
एसिया कप २०२३ अन्तर्गत सुपर फोरको अन्तिम खेलमा बंगलादेशले फाइनल प्रवेश गरिसकेको भारतलाई ६ रनले पराजित गरेको छ ।
श्रीलंकाको कोलम्बोमा आज भएको म्याचमा प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशले सान्त्वना जित हासिल गरेको हो ।
सट जितेर भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले कप्तान सकिब अल हसनको ८० रन र तौहित हृदोयको ५४ रनको मद्यतमा भारतसामु जितका लागि दुई सय ६६ रनको लक्ष्य राखेको थियो ।
मध्यम लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा दुई सय ५९ रनमा अलआउट हुन पुग्यो । भारतीय ओपनर सुवमन गिलले एक सय ३३ बलमा एक सय २१ रन बनाए पनि भारतलाई जित दिलाउन सकेनन् ।
४८.४ ओभरमा ४२ रन बनाएका अक्षर पटेल आउट भएपछि भारत जितबाट टाढिएको थियो । त्यसै ओभरमा भारतले सार्दुल ठाकुरलाई पनि गुमाएको थियो ।
एसिया कपमा बंगलादेशले भारतविरुद्ध १३ वर्षपछि जित निकालेको हो । बंगलादेशको जितमा मुस्तफिजुर रहमानले ३, हसन सकिव र महेदी हसनले दुई–दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङमा उत्रिएको बंगलादेशले ६९ रनभित्र चार विकेट गुमाइसकेको थियो । संकटपूर्ण अवस्थामा कप्तान हसनले ८० रनको कप्तानी इनिङ खेलेपछि बंगलादेशले भारतसामू मध्यम लक्ष्य राखेको थियो ।
अब एसिया कप २०२३ को उपाधिका लागि भारत र सहआयोजक श्रीलंका भिड्नेछन् । हिजो भएको रोमाञ्चक म्याचमा पाकिस्तानलाई अन्तिम बलमा पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान बनाएको हो ।