१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिकित्सक कुटपिट प्रकरण : कालोपट्टी बाँधेर विरोधमा धादिङका चिकित्सक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:३४:oo

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धादिङ अस्पतालका चिकित्सकले विरोध सभा गरेका छन्।

हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै कालोपट्टी बाँधेर एक घन्टा ओपिडी बन्द गरी दोषीलाई कारबाहीको माग गरिएको हो।

चिकित्सकमाथि हातपात गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने धादिङ अस्पतालका डाक्टर रुद्रमणि भण्डारीले बताए। ‘ड्युटीमै रहेका चिकित्सक कुटिएका छन् । मरणासन्न अवस्थामा पुर्‍याइएको छ । कानुन छ, नेपाल मेडिकल काउन्सिल छ । दोषीलाई कारबाही गर्न हाम्रो ऐक्यबद्धता हो,’ उनले भने, ‘हातमा कालोपट्टी बाँधेरै सेवा दिइरहेका छौँ।’

सन्चो अस्पतालमा कार्यरत डाक्टरहरू सन्तोष थापा र प्रशान्त बिडारीको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तले भदौ २७ गते बुधबार कुटपिट गरेका थिए। उक्त सांघातिक आक्रमणको निन्दा गर्दै ओपिडी बन्द गरी कालोपट्टी बाँधेर विरोध गरिएको डाक्टर राम रिजालले बताए। ‘अहिलेलाई अस्पतालमा सेवा ठप्प पार्दैनौँ । तर, दोषीलाई कारबाही नभए चरणबद्ध रूपमा आन्दोलन गरिनेछ। त्यतिवेला सेवाग्राहीलाई असर पर्न गए हामी क्षमा चाहन्छौँ,’ उनले भने । 

चिकित्सकमाथि हातपात हुने गरेको यो घटना नयाँ होइन । ठाउँठाउँमा हुने गरेका यस्ता घटनाप्रति निन्दा गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन र दोषीलाई कारबाहीको मागमा ऐक्यबद्धता जनाउन विरोध सभा गरिएको डाक्टर दिनेश रेग्मीले बताए।

‘कुटपिटको घटनापछि चिकित्सकले असुरक्षित महसुस गरेका छन्। घटनामा संलग्नलाई पक्राउ गरी कारबाही हुनुपर्छ। बिरामीको ज्यान बचाउने चिकित्सककै ज्यानको सुरक्षा भएन भने कसरी सेवा प्रवाह गर्नु ?’ उनले प्रश्न गरे।

ad
ad