभालाई शुक्रबार जानकारी दिएका छन् । शुक्रबार नै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी हुन शनिबार न्युयोर्क जान लागेका प्रधानमन्त्री प्रचण्ड समय अभावका कारण स्वदेश आउन नसकी त्यहीँबाट चीन जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले हाङझाउ, बेइजिङ, ल्हासा पुगेर उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, छोरी गंगा दाहाल, परराष्ट्रका चीन हेर्ने सहसचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख सुरेन्द्र यादवलगायत हुनेछन् ।
समकक्षी ली छियाङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एसियाली खेल उद्घाटन समारोहमा सहभागी हुने, त्यहीँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्ने र बेइजिङ पुगेर समकक्षीसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीले नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक नेपालका प्रधानमन्त्रीलाई बेइजिङबाहिर भेट्न लागेका छन् । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच शिष्टाचार भेट हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणका एजेन्डाबारे पनि सदनलाई जानकारी गराएका छन् । ‘हाङजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी जिनपिङसँग भेटघाटको कार्यक्रम रहेको छ,’ प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा भने, ‘सोही दिन म १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु ।’
प्रधानमन्त्री प्रचण्डले ८ असोजमा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने तय भएको छ । ‘कोभिड महामारीपछि प्रधानमन्त्रीस्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ,’ प्रचण्डले संसद्मा भने, ‘भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमानाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।’
प्रचण्डले नेपाल र चीनबीच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको बताएका छन् । ‘हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको छ,’ प्रचण्डको भनाइ छ, ‘भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल–चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्न प्रयास गर्ने पनि प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । ‘दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्रीको भनाइ छ ।
कोरोना महामारीपछि र नेपालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीस्तरबाट चीनको भ्रमण हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले छोटो समयको अन्तरका कारण न्युयोर्कबाट चीन जानुपर्ने भएको पनि प्रस्टीकरण दिएका छन् । अमेरिका र चीनबीच सम्बन्ध चिसिएका वेला प्रधानमन्त्री प्रचण्ड स्वदेश आएरै चीन जानुपर्ने सुझाव आइरहेका वेला उनले समयका कारण न्युयोर्कबाट जान लागेको बताएका छन् ।
‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सीधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो,’ प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रस्टीकरण दिँदै भने । उनले ४ असोजमा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै छन् ।
अमेरिकाको औपचारिक भ्रमणमा नभएर संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन जाने भएकाले त्यहाँबाट चीन भ्रमणमा जानु अस्वाभाविक नहुने सरकारी अधिकारीहरूको भनाइ छ । ‘चीनसमेत सुरक्षा परिषद्को स्थायी मुलुक भएको हुँदा त्यो कार्यक्रममा सहभागी भएर चीन भ्रमण गर्नुलाई अस्वाभाविक रूपमा लिइनुहुँदैन,’ एक उच्च सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । बेइजिङमा भेटवार्ता सकेर प्रधानमन्त्री प्रचण्ड छोङछिङ महानगरपालिकाको भ्रमणमा जानेछन् । छोङछिङले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको छ । प्रधानमन्त्री प्रचण्डले त्यहाँस्थित छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हासा जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड १० देखि १२ असोजसम्म ल्हासामा हुनेछन् । प्रचण्ड त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेर १३ असोजमा सिचुआन प्रान्तको राजधानी छेन्दु हुँदै स्वदेश फर्किने कार्यक्रम छ । तिब्बतको ल्हासाबाट हाल काठमाडौंको प्रत्यक्ष उडान नभएका कारण उनी छेन्दु हुँदै फर्किनेछन् ।
राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनका विषयवस्तु के ?
प्रधानमन्त्री प्रचण्ड न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाको सत्रमा भाग लिन आज त्यसतर्फ जाँदै छन् । सभामा प्रधानमन्त्री प्रचण्डले नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा भएका प्रयासबारे सम्बोधन गर्न लागेको जानकारी गराएका छन् ।
यस वर्षदेखि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चमा धारणा राख्नुपर्ने जिम्मेवारी आएको उनले बताए । ‘नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने,’ प्रधानमन्त्रीले भने, ‘अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्यराष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरूलगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।’
उनले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीलगायतका विषयमा साइडलाइन वार्ता गर्ने कार्यक्रम छ । भ्रमणका लागि सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।